प्रधानमन्त्रीको भारत भ्रमण

भारत भ्रमणका नाममा प्रधानमन्त्री देउवाले तोडे यी तीन परम्परा

File Photo
File Photo

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँदिल्ली प्रस्थान गर्दैछन्।

देउवा देशको पाँचौ पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो। नेपालको प्रधानमन्त्रीले पछिल्लो चार वर्षमा गर्न लागेको यो भारतको पहिलो भ्रमण पनि हो।

भारत भ्रमणको नाममा यसपटक प्रधानमन्त्री देउवाले तीनवटा परम्परालाई तोडेका छन्। उनले तोडेको पहिलो परम्परा हो– भ्रमण जानुअघि पूर्वप्रधानमन्त्रीहरुसँग गरिने छलफल।

यसभन्दा अघि देशका प्रभानमन्त्रीले अन्य देशको भ्रमण गर्नुअघि पूर्वप्रधानमन्त्रीहरुसँग सामूहिक छलफल गर्ने अभ्यास रहेको थियो। छलफलमा पूर्वप्रधानमन्त्रीहरुले भ्रमणलाई कसरी सफल बनाउने भन्ने बारेमा राय सुझाव दिने गर्थे। तर यसपटक भने प्रधानमन्त्री देउवाले यस्तो छलफल गरेनन्।

प्रधानमन्त्री देउवाले यस पटक भारत भ्रमण गर्दा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा समेत जाने भएका छन्। यो उनले तोडेको दोस्रो परम्परा हो। यसअघिका भ्रमणहरुमा नेपालका प्रधानमन्त्रीले भारतको कुनै दलको पार्टी कार्यालय जाने गरेका थिएनन्। यो कूटनीतिक मर्यादा विपरित पनि हो।

देशको प्रतिनिधित्व गरेर जाने प्रधानमन्त्रीले एउटा पार्टीको कार्यालय भ्रमण गर्ने कार्यक्रम राख्दा भारतका अन्य राजनीतिक दलमा राम्रो सन्देश नजाने विज्ञहरुको तर्क छ।

भारत भ्रमण गर्ने वहानामा प्रधानमन्त्री देउवाले तोडेको अर्को परम्परा हो– नेपाली सेनाले टुँडिखेलमा आयोजना गर्ने घोडेजात्रा कार्यक्रम।

प्रत्येक वर्ष सेनाले घोडेजात्राको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्छ। उक्त कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्री उपस्थित भई अवलोकन गर्ने परम्परा वर्षौदेखि रहिआएको छ। तर यसपटक प्रधानमन्त्री देउवा उक्त कार्यक्रममा सहभागी हुनेछैनन्।

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने भएकोले उक्त कार्यक्रममा सहभागी नहुने नेपाली सेनाले जनाएको छ। 

प्रकाशित मिति: : 2022-04-01 11:36:00

प्रतिकृया दिनुहोस्