स्वराेजगार-४

मीनबहादुर, जसले जुम्लाकाे गाउँमा देशकै ठूलाे फुजी-स्याउ बगैँचा बनाए

'जसले कर्णालीमै लगानी गर्छ, ऊ सम्मानित लगानीकर्ता हो। मीनबहादुर भण्डारी कर्णालीमा कृषिक्षेत्रको सम्मानित व्यक्तित्व हो। कर्णालीबासीले उहाँबाट सिक्नुपर्छ। उहाँको कार्यलाई पछ्याउँदै जानुपर्छ।'

उक्त भनाइ कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रको हो। जुम्लाको गुठीचौर गाउँपालिका -५, काडाखोला जलजलामा नेपालकै ठूलो फुजी–स्याउ बगैँचा निर्माण भएपछि त्यसमा स्याउको बिरुवा राेप्दै यसाे भनेका हुन्।

उनले नाम लिएका गुठीचौर एग्रो फार्म प्रा.लिका अध्यक्ष मीनबहादुर भण्डारीले झण्डै ८ करोड लगानीमा उक्त बगैंचा निर्माण गरेका हुन। हाल जुम्लामा ठूलाे लगानी गरी स्याउ फलाउने किसानमा इटालियन फुजी स्याउकाे आकर्षक बढ्दाे छ। भण्डारीले बगैँचामा एकै पटक फुजी स्याउका ३० हजार बिरुवा रोपेका छन्। 

उनले गत चैतदेखि बगैंचा स्थापनाको तयारी थालेका थिए। लकडाउन अवधिभर बगैंचाको पूर्वाधार निर्माणदेखि बिरुवा रोप्ने तयारीसम्मका काम गरे। लकडाउनले उद्योग–धन्दा, सिर्जनशील काम बन्द भए पनि उनी सिर्जनशील कर्ममा लाग्न छाेडेनन्। परिणाम नेपालकै ठूलाे स्याउ बगैंचा निर्माण गर्न संभव भयाे।

भण्डारीले बगैंचा निर्माण गर्नुपूर्व नेपालका ठूला बगैंचामा पुगेर अवलोकन गरेका थिए। त्यही बीचमा बगैंचा व्यवस्थापन गरेर नमूना बगैंचा निर्माण गर्ने हुटहुटीले उनलाई चिमाेटिरह्याे। त्यसले गाउँमै राेजगारी सिर्जना गर्न सकिनेमा उनी विश्वस्त हुँदै गए। 

मीनबहादुरले दुई वर्षअघि आफ्नै जग्गामा दुई हजार छ सय फुजी स्याउका बिरुवा रोपेर परीक्षण गरिसकेका थिए। जसमध्ये दुई हजार दुईसय बिरुवाले फल दिँदै आएका छन्।  यसले पनि आत्मबल बढाउन सहयोगीकाे भूमिका खेल्याे।

जब उनमा आत्मविश्वास पलायाे, तब उनले विगतमा जडीबुटी व्यापार गर्दा कमाएको रकमले आफ्नै भूमिमा स्याउ बगैंचा स्थापना गर्ने तयारी थाले। यसले उनलाई आत्मसन्तुष्टि दिलायाे। भन्छन्, 'अहिले छाति ढक्क फुलेकाे छ। निकै खुशी छु।'

बगैंचामा स्याउ रोप्नुअघि यसकाे आकारप्रकार तयार भयो। बगैंचा निर्माणका लागि ८७ जनाकाे जग्गा लिजमा लिए। १ लाख ५० हजार वर्गमिटर जग्गामा पूर्वाधारसहितको  सुविधासम्पन्न स्याउ बगैंचा निर्माण भयो। ३० वर्षका लागि लिजमा लिएको जग्गामा झन्डै ८ करोड रुपैयाँ खर्च भइसकेको छ। 

उनी बगैंचालाई पूर्ण रुपमा अर्गानिक बनाउने तयारी गरिरहेका छन्। त्यसै अनुरुपको काम थालिएको छ। उनले २३ लाख रुपैयाँमा मल खरिद गरेर बिरुवामा राखेका छन् । 

उनले साेचे अनुसार बगैंचा स्थापना लगत्तै स्थानीयले राेजगारी पाउन थालेका छन्। बगैंचामा दैनिक डेढ सयदेखि अढाई सयसम्म कामदारले रोजगार पाएका छन्। एक जना आयोजना प्रमुख, लेखापाल २ जना, ओभरसियर एक, स्टोर किपर २, हेल्पर १२, जेटिए ४ र चौकीदार ४ जना राखिएको छ। 

दुई जना सहजकर्ता, तीन जना चालक र तीन सहचालक राखिएको छ।  गाउँमै नेपालकै ठूलो बगैँचा स्थापना भएपछि स्थानीय पनि खुसी भएका छन्। उनीहरुले स्याउ बगैंचामा काम पाउनुका साथै स्याउ फलाउनका लागि प्रेरणा मिल्ने बताइरहेका छन्।

