स्वर्ग र नर्कको कथामा सल्बलाइरहेका चित्रहरु

काठमाडौँको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा हास्यव्यंग्यका बादशाह मानिने स्व.भैरव अर्यालको निबन्धमा आधारित नाटक ‘ह.राम पण्डित’ मञ्चन भइरहेको छ।

नाटकमा हिन्दू धर्मअनुसार मानिस मरेपछि उसले जीवनमा गरेका कामको आधारमा स्वर्ग वा नर्कमा जानुपर्ने विश्वासलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ।

मानिस मरेपछि उसले जीवनमा गरेका कामको आधारमा उसको मृत्युपछि स्वर्ग वा नरकमा स्थायी रूपले जानुपर्ने कुरा हिन्दू धर्ममा आधारित विश्वास रहेको छ। मानिस मरेपछि  कसरी उसको पाप र धर्मको लेखा/जोखा हुन्छ ? क-कसले यो काममा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्छन् ? यो प्रणालीमा कसरी मृतकले विशेषगरी चित्रगुप्तको कार्यालयमा प्रशासनिक रूपमा कस्ता झन्झट झमेलाको सामना गर्छन् ? यिनै कुराहरूलाई नाटकमा प्रस्तुत गरिएको छ।

विशेषगरी नेपाली समाजमा सर्वसाधारणले सरकारी कार्यालयका कर्मचारीहरुबाट साना कुरामा पनि ठूला समस्या र झन्झट व्यहोर्नु परेको यथार्थ यथावतै छ। नजराना, घुस, रिसयतजस्ता चिज नदिएसम्म कार्यालयहरूमा काम नै बन्दैन, अनाहकमा कर्मचारीहरुको हप्काइ खानुपर्छ।

त्यसैगरी चित्रगुप्तको कार्यालयमा पुगेका मृतक पात्रले पनि चित्रगुप्तको कार्यालयको कारिन्दालाई क्राइभेन कोसेली दिन नसक्दा के कति सहनुपर्छ, यावत कुराहरूलाई नाटकमा चित्रण गर्न खोजिएको छ।

यसैगरी सरकारी कर्मचारीले सर्वसाधारण मानिसलाई कसरी र कतिसम्म दु:ख दिन्छ भन्ने भावलाई एउटा मृत आत्माले चित्रगुप्ताको प्रशासनमा पुगेर स्वर्ग वा नर्ग जान गरेको संघर्षलाई नाटकले चित्रण गरेको छ। भैरव अर्यालले दशकौ अगाडि लेखेको नाटकलाई अहिलेको युग अनुसार ढाल्ने काम पनि गरिएको छ।

दैलो प्रोडक्सनसँग भैरव पुरस्कार गुठीको सहकार्यमा नाटकको मञ्चन गरिएको छ।

नाटकमा श्रवण राना मगर, विकास जोशी, सवीर चुरौटे, सविन कट्टेल, निल्सन राई, रोशन, सन्तोष गिरी, रोशन लोहोरुङ राई, उज्ज्वल राई, सुनिल राई, सम्झना राई, क्षितिज सन्तोष माझीलगायत कलाकारहरूको अभिनय रहेको छ।

नाटकमा प्रत्यक्ष संगीतमा नरेश गजुरेल र अर्पन महर्जन रहेका छन् भने सेट निर्माणमा हुम बिसी र सेट डिजाइनिङ प्रवीण खतिवडाको रहेको छ।

नाटक आगामी असोज १३ गतेसम्म नियमित मञ्चन हुने बताइएकाे छ।

भिडियाे : 

प्रकाशित मिति: : 2023-09-16 18:45:00

प्रतिकृया दिनुहोस्