विश्वकपपछि दक्षिण अफ्रीकी स्पिनर ताहिरले सन्यास लिने

आईसीसी

दक्षिण अफ्रीकाका लेग स्पिनर इमरान ताहिरले आईसीसी विश्वकप क्रिकेटपछि एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् ।

आईसीसी विश्वकप क्रिकेट यसै बर्षको मे ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा हुँदैछ । उक्त विश्वकपपछि ताहिरले एकदिवसीय क्रिकेटबाट सन्यास लिने छन् ।  दक्षिण अफ्रीका क्रिकेटसंग ताहिरको सम्झौता जुलाई ३१ सम्म रहेको छ । 

पाकिस्तानमा जन्मेका ताहिर टी-ट्वान्टी क्रिकेटमा भने उपलब्ध हुनेछन् । ताहिरले अष्ट्रेलियामा आयोजना हुने सन् २०२० को टी-ट्वान्टी विश्वकपसम्म खेल्न सक्ने बताईएको छ।

३९ बर्षिय ताहिरले युवा खेलाडीलाई मौका दिन सन्यास घोषणा गरेको बताएका छन् । 

'म सधै विश्वकप खेल्न चाहन्छु । एक महान टोलीबाट खेल्नु मेरो लागि यो ठुलो सफलता हो,' ताहिरले भने,'मैले दक्षिण अफ्रीका क्रिकेटसंग भद्र सहमति गरेको छु । र, मैले विश्वकप पछि राष्ट्रिय टोली छाड्ने छु ।'

यसै ताहिरले दक्षिण अफ्रीकाबाट खेल्दा आफुलाई गर्व रहेको बताए ।

ताहिरले एकदिवसीय क्रिकेटमा सन् २०११ बाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । ताहिरले ९५ एकदिवसीयमा १५६ विकेट लिइसकेका छन् ।

ताहिर एकदिवसीय क्रिकेटमा एकै खेलमा ७ विकेट लिन पहिलो दक्षिण अफ्रिकी खेलाडी हुन् । यस्तै ताहिर एकदिवसीय क्रिकेटमा सबैभन्दा चाँडो १०० विकेट लिने दक्षिण अफ्रिकी खेलाडी समेत हुन् ।

ताहिरले सन् २०१३ बाट टी-ट्वान्टी र सन् २०११ बाट टेष्ट क्रिकेटमा डेब्यु गरेका थिए ।

प्रकाशित मिति: : 2019-03-05 00:12:03

प्रतिकृया दिनुहोस्