विचार/विश्लेषण

राजनीतिक स्थायित्वको स्थायी विकल्प

Breaknlinks
Breaknlinks

प्रजातन्त्र स्थापनाको ७१ वर्ष बित्यो, संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको १५ वर्ष बितिसक्यो। हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत र विकास हुने चरणमा छ। जनताको सहभागितासहितको संविधान सभाबाट प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा आधारित समाजवादप्रति प्रतिबद्ध संविधान जारी भएको छ। संविधान प्रदत्त शासन व्यवस्था प्रयोग गर्ने बाटोमा छौँ तर जनताका आकांक्षा पूरा भएका छैनन्।

देशमा गरिबी, बेरोजगारी, व्यथिति र भ्रष्टाचार बढ्दै गएको छ। समाजवादी व्यवस्थाका लागि लडेका आमजनताले आशातित (आशा गरेर अनुसार) प्रतिफल प्राप्त गर्न सकिरहेका छैनन्। लोकतन्त्र प्राप्तपछि बनेका सरकारसँग जनताको अपेक्षा थियो कि भोकै बस्नुपर्ने अवस्था रहने छैन, भूमिहीन सुकुमवासी किसानहरुले जमिन पाउने छन्। बेराेजगार युवाहरुले आफ्नै भूमिमा रोजगारी पाउने छन, नि:शुल्क स्वास्थ्य, शिक्षाको व्यवस्था हुनेछ। देशको स्वाभिमान र राष्ट्रियता मजबुद हुनेछ। जनताले राज्यबाट उपलब्ध हुने सेवामा समान सहभागिता हुनेछ र सरकार सुशासनप्रति प्रतिबद्ध हुनेछ। सबै जातजाती, वर्ग, क्षेत्र समुदायमाथि कुनै किसिमका अन्याय, अत्याचार, शोषण हुने छैन विभेदरहित समाज निर्माण हुनेछ तर अहिले पनि बेथिति बिसङ्गति, महंगी, गरिबी अभाव उस्तै छ। कुन राजनीतिक पार्टीले जनचाहना पूरा गर्छ भन्ने नै आज आमजनतामा दुविधापूर्ण अवस्थाको सिर्जना भएको छ।

नेपाली राजनीतिक परिस्थितिमा तीनथरी सोच विद्यमान छन्। एकथरी जो अहिलेसम्म भएका आन्दोलनमार्फत् प्राप्त उपलब्धिहरु ठिक थिएनन्, पुरानै राज्य व्यवस्था उपयुक्त थियो, तसर्थ पुरानै व्यवस्था पुनरागमन हुनुपर्छ भन्नेहरु जसलाई हामी राजनैतिक भाषामा पुरातनवादी, प्रतिक्रियावादी भन्ने गर्छौँ। दोस्रो वर्तमानमा जे उपलब्धिहरु प्राप्त भएका छन, त्यो नै सवथोक हो, यसमा कुनै खालको परिवर्तन हुनुहुँदैन भन्नेहरु, जसलाई हामी राजनीतिक भाषामा यथास्थितिवादी दक्षिणपन्थी भन्ने गर्छौँ। तेस्रो जसले पहिलेभन्दा तुलनात्मक रुपले वर्तमान उपलब्धीहरु ठिक छन तर पनि समय परिवर्तनशील छ, आमजनताका सोच परिवर्तनकारी छन, जनचाहनाअनुसार थप उपलब्धिका लागि भूमिका निर्वाह गर्नुपर्छ भन्ने सोच जसलाई हामी राजनीतिक भाषामा अग्रगामी, परिवर्तनकारी वा वामपन्थी भन्ने गर्छौँ।

पुरातनवादीहरु मुलुकलाई पछाडि धकेल्न अनुकुल वातावरण निर्माण गर्नमा जोड दिन्छन, जो समाजको गतिशीलताविपरीत हुन्छ। पुरातनवादी र यथास्थितिवादी सोचले अस्थिरता बेथिति, भ्रष्टाचार, दण्डहीनता, गरिबी, वेरोजगारलगायत तमाम विकृति विसङ्गतिलाई आफ्नो अनुकुल मान्छ र स्थिरता, न्याय, सुशासन, शान्ति, विकास र समृद्धिविपरीत प्रतिक्रियावादी सोच सफल बनाउने आधारभूमि निर्माण गर्छ। अग्रगामी परिवर्तनकारी शक्ति प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै जनचाहना, आवश्यकताका आधारमा जनअनुमोदित भई राज्ययन्त्रमार्फत् संवाेधन गर्ने प्रयत्न गर्छ र सधैं जनताको जनवादमा विश्वास गर्छ।

