लुम्बिनीमा मिलेन संसदीय समितिकाे भागबण्ड: बढ्दै किचलाे, साना दलकाे अडानले राेकियाे निर्वाचन

लुम्बिनी प्रदेशमा संसदीय समितकाे भागबण्डा गर्न दलहरूलाई कठिन भएकाे छ।  छ वटा संसदीय समितिमा कुन दलले कुन समिति र कति लिने भन्नेमा विवाद भएपछि भागबण्डा गर्न कठिन भएकाे हाे।   

भागबण्डा नमिलेपछि संसदीय समितिकाे सभापति चयनका लागि आज (मंगलबार)लाई ताेकिएकाे निर्वाचन नै अनिश्चितकालका लागि स्थगित भएकाे छ। यसअघि काँग्रेसले दुई, प्रतिपक्ष एमालेले दुई, माओवादीले एक र राष्ट्रिय जनमोर्चाले एउटा समितिको सभापति पाउने गरी दलहरूले सहमति गरेका थिए।

तर सरकारमा रहेका अन्य सानादलहरूले पनि समितिको नेतृत्व पाउनुपर्ने अडान लिएपछि मंगलबारका लागि तय गरिएकाे निर्वाचन राेकिएकाे छ। सरकारमा धेरै मन्त्रालय ठुलादलहरूले नै लिने अनि संसदीय समितिको नेतृत्व चयनमा पनि आफूहरूलाई उपेक्षा गरिएको साना दलहरूकाे आराेप छ। 

छ संसदीय समितमा चार वटा साना दलले दाबी गरेका छन्। ‘संसदमा रहेका छ वटा विषयगत समिति मध्ये चार वटा समिति साना दलहरूलाई दिइनुपर्छ भनेर हामीले भनेका छौँ,’ लोसपाका एक नेताले भने ‘साना दलहरूको पनि जबरजस्त दाबी भएपछि चुनाव स्थगित भएको छ।’

सरकार सहभागितामा साना दलहरूलाई उपेक्षा गरिनु र समितिको नेतृत्व पनि नदिँदा सरकारका सहयात्री दलहरू माथि अन्याय हुने साना दलहरूले सामूहिक निष्कर्ष निकालेका छन्। ‘ठूला दलहरूले मन्त्रालय पनि बढी लिने, अनि संसदीय समितिमा पनि उहाँहरूनै निर्णायक बन्ने, यो मनासिब कुरा हैन’ ती नेताले भने ‘गठबन्धन भित्र सन्तुलन मिलाउने सवालमा साना दलहरूलाई पनि संसदीय समितिको नेतृत्व दिएर मिलाउन सक्नुपर्छ।’

एमालेलाई एउटा,काँग्रेस वा माओवादीलाई एउटा र बाँकी चार समिति साना दलहरूलाई दिइनुपर्ने उनीहरूकाे दाबी छ। ‘हाम्रो भनाइ एमालेलाई एउटा, काँग्रेस वा माओवादीलाई एउटा र बाँकी चार वटा विषयगत समिति साना दलहरूलाई भाग मिलाउनुपर्छ भन्ने हाम्रो सामूहिक निर्णय हो,’ ती नेताले भने ‘यसो हुन नसकेको खण्डमा हामीहरूले मान्ने कुरा हुँदैन।’

चुनावका लागि १६ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको थियो। तर उम्मेदवारी दर्ताको अघिल्लो दिन साना दलहरूले समितिको नेतृत्व पाउनु पर्ने नयाँ माग राखेपछि चुनाव रोक्ने निष्कर्षमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पुगेका हुन्। अर्को एक सानो दल नागरिक उन्मुक्ति पार्टीका एक नेताकाअनुसार चार संसदीय समितिको नेतृत्व साना दलकातर्फबाट नागरिक उन्मुक्ति, जसपा, लोसपा र जनमत पार्टीले एक–एक वटा पाउनु पर्ने अडान लिएका छन्।

ती नेताकाअनुसार सरकारको नेतृत्व साना दलहरूलाई उपेक्षा गरेरै अघि बढ्ने नियतमा देखिएका कारण साना दलहरूले यसलाई सह्य नमानेका हुन्। ‘सरकारमा रहेका साना दलहरू केही पनि हैनन् भन्ने सोचमा ठूला दल र सरकारको नेतृत्व देखिएको छ,’ ती नेताले भने, ‘राष्ट्रिय योजना आयोगको सदस्य चयनमा पनि साना दलहरूलाई हेपियो, अनि अहिले विषयगत समितिमा पनि साना दलहरूलाई उपेक्षा गरेर अघि बढ्न खोजियो, यो अन्यायका विरुद्ध साना दलहरू एक भएर विषयगत समितिको नेतृत्वमा दाबी गरिएको हो।’

प्रकाशित मिति: : 2024-01-02 07:30:00

प्रतिकृया दिनुहोस्