कतारसँग ५-० ले हारेपछि नेपाल समूह चरणबाटै बाहिरियो

तस्बिरः एएफसी

नेपाल एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणबाटै बाहिरिएको छ।

समुह ए अन्तर्गत आइतबार घरेलु टोली कतारसँग ५-० ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।

खेलको २४ औं मिनेटमा कतारले पेनाल्टीमार्फत सुरूवाती अग्रता लिएको थियो। हसन पलाङलाई नेपाली खेलाडीले लडाएपछि रेफ्रीले कतारलाई पेनाल्टीको अवसर दिएका थिए। कतारका लागि अब्दुल्ला अलहरकले गोल गर्दै घरेलु टोलीलाई सुरूवाती अग्रता दिलाए।

पहिलो हाफमा १-० ले अघि रहेको कतारले दोस्रो हाफमा थप ४ गोल गर्‍यो।

दोस्रो हाफको ५३औं मिनेटमा कप्तान अल रावीले गोल गर्दै कतारको अग्रता दोब्बर पारे। ६०औं मिनेटमा कतारी खेलाडीको प्रहार रोक्ने क्रममा दिनेश राजवंशीलाई लाग्दै गोल भएपछि कतार ३-० ले अगाडि बढ्यो।

खेलको ७९औं मिनेटमा कप्तान रावीले फ्रिकिकमा सिधै गोल गर्दै अग्रता ४-० मा पुर्‍याए।

इन्ज्युरी समयको दोस्रो मिनेटमा अब्दुल्ला अलहरकले मैदानको मध्यभागबाट प्रहार गरेको बलले पोष्टको दिशा लिएपछि कतारले ५-० गोलअन्तरले शाननदार जित निकालेको हो।

यो जीतसँगै कतारको दोस्रो चरणमा पुग्ने सम्भावना बलियो भएको छ। नेपाल भने समूह चरणबाट बाहिरिएको छ।

यसअघि नेपाल पहिलो खेलमा ओमानसँग १-० ले पराजित भएको थियो।

नेपालले अब अफगानिस्तानसँग अन्तिम खेल खेल्नेछ। अफगानिस्तान पनि आइतबार ओमानसँग २-१ ले पराजित भएपछि लगातार दुई खेल हार्दै बाहिरिएको छ।

अब कतार र ओमानबीचको खेलको विजेताले यो समूहबाट थाइल्याण्डमा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिप खेल्नेछ।

प्रकाशित मिति: : 2019-03-25 00:41:33

प्रतिकृया दिनुहोस्