स्थानीय तह निर्वाचन

रोल्पामा सहज छैन गठबन्धन

आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने विषयमा केन्द्रमा सत्तारूढ गठबन्धनबीच सहमति भएको छ।

नेपाली कांग्रेसले आवश्यकताका आधारमा तालमेल गर्न सकिने निर्णय गरेसँगै सत्तारूढ दलबीच जिल्ला हुँदै स्थानीय तहसम्म तालमेलका लागि छलफल सुरू भएको छ।

रोल्पामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेलका लागि प्रारम्भिक बैठक बसी तयारी थालेका छन्।

जिल्लाका रोल्पा नगरपालिका, माडी गाउँपालिका र लुंग्री गाउँपालिकामा पनि गठबन्धन दलको बैठक बसी तालमेलको लागि छलफल अघि बढेको छ। यो समाचार तयार पार्दासम्म जिल्लाका अन्य स्थानीय तहले तालमेलबारे छलफल गरेको जानकारी नआएपनि यो क्रमले निरन्तरता पाउने र जिल्लाका सबै स्थानीय तहमा यसबारे छलफल हुने देखिएको छ। रोल्पामा चुनावी तालमेलका लागि गरिएको यो सुरूवाती प्रयास मात्रै हो। उनीहरू अन्तिम निष्कर्षमा पुग्न धेरै पापड पेल्नुपर्ने देखिन्छ।

रोल्पामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल सोचे जति सहज भने छैन। यी दलहरूको अहिलेसम्मको अवस्था हेर्दा सहजै गठबन्धन हुने अवस्था कमजोर देखिन्छ। जिल्लाकै मुख्य प्रतिस्पर्धी दुई दलबीच गठबन्धन गरेर तेश्रो दलसँग निर्वाचन लड्ने लोकतान्त्रिक मान्यता अनुरूप नहुने कतिपयको बुझाई छ।

कांग्रेसले दुई/चार ठाउँ जित्नु वा हार्नु ठूलो कुरा नभई लोकतन्त्रकै हारजितको कुरा भएको कांग्रेसजनको बुझाई छ। संसदीय परम्परा र लोकतन्त्रमा ‘दुई ठूला दल मिलेर तेश्रो दलसँग प्रतिस्पर्धा गर्नु हाँस्यास्पद मात्रै हैन संसदीय मर्यादाविपरीत पनि हो,’ कांग्रेस नेता लेखनाथ आचार्य भन्छन्।

संसदीय परम्परा र लोकतन्त्र बचाउने भनेकै कांग्रेस भएकाले निर्वाचन हारजितका नाममा गरिने गैर लोकतान्त्रिक चरित्रको पछि कांग्रेस लाग्न नहुने उनको बुझाई छ। यस्तो धारणा राख्ने कांग्रेस कार्यकर्ताको रोल्पामा ठूलो पंक्ति छ।

१ नगरपालिकासहित १० स्थानीय तह रहेको रोल्पामा २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले ७ स्थानीय तह जितेको थियो। उसले रोल्पा नगरपालिका, सुनिलस्मृती गाउँपालिका, सुनछहरी गाउँपालिका, थवाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, गंगादेव गाउँपालिका र माडी गाउँपालिका जितेको थियो। नेकपा एमालेले त्रिवेणी गाउँपालिका र रून्टीगढी गाउँपालिका तथा नेपाली कांग्रेसले लुंग्री गाउँपालिका जितेको थियो।

केन्द्रमा नेकपा माओवादीसँग सत्ता साझेदारी गरेपनि २०७४ सालको स्थानीय तह निर्वाचन रोल्पाका कतिपय स्थानीय तहमा कांग्रेस, एमाले र कांग्रेस स्वतन्त्रबीच तालमेल भएको थियो। जिल्लाको माडी गाउँपालिकामा कांग्रेस–एमाले र थवाङ गाउँपालिकामा कांग्रेस–स्वतन्त्रबीच चुनावी तालमेल भएको थियो।

माडी गाउँपालिकामा कांग्रेसका गोपाल घर्तीमगर अध्यक्ष र एमालेका प्रेमबहादुर घर्तीमगरले उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। अध्यक्षमा गोपाल घर्तीमगरको २ हजार ६२८ मत आएको थियो। उनलाई माओवादी केन्द्रका उम्मेदवार नन्दबहादुर पुनले ३ हजार १८२ मत ल्याइ हराएका थिए। उपाध्यक्षमा एमालेका उम्मेदवारले प्रेमबहादुर घर्तीमगरले २ हजार ६८९ मत प्राप्त गरेका थिए। उनलाई माओवादी केन्द्रकी उम्मेदवार धनिकला घर्तीमगरले ३ हजार २५१ मत ल्याई पराजित गरेकी थिइन्।