समकालीन नेपाली राजनीतिक अस्तित्वमा रहेका सबै किसिमका विचार अंगाल्ने शक्तिहरुका विषयमा प्रश्नहरु भने अवश्य छन। कसलाई वामपन्थी, परिवर्तनकारी, अग्रगामी भन्ने र कसलाई दक्षिणपन्थी, यथास्थितिवादी भन्ने ? कुन शक्तिले राज्यमा स्थायित्व ल्याउछ, किन जनता र राजनीतिक दलका बिचमा असमानता रहँदै आएको छ, नेपाली जनता पटक–पटक किन झुकिन्छन ? राज्यमा स्थिरता हुन कुन शक्ति आवश्यक छ ? यिनै प्रश्नहरु आमरुपमा रहने गर्छन।

यसको स्पष्ट जवाफ जनताले पाउन सकेका छैनन्। आफूलाई परिवर्तनकारी, वामपन्थी, अग्रगामी, क्रान्तिकारी भन्नेहरु नै आफ्नो विचारबाट स्खलित भएको देख्न सकिन्छ।

हामीले आमजनताको सहभागिता र बलिदान पश्चात राज्य व्यवस्था बदल्यौँ तर व्यवस्था बदल्न बलिदानी दिएका तिनै जनताको अवस्था बदलिन सकेको छैन। हामी प्रणाली बदलिएको, राज्य संरचना बदलिएको देखेका छौँ तर थिति उस्तै छ। बदलिएको राज्य व्यवस्थाको चरित्र र प्रवृत्ति कहिल्यै बदल्न सकेनौं। पुरानो राज्य व्यवस्था बदल्नेहरुको वर्ग चरित्र फेरियो समय बदलियो तर उनीहरु पुराना भए। हामी कार्यकर्ता तिनै स्खलित पतित नेतृत्वका अन्धभक्त भयौं र गलत हर्कतमाथि प्रश्न उठाएनौँ। यथास्थितिवादीहरुका रुप, रङ्ग चरित्र ठम्याउन सकेनौँ। जनताका हजारौँ प्रश्नहरुका उत्तर खोजेनौँ, मात्र हरेक निर्वाचनमा पार्टीलाई भोट माग्यौँ।

नेपालको सन्दर्भमा कुरा गर्दा हामीहरु विभिन्न युगहरुको अन्त्य गर्दै आजको अवस्थामा आएका छौँ। एक अर्थमा भन्ने हो भने अधिकारको लडाइँ सकेका छौँ। १०४ वर्षे राणा शासन फाल्यौँ, २३५ वर्ष पुरानो राजतन्त्र फाल्यौँ, एकात्मक राज्य व्यवस्था फाल्यौँ, संघीय गणतन्त्र ल्यायौँ र सिहंदरबारको अधिकार गाउँमा ल्यायौँ। परिवर्तन, विकास र समृद्धिका बाधक देखिने तत्वहरु जति सबै–बसै फाल्यौँ तर मुख्य रुपमा जनताको चाहना पूरा हुन नदिने चिन्तन फाल्न सकेनौँ। हामीले लडेर स्थापित गरेको व्यवस्थाभित्र क्रान्तिकारी, अग्रगामी परिवर्तनकारी शक्ति मात्रै होइन प्रतिक्रियावादी, यथास्थितिवादी, दक्षिणपन्थी अस्थिरतावादी पनि छन।

जुन शक्ति आज पनि समाज पुरातन चाहन्छ, पश्चगामी र यथास्थिति चाहन्छ। गणतन्त्रवादी क्रान्तिकारी, परिवार्तनकारी वामपन्थी भन्नेहरु आफ्नो वर्गशत्रु भुलिसके, मात्र सत्ता स्वार्थका लागि गठजोड गर्छन। जनताको तहबाट सकिएको अधिकारको लडाइँपछिको समय भनेको स्थायित्व, विकास र समृद्धि उडान हुनपर्ने तर गन्तव्य कुहिरोमा हराएको काग जस्तै भएको छ। यही राजनीतिक बिचलनले हाम्रो समृद्धिको यात्रा सफल हुन सक्दैन। जनतालाई पार्टी रोज्ने परिस्थिति निर्माण गर्दै आयौँ तर स्थिरता, स्थायित्व र समृद्धि रोज्ने विकल्प दिइएन। नेपाल र नेपालीको भाग्य भविष्यलाई सुनिश्चित गर्न स्थायित्व आवश्यक छ, त्यसका लागि बलियो राष्ट्रिय शक्ति हुन आवश्यक भएको छ।

