कुवेतसँग नेपालले बराबरी खेल्यो

तस्बिरः अखिल नेपाल फुटबल संघ एन्फा

नेपालले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोकेको छ। नेपालको उत्कृष्ट प्रदर्शनमा गोलरक्षक किरण चेम्जोङले विशेष भूमिका निभाए।

खेल अवधिभर निकै आक्रामक फुटबल खेलेको कुवेतको करिब एक दर्जन बढी प्रहारलाई नेपालका गोलरक्षक चेम्जोङले विफल पारेका थिए।

अल साहबब मैदानमा घरेलु टोलीले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल हारबाट जोगिएको हो। कुवेतका कप्तान बाडेर अल मुतवाले खेलको ६१ औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्न सकेनन्।

अजित भण्डारीले लामो पास क्लियर गर्ने क्रममा एयर बलमा खुट्टा प्रयोग गरेपछि रेफ्रीले कुवेतलाई पेनाल्टी दिएका थिए। तर, कुवेतका खेलाडीको प्रहार पोस्टभन्दा बाहिर गएको थियो।

खेलको ८४ औं मिनेटमा कुवेतका गोलरक्षक पोजिसनमा नभएको अवस्थामा वैकल्पिक खेलाडी विमल रानाले गोल गर्ने मौका पाएपनि उनको प्रहारले पोस्टको दिशा लिन सकेको थिएन ।

नेपालले पनि खेलमा केहि गोल गर्ने अवसर पाएको थियो। तर, सदुपयोग गर्न नसक्दा कुवेतविरूद्ध जित निकाल्न सकेन। यद्यपी प्रशिक्षक योहान कालीनका लागि पहिलो खेल सुखद रह्यो।

५ नेपाली खेलाडीले डेब्यू गरेको खेलमाकुवेतसँगको बराबरीसँगै मुख्य प्रशिक्षक कालिनको डेब्यु खेल सुखद नै बनेको छ। नेपालले गत महिना कालिनलाई नेपाली टोलीको जिम्मेवारी दिएको थियो।

उनले मिडफिल्डरद्वय रवी पासवान र सन्तोष तामाङ तथा डिफेन्डरद्वय सुरज विक र अजित भण्डारीलाई पहिलो पटक राष्ट्रिय टोलीबाट खेलाएका थिए। यस्तै विमल राना पनि वैकल्पिकका रुपमा मैदान प्रवेश गरेका थिए ।

योसँगै नेपालले १९ वर्षपछि कुवेतसँग बराबरी खेल्न सफल भएको छ। यसअघि सन् २००० मा एएफसी एसिया कपमा नेपालले कुवेतसँग ५-० ले पराजित भएको थियो।

दुई मैत्रीपुर्ण खेल खेल्ने कुवेत पुगेको नेपाली टोलीले अब मंगलबार दोस्रो खेल खेल्नेछ।

मलेसियासंगको मैत्रीपूर्ण खेल स्थगित भएसँगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

प्रकाशित मिति: : 2019-03-22 11:03:46

प्रतिकृया दिनुहोस्