न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग

नेपाल उद्योग वाणिज्य महासंघसँग संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)ले न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग गरेको छ। बुधबार अध्यक्ष शेखर गोल्छासहितको महासंघका पदाधिकारीहरूलाई जेटियुसीसीका  अध्यक्ष जगत सिम्खडासहितको पदाधिकारीहरुले भेट गरि यस्तो माग गरेका हुन्। 

उद्योग वाणिज्य महासंघ र जेटियुसीसीका पदाधिकारीहरुसहितको उक्त भेटवार्तामा कोभिड महाव्याधीका कारण मुलुकको उद्योग व्यवसाय लगायत श्रम बजारमा पर्न गएको समस्या, अप्ठेरो समयमा श्रमिक कामदार कर्मचारीहरूबाट पाएको सहयोगका विषयमा छलफल भएको छ।
सोही अबसरमा (जेटियुसीसी)का तर्फबाट रोजगारदाताहरूको संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छालाई न्यूनतम पारिश्रमिक कार्यान्वयनको आग्रह सहित जेटियुसीसीका पदाधिकारीहरुले ज्ञापन पत्र समेत बुझाएका छन्।

यता जेटियुसीसीका प्रतिनिधिमण्डलको स्वागत गर्दै महासंघका अध्यक्ष गोल्छाले उद्योग व्यवसायमा कोभिडको असर अझै रहेको र पर्यटन, होटल लगायत केही उद्योगहरू अझै तङग्रन नसकेको बताए। मुलुकभित्र श्रम सम्बन्धलाई अझ सुमधुर बनाउन महासंघ क्रियाशिल रहेको बताउँदै अध्यक्ष गोल्छाले लकडाउनका समयमा महासंघले जेटियुसीसीसंग नजिकमा रहेर काम गरेको प्रसंग उल्लेख गरे।

मुलुकभित्र श्रम सम्बन्धलाई थप मजवुद बनाउन महासंघ र जेटियुसीसी बीचको सहकार्य अझ थप प्रगाड हुनुपर्नेमा उनले जोड दिए।

सोही अबसरमा अध्यक्ष गोल्छाले अबको एक दशकभित्र मुलुकको अर्थतन्त्र १ सय अर्व डलरको बनाउने र करिव २३ लाख थप रोजगारी सृजना गर्ने लक्ष्यका साथ महासंघले भिजन पेपरमा काम गरिरहेको स्पष्ट पारे।

महासंघको यस लक्ष्यलाई पुरा गर्ने दिशामा सम्पूर्ण कामदार कर्मचारीहरूको पनि उत्तिकै सहयोग हुनेमा महासंघ आशावादी समेत रहेको बताए। 
छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी रहेका थिए। 

प्रकाशित मिति: : 2023-08-28 10:20:00

प्रतिकृया दिनुहोस्