जबसम्म देशमा बलियो राष्ट्रिय शक्ति बन्दैन तबसम्म देशले स्थायित्व पाउन सक्दैन। प्रजातन्त्र प्राप्त भएदेखि हालसम्मका कुनै पनि सरकार पूरा कार्यकाल टिकेको इतिहास छैन। देशमा स्थायित्वसहितको समृद्धि आउनका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको छ। त्यो आवश्यकता हाल सतहमा देखिने केही प्रतिक्रियावादी, यथास्थितीवादी, दक्षिणपन्थी विचारबाट पूरा हुन सक्दैन। त्यो आवश्यकताको परिपूर्ति गर्ने शक्ति भनेको अग्रगामी वामपन्थी शक्ति नै हो। आफूलाई सच्चा कम्युनिस्ट ठान्ने दल र तिनका नेताहरुमा सत्ता स्वार्थका कारण पटक–पटक दक्षिणपन्थी यथास्थितिवाद हाबी हुन्छ अस्थिर राजनितिक समीकरण बन्ने गर्छन।

जनता सधैं परिवर्तन चाहन्छन, समानता चाहन्छन, सबै जातजाती वर्ग क्षेत्र समुदाय विभेदरहित समाज चाहन्छन तर जनचाहनाको कदर अहिलेसम्म भएन। चुनाव आउँदा हामी घोषणापत्रका मुठा बोकेर गाउँ झर्छौँ, भ्रमको खेती गर्छौँ, स्वर्गै ल्याइदिने आश्वासन दिन्छौँ, हरेक दिन टोलटोलमा भोज गर्छौँ र ब्यालेट थाप्छौँ। निर्वाचित भएका दिनदेखि सहर केन्द्रित हुन्छौँ र जनतासँग गरेका प्रतिबद्धता बिर्सिन्छौँ। यो नीतिले हामी कदापी पास हुँदैनौँ, देशमा आर्थिक, सामाजिक, राजनीतिक, परिवर्तन आउँदैन। समृद्धि हुँदैन जनताले समानता महसुस गर्दैनन्। जनता जुन गतिमा व्यवस्था परिवर्तन भएको छ त्यसै अनुरुप अवस्था परिवर्तन चाहन्छन, समृद्धी, स्थिरता र स्थायित्व चाहन्छन।

त्यसका लागि एक मात्र विकल्प भनेको बलियो र स्थायी राष्ट्रिय शक्ति हो। जनताको जनमत विभाजन हेर्ने हो भने ६० प्रतिशतभन्दा बढी जनता परिवर्तनका पक्षमा छन, यानकी वामपन्थी पार्टीहरुका पक्षमा मत जाहेर गर्छन तर बेलामौकामा ती विभाजित वामपन्थी पार्टीहरुले प्राप्त जनमत यथास्थिति र प्रतिक्रान्तिका लागि प्रयोग गर्छन। जुन शक्तिले देशलाई पुरानै व्यवस्थातर्फ लैजान चाहन्छन, जुन व्यवस्था जनताकै बलबाट फालिएको छ। परिवर्तनप्रतिको जनचाहनाविपरितका शक्तिहरु हाबी हुँदा देशमा स्थिरता, विकास र समृद्धि आउँदैन त्यसका निम्ति देशमा बलियो अग्रगामी वामपन्थी शक्तिको आवश्यक छ त्यो बिलउ शक्ति भनेको प्रगतिशील अग्रगामी शक्ति नै हो।

हामीले भोगेका राजनीतिक पार्टीहरुले तीन खाले राजनीतिक धारको प्रतिनिधित्व गर्दै आएका छन। संख्याका हिसाबले जति नै राजनीतिक पार्टीहरु क्रियाशील रहे पनि विचारका हिसाब वामपन्थी कम्युनिस्ट धार र दक्षिणपन्थी प्रजातान्त्रिक धार नै मुख्य रहेका छन्। आफूलाई वामपन्थी शक्तिका रुपमा चिनाउने पार्टीहरु नै विभाजित भएका कारण वामपन्थीहरु सत्ता संचालनमा कमजोर सावित देखिएका छन। मुलरुपमा वामपन्थी शक्ति विभाजित हुँदा सत्तामा जहिले दक्षिणपन्थीहरु नै हाबी हुँदै आएका छन।

नेपालकै इतिहासमा सबैभन्दा लमो समय सत्ता संचालन गर्ने अवसर पाएको काँग्रेसले जनताले महसुस गर्ने गरी परिवर्तन गर्न सकेन। आफूलाई प्रजातन्त्रको हिमायती ठान्ने काँग्रेस यथास्थितिमा रमाउने चरित्रका कारण परिवर्तनलाई आत्मसात गर्न सकेन। वामपन्थी पार्टीहरुमा रुपमा कम्युनिस्ट देखिए पनि सारमा एकीकृत बन्न सकेनन्। विचारका हिसाबले जनविचारको प्रतिनिधित्व गर्ने भए पनि विभिन्न स्वार्थका कारण वर्ग चरित्र, बैचारिक प्रतिस्पर्धी नै भुल्छन र विपरित विचार राख्नेहरुसँग गठजोड गर्छन। यसै कारण पनि नेपालको राजनीति अस्थिर रहँदै आएको छ।

