कुवेतविरूद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

तस्बिरः अखिल नेपाल फुटबल संघ एन्फा

नेपाल कुवेतविरूद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा पराजित भएको छ।

सोमबार भएको खेलमा नेपाल घरेलु टोली कुवेतसंग १-० गोल अन्तरले पराजित भएको हो।

अल शबब स्टेडियममा कुवेतलाई जिताउन युसुफ नासिरले निर्णायक गोल गरे। खेलको २९ औं मिनेटमा नासिरले पेनाल्टीमार्फत गोल गर्दै कुवेतलाई जिताएका हुन्।

यसअघि पहिलो खेलमा कुवेतसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा रोक्न सकेन।

पहिलो खेलमा अग्रपंक्ति सम्हालेका फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठको स्थानमा विमल राना र आशिष लामा पहिलो रोजाईमा परेका थिए। आशिषको यो राष्ट्रिय टोलीबाट डेब्यू समेत हो। विमल भने पछिल्लो खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै डेब्यू गरेपछि पहिलो रोजाइमा उत्रिएका हुन्। नेपाल एपीएफ क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका आशिष पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

यस्तै डिफेन्डर रबी सिलवालले पनि राष्ट्रिय टोलीमा डेब्यू गरेका छन्।  संकटाबाट खेल्दै आएका रबी खेलको ८७ औं मिनेटमा कप्तान विराज महर्जनको स्थानमा मैदान प्रवेश गर्दै अन्तर्राष्ट्रिय डेब्यू गरेका हुन्।

मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भएपछि नेपालले फिफा वरियतामा तीन स्थान माथिको कुवेतसँग मैत्रीपूर्ण खेल खेलेको हो। फिफा वरियतामा नेपाल १६१ औं स्थानमा रहेको छ । कुवेत १५८ औं स्थानमा छ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेत भ्रमणले नेपाली टोलीको कमजोरी र बलियो पक्ष पत्ता लागेको बताएका छन्।

एक खेलमा हार र एकमा बराबरी खेलेको नेपालले कुवेतलाई कडा टक्कर दिएकोमा प्रशिक्षक कालिनले खुसी व्यक्त गरे।

आफूहरूले यो प्रतियोगिताबाट कमजोरी पत्ता लगाएको भन्दै उनले समग्रमा कुवेतलाई हराउन नसके पनि कडा टक्कर दिएको उनले दाबी गरे।

यो खेलसँगै मुख्य प्रशिक्षक कालिनको नेतृत्वमा नेपालले दुई खेलमा एक हार र एक बराबरी खेलेको छ। हालै मुख्य प्रशिक्षकमा नियुक्त भएका कालिनले कुवेतसँगको खेलबाट डेब्यू गरेका थिए।

प्रकाशित मिति: : 2019-03-26 00:38:06

प्रतिकृया दिनुहोस्