शे–फोक्सुण्डोबाट हतियारधारी समुहले लुटेर लगेका मुर्ति भेटियो

भेटिएका मुर्ति/ तस्बिर: रामचन्द्र न्यौपाने
भेटिएका मुर्ति/ तस्बिर: रामचन्द्र न्यौपाने

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका–४ बाट लुटिएका आठ थान धातुका मुर्तिहरु भेटिएका छन्। गएको असार ८ गते स्थानीय लार्जम लामाको घरबाट मध्येराती हतियारधारी समुहले लुटेर गलेका मुर्ति दुई महिनापछि जिल्लाकै डोल्पोबुद्ध गाउँपालिका– ३ फोलोङ्कार्बो स्थित एक ओडारमा भेटिएको हो। 

मुर्ति बोरामा हालेको अवस्थामा भेटिएको थियो। घाँस काट्न गएका स्थानीय महिलाले २७ भदौमा मुर्ति देखेपछि प्रहरीलाई खबर गरेका थिए। धो प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मुर्तिलाई जिल्ला प्रहरी कार्यालय डोल्पामा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालयमा पुर्याइएको झण्डै एक सातापछि बुधवार जिल्ला प्रशासन कार्यालयमा प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजानिक फेला परेको मुर्तिका बारेमा जानकारी दियो। धातुको जस्तो देखिने सात थान मुर्ति र एक थान चिस्तुम फेला पारिएको डोल्पा प्रहरीका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।

भेटिएका मुर्ति र स्तुपा सहित आठ थान मध्ये छ थान लार्जम लामाकी छोरी ३६ बर्षिया पेम्बा पुटिक लामाले आफ्नो भनि सनाखत गरेपनि बाँकी दुई थान मुर्ति कहाँका हुन् भन्ने अझै खुल्न सकेको छैन।

बिहीबार पुरातत्व विभागको राय लिएरमात्र सनाखत गरिएका मुर्ति बुझाइने र दुई थान मुर्तिबारे अनुसन्धान अघि बडाइने डिएसपी बुढाथोकीले बताए। 

भौगोलिक रुपमा विकट भएकाले सबै ठाउँमा सुरक्षा चौकीहरु नहुँदा उपल्लो डोल्पामा दिनदाहाडै हतियारधारी समुहले पटक–पटक प्राचिन गुम्बाहरु, व्यक्तिका धनमालहरु लुट्ने गरेका छन्।
 

प्रकाशित मिति: : 2023-09-20 19:30:00

प्रतिकृया दिनुहोस्