रोनाल्डोबिनै खेलेको युभेन्टसको सानदार जित

गोलपछि खुसी मनाउँदै युभेन्टसका खेलाडीहरू। तस्बिरः एपी

युभेन्टसले इटालियन सिरी ए अन्तर्गत शुक्रबार उडीनेजेलाई फराकिलो अन्तरले हराएको छ।स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिना खेलेको युभेन्टसले उडीनेजेलाई ४-१ ले हराएको हो।

युभेन्टसको जितमा मोइस किनले दुई गोल गर्दा एमरे च्यान र ब्लेस माटुइडीले एक एक गोल गरे।

खेलको ११ औं मिनेटमा एलेक्स स्यान्ड्रोको क्रसलाई गोलमा परिणत गर्दै किनले युभेन्टसलाई सुरूवाती अग्रता दिलाएका थिए। खेलको ३९ औं मिनेटमा उनले एकल प्रयासमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे।

पहिलो हाफमा २-० ले अगाडि रहेको युभेन्टसले दोस्रो हाफमा पनि थप २ गोल गर्दै फराकिलो जित निकाल्यो। खेलको ६६ औं मिनेटमा एमरे च्यानले पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसको अग्रता तेब्बर पारे।

यस्तं खेलको ७१ औं मिनेटा ब्लेस माटुइडील हेडरमार्फत गोल गर्दैं जित निश्चित पारे। तर उडीनेजेका लागि खेलको ६ मिनेट समय बाँकी रहँदा केभीन लासाग्नाले सान्तवना गोल गर्दै गोल अन्तर कम गराए।

रोनाल्डोले यस सिजन पहिलो पटक युभेन्टसको लागि विश्राम पाएका हुन्। सन् २०११ यता सबै लिग उपाधि जितेको युभेन्टसले अपराजित यात्रा कायम राख्दै लिगको शीर्ष स्थानमा १९ अंकको अग्रता लिएको छ।

लिगमा २७ खेल खेलेको युभन्टसको २४ जित र ३ बराबरीसहित ७५ अंक पुगेको छ। एक खेल कम खेलेको नापोलीको २६ खेलबाट ५६ अंक छ।

युभेले अब मंगलबार च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा एटलेटिको म्याड्रिडको सामना गर्नेछ। पहिलो लेगमा युभे २-० ले पराजित भएको थियो।

प्रकाशित मिति: : 2019-03-09 10:28:21

प्रतिकृया दिनुहोस्