नेपालको सन्दर्भमा हेर्दा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेपाल मजदुर किसान पार्टीलगायत विभिन्न नाममा विभाजित कम्युनिस्ट पार्टीहरु क्रियाशील छन्। जनताको बहुमत वामपन्थीहरुको पक्षमा हुँदाहुँदै राज्य सत्ता संचालनमा कमजोर सावित हुँदै आएको छ। खासगरी नेता र नेतृत्वमा सत्ता स्वार्थकै कारण विभाजित हुने पुगे हो। यी वामपन्थी पार्टीहरु एक ठाउँमा हुँदा नै राष्ट्रमा बलियो राष्ट्रिय शक्ति बन्न सक्छ। वामपन्थी विचारमा रहेको शक्ति एकीकृत हुँदा नै प्रतिक्रियावादी, यथास्थितिवादी शक्ति कमजोर हुन्छ।

पुरातनवादी विचार र शक्ति समाजवाद प्राप्त नहुँदासम्म यसका अवशेष सतहमा रहिरहन्छन। वामपन्थीहरुले यो कुरा बुझेर एउटा पार्टीका रुपमा आएको दिनदेखि जनताले सोचे अनुरुपको स्थायित्व र विकास सुरु हुन्छ। अहिले देखिएको गठजोड प्राकृतिक होइन, यो गठबन्धन सत्ता स्वार्थका लागि बनेको गठबन्धन भएकाले दीर्घकालिन हुँदैन। निकट भविष्यमै आ–आफ्नो बाटो लाग्ने निश्चित छ। चाणक्य भन्छन्, ‘लामो समयसम्म मानिसलाई मूर्ख बनाउन सकिँदैन’। अवसरवाद धुँवाको पर्दा हो हटाउन सकिन्छ। तर धुँवाको स्रोत अनैतिकताको आगो निभाउने जाँगर हुनुपर्छ। नेपालमा अब अवसरवादी राजनीतिको अवसान हुनुपर्छ।

समकालीन राजनीतिमा ठुलो पार्टीका हिसाबले नेकपा एमाले वामपन्थी धारको नेतृत्व गर्दै आएको र दक्षिणपन्थी प्रजातन्त्रवादी धारको नेतृत्व ठुलो दलका हिसाबले नेपाली काँग्रेसले गर्दै आएको छ। कहिले क्रान्तिकारी देखिने र बिद्रोहको कुरा गर्ने कहिले अवसर परस्त बन्ने र विपरित विचारसँग मिल्दै सत्ता उपयोग गर्ने भडकाववादी विचार हाबी भएको दलहरुको काम छैन। नेकपा एमाले र नेपाली काँग्रेस पार्टी नै विचार सिद्धान्त र गन्तव्यका हिसाबले दुई मुख्य शक्ति र स्थायी प्रतिस्पर्धीका रुपमा रहेकाले मुख्य वामपन्थी शक्तिका रुपमा नेकपा एमालेलाई स्थापित गराउनुपर्छ। दुई शक्तिहरुका बिचमा हुने प्रतिस्पर्धाले नै स्थायित्व कायम गर्छ र जनताको जनमतको कदर हुन्छ। समग्र देशको विकास, समृद्धि र स्थायित्व स्थापित हुनसक्छ।

अतः पुरातनवादी सोच भएका यथास्थितिवादीहरुले यही स्थितिमा टेकेर प्रतिगमन गर्न खोज्छन त्यो उनीहरूको चरित्र तथा धर्म हो। यो समाजको गतिशीलताको प्राकृतिक नियमविपरित भएकाले असफल हुन्छ। अग्रगामी सोच भएका क्रान्तिकारीहरुले मुलुकलाई अग्रगमनतर्फ लैजान प्रयत्न गर्छन र सफल हुन्छन यो पनि उनीहरूको चरित्र तथा धर्म हो र यो समाजको गतिशीलताको प्राकृतिक नियम बमोजिम हुनाले सफल हुने पनि निश्चित छ। जनता परिवर्तन, विकास, समानता चाहन्छन, यथास्थिति उनीहरुलाई मन पर्दैन जनताको सोच वामपन्थी विचार निकट रहेको हुन्छ।

प्रकाशित मिति: : 2022-08-06 17:55:00

प्रतिकृया दिनुहोस्