उनी स्याउखेती गरेर कृषिकर्मको एक परिचय दिने तयारीमा लागेका छन्। 'बगैंचाबाट हुने आम्दानी शिक्षा, स्वास्थ्यसँगै सामाजिक कार्य र पारिवारिक समृद्धिमा लगाउँछु,' उनले भने, 'यो बगैंचालाई नमुना बनाइराख्न सदैव तत्पर रहनेछु।'

गुठीचौर एग्रो फार्मका सहजकर्ता दानबहादुर बुढाले बगैंचा स्थापनाको कामले पूर्णता पाएसँगै स्थानीयले रोजगारी पाए। फुजी स्याउको विशाल बगैंचा जुम्लामा स्थापना भएको सन्देश फैलाउने अवसर मिलेकाले अर्काे वर्ष २० हजार बिरुवा रोप्ने तयारी गरेकाे बताए।

'यसमा स्याउ सुपरजोन जुम्लाले बिरुवा र सिँचाइमा लगानी गर्ने प्रतिबद्धता जनाएको छ,' उनले भने।

सुखद् कुरा बगैंचामा बाटोघाटो जोडिएको छ। राेड पुगेकाे छ। यसले पनि बगैंचा कर्णालीको लागि असाध्यै ठूलो अवसर भएकाे सचिव मिश्रले बताए। उनले भने, 'उच्च मूल्यका बालीनालीमा लगानी गनुपर्छ। दुई सय स्याउ र दुई ओखर हुर्काएको खण्डमा त्यो पेन्सन जस्तै हो। यहीँ माटोमा रमाउने हो। यहीँ माटोमा कमाउने हो।'

बगैंचामा पुगेका सचिव मिश्रले उपस्थित सबैसँग खुसी साट्दै भण्डारीकाे प्रसंशामा समय यसरी बिताए।

'यो बगैंचा नेपालको स्याउ उत्पादनको सिलसिलामा एक सान हो। यो ठूलो स्याउ बगैंचा मात्र होइन, कृषि तालिम केन्द्रका रुपमा विकसित हुनेछ। अझ भविष्यमा अनुसन्धान केन्द्रमा रुपान्तरण भएकाे सुन्न पाउनेमा विश्वस्त छु। लकडाउनको समयमा बगैंचामै नआउनु पर्ने हो तर जसरी डक्टरले बिरामीलाई छोड्न सक्दैनन्, त्यसरी मैले पनि किसान छोड्न सकिन। बगैंचामै पुगेर किसानलाई हौसला दिनु दायित्व ठाने। 

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले स्याउको प्रशोधन, बजारीकरण, कृषि सडक लगायतका प्राविधिक सहयोग गर्ने गरि पहल गर्नेछु।हामीमा पहिलेदेखिकाे एउटा राेग छ। समयक्रमसंगै थातथलो बिर्षने, स्याउबाट पैसा कमाएर सुर्खेत नेपालगन्जमा घर बनाउने जन्मभूमी समेत बिर्सने। कृषिबाट आर्जित रुकमले घरघडेरीमा लगानी गर्ने चलन छ। स्याउको बगैंचा सुधारमा ध्यान नदिने। तर किसानले खेतीपाती भित्र्याउँदा एक अंश माटोलाई पनि दिनुपर्छ भन्ने पनि ख्याल गर्नुपर्छ।

कठिन कालमा बगैँचा स्थापना गरेर स्थानीलाई रोजगारी दिलाउने काम निकै चुनौतिपूर्ण छ। स्याउ खेतीको सम्भावना राम्रो छ भन्ने सन्देश पनि यो बगैंचाले दिएको छ। कर्णालीमा लगानी भित्र्याउनेलाई सम्मान गर्नु पर्छ। जसले कर्णालीको पैसा बहिर लैजान्छ त्यो यहाँका बासिन्दाका लागि सम्मान गर्न लायक हुँदैन।'


सचिव मिश्रले यति बेलेर लगानीकर्ता मिनबहादुर भण्डारीलाई बगैंचामै सबै कामदारको बीचमा दोसल्ला ओढाएर सम्मान गरे। उनीसहित बगैंचा निर्माणका लागि जग्गा उपलब्ध गराउन सहयोग गर्ने गुठिचौर ५ फोइगाउँका इश्वरीप्रसाद चौलागाई र रुद्रलाल धिताललाई पनि खादा लगाएर सम्मान गरे।



'ओखर राेप्याे भने पेन्सन आउँछ' (भिडियो)

भूमिहीन र दलितले जमिन पाउनेछन्: अध्यक्ष ज्ञवाली

प्रकाशित मिति: : 2021-05-14 12:13:00

प्रतिकृया दिनुहोस्