युभेन्टसको पुनरागमनमा रोनाल्डोको ह्याट्रिक

गोलका लागि संघर्ष गर्दै रोनाल्डो। तस्बिरः एपी

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै युभेन्टसले एट्लेटिको मड्रिडलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिकोलाई ३-० ले हराउँदै समग्रमा ३-२ को जित हात पारेको छ। पहिलो लेगमा एट्लेटिकोसँग २-० ले पराजित भएको युभेन्टसले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै अन्तिम ८ मा स्थान पक्का गर्‍यो।

युभेन्टसको जितमा रोनाल्डोले ह्याट्रिक गरे।

खेलको २७ औं मिनेटमा हेडिङमार्फत गोल गर्दै रोनाल्डोले घरेलु मैदानमा आफ्नो टोलीलाई सुरूवाती अग्रता दिलाएका थिए।

पहिलो हाफसम्म १-० ले अघि रहेको युभेन्टसले दोस्रो हाफमा थप दुई गोल थप्यो। दोस्रो हाफको सुरूमै खेलको ४८ औं मिनेटमा पुन: हेडिङमार्फतनै रोनाल्डोले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

खेलको ८५ औं मिनेटमा फेडेरिको बर्नाडेस्कीमाथि डिबक्समा फाउल भएपछि युभेन्टसले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीमा रोनाल्डोले चुकेनन्। यो सँगै उनले आफ्नो ह्याट्रिक तथा टोलीको उत्कृष्ट पुनरागमन सुनिश्चित गरे।

यो जितसँगै युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भएको छ।

यसअघि म्यानचेस्टर सिटी, आयाक्स, म्यानचेस्टर युनाइटेड, पोर्टो र टोटनह्याम अन्तिम ८ मा छनोट भइसकेका छन्।

प्रकाशित मिति: : 2019-03-13 09:33:21

प्रतिकृया दिनुहोस्