
बिएल संवाददाता
मुस्ताङ
बलिउड फिल्म ‘खुदा गवाह’ छायांकनपछि विश्वका फिल्मकर्मीहरूको नजरमा परेको नेपालको मुस्ताङमा सबैभन्दा ठुलो लागतको हलिउड फिल्म ‘टासी’को सोमबारदेखि छायांकन सुरु भएको छ।
पहिलो सरगमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको जीवन कथामा आधारित ‘टासी’को छायांकन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा भइरहेको हो। अमेरिकी प्रविधि कम्पनी एप्पलले ‘टासी’ निर्माण गर्न लागेको हो।
स्थानीय सहजकर्ता पाल्गेन गुरुङका अनुसार हलिउड, बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म टोली अहिले मुस्ताङमा सक्रिय छन्। करिब एक महिनासम्म फिल्म सुटिङ हुनेछ। ‘करिव तीन–चार सयको हाराहारीमा निर्माण टोली र जनशक्ति सक्रिय छन्। डेढसय जति सानाठूला गाडीहरू आएका छन्। शौचालय, बाथरुम, किचन र सुत्ने समेतको व्यवस्था भएका सवारी साधन पनि मुस्ताङ आइपुगेका छन्,’ गुरुङले भने।
‘मुस्ताङमा सडक पूर्वाधार र सुविधा सम्पन्न होटल तथा रिसोर्टहरू खुलेपछि यो सबैभन्दा ठूलो फिल्मको टोली आएको हो। यसले स्थानीय स्तरमा डेढसय बढीलाई रोजगारी मिलेको छ। मुस्ताङवासीलाई उत्साहित बनाएको छ। होटलहरू भरिभराउ भएका छन् र रेष्टुरेन्टमा कारोबार बढेको छ,’ गुरुङले भने।
सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरेका थिए। सोही कथावस्तुलाई लिएर मुस्ताङमा फिल्म ‘टासी’को छायांकन भइरहेको हो। मुस्ताङको जोमसोम र पुथाङ एअरपोर्टका करिव दुई दर्जन होटलहरू एक महिनाका लागि अंग्रिम बुकिङ भइसकेको गुरुङले जानकारी दिए।
सोमबार र मंगलबार टोलीले घरपझोङ गाउँपालिकाका विभिन्न स्थानमा छायांकन गरिरहेको बताए।
फिल्म निर्माण टोली कुछ्प तेरङ्गा गुम्बा, थासाङ गाउँपालिकाको बोक्सी खोला, वारागुङ मुक्तिक्षेत्रको पुराङ, झारकोट, धार्काजुङ, फल्याक खेलमैदान, लुप्रापास साथै उपल्लो मुस्ताङसम्मका स्थानहरूमा छायांकन गर्ने योजना छ,’ उनले भने।
आरोही तेन्जिङ नोर्गे शेर्पाको हिमाल आरोहरण, हिमाली सभ्यता, जैविक विविधतालगायत परिदृष्य फिल्म ‘टासी’मा समेटिने निर्माण टिमको योजना छ। वेडनेस आउटडोर कम्पनीले छायांकनका लागि स्थानीय तहसँग यसअघि नै शुल्क बुझाएर अनुमति लिइसहेको छ।
पछिल्लो समय मुस्ताङ पर्यटन मात्र नभइ ठूला विदेशी एवम स्वदेशी फिल्म, सर्ट मुभि, म्युजिक भिडियो र डकुमेन्ट्रीका लागि अब्बल गन्तब्य बन्दै गइरहेको छ।
अनुमति लिनै हैरानी
यता, पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीको वायोपिक फिल्म ‘टासी’ले निवेदन दिएको ७८ दिनपछि नेपालमा छांयाकनका लागि अनुमति पाएको थियो।
अनुमतिका लागि आवेदन दिएको करिब अढाइ महिनापछि संचार तथा सूचना प्रविधि मन्त्रालयबाट टासीले अनुमति पाएको थियो। अन्तर्राष्ट्रिय स्तरमा रिलिज हुने फिल्म नेपालमा छायाकन हुन लागेको ठूलो लगानीको फिल्म हो।
अन्तर्राष्ट्रिय ख्याती कमाएका भारतीय निर्माता प्रभास सहनीको लोकल कम्पनी वाइल्डरनेस आउट डुअर्स कम्पनीले नेपालका काठमाडौं, मुस्ताङ, जोमसोम, तनहुँ, बन्दीपुर, सोलुखुम्बुलगायतका स्थानमा फिल्म छायांकन गर्नेगरी अनुमति दिइएको हो।
कम्पनीले विभिन्न प्रक्रियाहरू पूरा नगरेको भन्दै अनुमति प्रदान गर्न मन्त्रालयले लामो समयसम्म अड्काएर राखेको थियो। थोमस विलियम हिडल्स्टन र गेन्डेन फुन्टसोकको अभिनय रहने यो फिल्म नेपालमा छायांकन भएर रिलिज भएमा नेपालको पर्यटनमा ठूलो योगदान पुग्ने अनुमान गरिएको छ।
जेनिफर पीडोमको निर्देशनमा बन्ने फिल्ममा अभिनयका लागि विदेशी कलाकार नेपाल आएका हुन्। फिल्मको निर्माण ओस्कार विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्सले गरिरहेको हो।
सम्पूर्ण कागजात पुरा गरेर २०८१ माघ अन्तिम साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनुमतिका लागि निवेदन दिएको थियो। तर २०८२ को वैशाख १७ गते मात्र फिल्मले अनुमति पाएको थियो।
विभिन्न झन्झटिलो प्रक्रिया देखाएर मन्त्रालयले छायांकनको अघिल्लो दिनमात्र अनुमति प्रदान गरेकाले समयसीमाभित्र काम सक्न निर्माण टीमलाई कठिनाइ पर्ने गुनासो गर्दै आइरहेको छ।