सरकार पुनर्गठनपछि प्रधानमन्त्रीमा छुट्टै खालकाे आत्मविश्वास देखिएकाे छ (भिडियाे)

नेपाली राजनीतिको पछिल्लो दृश्यमा फेरबदल भएको छ। विगतका सरकारका कार्यशैलीहरु, सरकार गठनपछि भएका चर्चा-परिचर्चाहरु र आमनागरिकको बुझाइमा केही प्रश्नहरु थिए। तर, अहिले परिस्थिति फेरिएको छ। वामपन्थी ध्रुवीकरणसहितको नयाँ सरकार बनेपछि यसले एउटा खालको रक्तसञ्चार प्रवाह गरेको छ। प्रधानमन्त्री प्रचण्डले पछिल्ला दिनहरुमा केही गतिका साथ आमनागरिकले महसुस गर्ने गरी काम गर्नु भएकाे महसुस गर्न सकिन्छ।

अघिल्लो सरकारका बेला पनि प्रधानमन्त्री प्रचण्डले केही गरौँ भन्ने खालको हुटहुटी पैदा गर्नुभएको थियो। सिंहदरबारमा बिहान १० बजे नै उपस्थित भएर सबै मन्त्रीहरुको अपडेट लिएका कुराहरु, सबै सचिवहरुलाई निर्देशन गर्नुभएका कुराहरु यहाँहरुले बुझ्नु नै भएको छ। त्यति हुँदाहुँदै पनि सरकारको काम गर्ने शैली जुन थियो, त्यो शैलीमा कहीँ न कहीँ प्रधानमन्त्रीज्यूका असन्तुष्टिहरु थिए।

अहिले चाहिँ प्रधानमन्त्रीज्यूमा नयाँ प्रकारको आत्मविश्वास देखिन्छ। नयाँ खालको जोस र जाँगरमा उहाँ देखिनुहुन्छ। अहिले नयाँ अनुहारका मन्त्रीहरु पनि आउनुभएकाे छ। भने, हाम्रो पार्टीबाट अनुभवी र परिपक्क नेताहरु मन्त्रालयमा सहभागी हुनुहुन्छ। अब चाहिँ सरकारका कार्यशैलीमा केही नयाँपन आउँछ भन्नेमा विश्वास गर्न सकिन्छ।

अहिलेका प्रधानमन्त्री आफैँमा ‘डाइनामिक लिडर’ हो। उहाँले एउटा-एउटा विषयवस्तुभन्दा पनि समग्र कुराहरु आफ्नो काबुमा लिन खोज्नु भएको छ, त्यो कुरा सबै मन्त्रीहरुले बुझ्नु भएको छ। त्यसले गर्दा पनि अहिले जुन नयाँ टिम छ, त्यसलाई केही गर्नुपर्छ भन्ने एउटा बाध्यकारी अवस्था पनि छ। समय सबैभन्दा बलवान कुरा हो, उहाँहरुले पनि अहिले पाएको समयलाई भरपुररुपमा उपयोग गर्नुहुन्छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ।

सरकारमा सहभागी रास्वपा पनि जनताबाट अनुमोदित पार्टी हो। तपाईं हाम्रा बुझाइ आ–आफ्नै होलान् तर जनताले रुचाएर, जनताको मतबाट निर्वाचित भएर आइसकेपछि उहाँहरुलाई हामीले मान्नुपर्ने हुन्छ। उहाँहरुले महत्वपूर्ण मन्त्रालयहरु पनि पाउनुभएको छ। रवि लामिछाने एउटा जोस र जाँगर भएको व्यक्ति हो, उहाँले अवश्य पनि राम्रो काम गर्नुहुन्छ। आमा नागरिकले पनि उहाँहरुको कार्य क्षमता र दक्षता हेर्न र मूल्याङ्कन गर्न पाउनुभएको छ। प्रचण्ड कमरेडले उहाँमाथि विश्वास पनि गर्नुभएको छ र उहाँले पनि गरेर देखाउनु हुनेछ, म उहाँलाई शुभकामना दिन चाहन्छु।

याे सरकारमा एमाले पनि सहभागी छ, उसले पनि अवश्य प्रचण्डलाई साथ दिनेछ। राजनीतिमा निश्चित विषयवस्तुहरु हुन्छन्, विश्वासका कुराहरु पनि हुन्छन्, सिद्धान्तका कुराहरु पनि हुन्छन् त्यसमा रहेर एमालेले काम गर्नु पर्ने हुन्छ। त्यसमाथि एमालेले पनि नयाँ र जुझारु युवालाई सरकारमा पठाएकाे छ, याे धेरै राम्राे कुरा हाे।

प्रधानमन्त्री प्रचण्डले सुरुदेखि नै भन्नु भएकाे थियाे, निर्दोष फस्नु हुँदैन र दोषी उम्कनु हुँदैन। साेहीअनुसार प्रधानमन्त्रीकाे जिम्मेवारीमा रहनु भएका प्रचण्डले काम गरिरहनु भएकाे छ। त्यही भएर त त्यस्ता मानिसहरु कारागार पुगेका छन्, करिब १४-१५ सय मानिसका मुद्दा अहिले छानबिनका क्रममा छन्।

मलाई लाग्छ, इतिहासमा कुनै पनि प्रधानमन्त्रीले यति ठुलो जोखिम मोल्न सकेका थिएनन्। कमरेड प्रचण्ड प्रधानमन्त्री भएपछि यो जोखिम मोल्नु भयो। यो जोखिम मोल्दै गर्दा हामीलाई के थाहा थियो भने,- जुनसुकै पार्टी वा आफ्नै पार्टीका मानिसहरु पनि पर्न सक्छन् भन्ने। अहिले हाम्रो पार्टीका उपाध्यक्ष कृष्णबहादुर महाराको पनि विषय उठान भएको छ, उहाँ अहिले पक्राउ पर्नु भएको छ। अनुसन्धान जारी रहेकोले अहिले नै उहाँको बारेमा बोल्न हतार नगर्दा हुन्छ जस्तो लाग्छ। उहाँका कमजोरीहरु पुष्टि भएमा उहाँ कारबाहीको भागेदार हुनुहुनेछ, पुष्टि हुन नसकेमा उहाँ पार्टीमा पुन: फर्किनु हुनेछ। त्यसैले अहिले नै उहाँबारे धेरै अतिरञ्जित गर्नुपर्छ जस्तो मलाई लाग्दैन।

काम गर्न धेरै नै बाँकी छन्, सशस्त्र संघर्षको अन्त्य भइसकेपछि अर्थात् शान्ति प्रक्रिया यता करिब १७–१८ वर्ष भयो, आजसम्म आमनागरिकहरुले केही परिवर्तनको अपेक्षा पनि गरिरहनु भएको छ। यतिबेला कमरेड प्रचण्डले ती सबै कुराहरु मनन गर्नुभएको छ। आमजनताको मनाेविज्ञानअनुसार अब द्रुत गतिमा काम गर्नुपर्छ। र, उहाँले पूरा गरेरै छाड्नुहुन्छ। हामी सबैले विश्वास पनि गरेका छौँ र पार्टीले समर्थन र साथ दिने क्रम जारी छ।

(बस्नेत अखिल नेपाल किसान महासंघ (क्रन्तिकारी केन्द्र)का केन्द्रीय उपमहासचिव तथा माओवादी नेता हुन्।)

प्रकाशित मिति: : 2024-03-19 20:50:00

प्रतिकृया दिनुहोस्