जिदान पुनः रियलको प्रशिक्षकमा नियुक्त

तस्बिरः एपी

जिनेदिन जिदान करिब १० महिनापछि स्पेनिस क्लब रियल मड्रिडमा पुनः फर्किएका छन्।

हालका प्रशिक्षक सान्टियागो सोलारीलाई सोमबार राति बर्खास्त गर्दै क्लबले १० महिनापछि जिदानलाई पुनः क्लबमा फर्काएको हो।

१० महिनाअघि एकाएक पद त्यागेका जिदानले क्लबसँग आगामी सन् २०२२ सम्म सम्झौता गरेका छन्।

क्लबले जोसे मौरिन्हो र मौरिसियो पोचेटिन्होसँग प्रक्रिया अघि बढाए पनि आफ्ना पूर्व खेलाडी तथा प्रशिक्षक जिदानलाई ल्याउन सफल भएको हो।

जिदान सन् २०१६ मा क्लबको मुख्य प्रशिक्षक बनेका थिए। उनको प्रशिक्षण कार्यकालमा रियलले युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको ह्याट्रिक उपाधि जितेको थियो।

‘एल क्लासिको’ मा लगातार हार र च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा आयाक्ससँग आफ्नै मैदानमा ४–१ ले पराजित हुदै बाहिरिएपछि क्लबले नयाँ विकल्प सोचेको थियो ।

सोलारी जुलियन लोपेटेगुईको स्थानमा चार महिनाअघि अन्तरिम प्रशिक्षकको रुपमा रियलमा आएका थिए। उनले सुरुवाती समयमा राम्रो प्रदर्शन गरेपछि २०२१ सम्म क्लबले सम्झौता गरेको थियो। जिदानले क्लब छाडेसँगै क्लबले स्पेनका जुलियन लोपेटोगुईलाई प्रशिक्षक बनाएको थियो ।

क्लबमा फर्किएसँगै फ्रान्सका पूर्व खेलाडीसमेत रहेका जिदानले क्लबमा फर्कनुमा क्लबको मायाले भएको बताएका छन्।

जिदानको प्रशिक्षणमा रियलले ९ उपाधि हात पारेको थियो जसमा ३ च्याम्पियन्स लिग, एक ला लिगा, एक सुपर कोपा, दुई युइएफए सुपर कप र दुई फिफा क्लब विश्वकप रहेका छन् ।

प्रकाशित मिति: : 2019-03-12 09:33:58

प्रतिकृया दिनुहोस्