यसैगरी थवाङ गाउँपालिकामा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार अमित घर्तीमगरले १ हजार ५७ मत प्राप्त गरेका थिए। सो गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर घर्तीमगरले १ हजार ९६० मत प्राप्त गरी विजयी भएका थिए। उपाध्यक्ष कांग्रेसकी उम्मेदवार श्रीकुमारी रोकाले ९६५ मत प्राप्त गरेकी थिइन्। सो गाउँपालिकामा माओवादीका उम्मेदवार रामकिरणी रोकामगरले १ हजार ९६५ मत प्राप्त गरी विजयी भएकी थिइन्।

पछिल्लो समयमा आएर मात्रै गठबन्धन गरिएकाले उक्त गठबन्धनले निर्वाचन जित्न नसकेको कांग्रेस प्रदेश ‘ख’ सभापति गोपाल घर्तीमगरको भनाई छ। ‘समयमै गठबन्धन गरेर अघि बढेको भए परिणाम फरक आउन सक्थ्यो,’ घर्तीमगरले भने।

एउटै दल मजबुत रहेको स्थानीय तह

जिल्लाको परिवर्तन गाउँपालिकामा माओवादी केन्द्र मजबुत देखिएको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा रोल्पाको क्लीन स्वीप गर्ने रोल्पाको एक मात्र रहेको सो गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार निमकान्त डाँगीले आफ्ना प्रतिस्पर्धी कांग्रेसका झक्कु घर्तीमगरलाई दोब्बर बढी मतान्तरले हराएका थिए।

माओवादी केन्द्रका डाँगीले ४ हजार ६०४ मत ल्याउँदा कांग्रेसका घर्तीमगरले १ हजार ९८९ मत प्राप्त गरेका थिए। यो परिणाम २ हजार ६१९ को मतान्तर हो। तेश्रो स्थान हासिल गर्ने एमालेका उम्मेदवार लोकेन्द्रबहादुर घर्तीमगरले ६५९ मत प्राप्त गरेका थिए। कांग्रेस र एमालेको मत जोड्दासमेत माओवादी केन्द्र एक्लैको १ हजार ९५६ मत बढी हुन्छ।

जिल्लाको माडी गाउँपालिका, थवाङ गाउँपालिका, रोल्पा नगरपालिका र सुनछहरी गाउँपालिका माओवादी मजबुत रहेका स्थानीय तह हुन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा माडी गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धन हुँदा समेत माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए। सो स्थानीय तहमा कांग्रेस र एमाले गठबन्धनले २ हजार ६२८ मत लिँदा माओवादीले एक्लै ३ हजार १८२ मत प्राप्त गरेको थियो। यो ५५४ को मतान्तर हो।

थवाङ गाउँपालिकामा कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच तालमेल हुँदा समेत माओवादी केन्द्र विजयी भएको थियो। थवाङमा कांग्रेस स्वतन्त्र उम्मेदवारले १ हजार ५७ मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवारले १ हजार ९६० मत प्राप्त गरेका थिए। सो गाउँपालिकामा कांग्रेस स्वतन्त्र गठबन्धनका विरूद्ध माओवादी एक्लै ९०३ मतान्तरसहित विजयी भएको थियो। सो गाउँपालिकामा एमालेका उम्मेदवारले १२० मत प्राप्त गरेका थिए।

जिल्लाको एकमात्र नगरपालिका रोल्पा नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवारले ५ हजार ३६४ मत प्राप्त गरी विजयी भएको थियो। नगरपालिकामा नेपाली कांग्रेसले ३ हजार ८२७ र एमालेले ४७८ मत प्राप्त गरेका थिए। रोल्पा नगरपालिकामा कांग्रेस र एमालेको मत जोड्दा पनि माओवादी केन्द्र १ हजार ५९ मतान्तरले विजयी भएको  थियो।

सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारले २ हजार ५६१ मत प्राप्त गरी विजयी भएका थिए। सो गाउँपालिकामा कांग्रेसका उम्मेदवारले १ हजार १३६ र एमालेका उम्मेदवारले ९४७ मत प्राप्त गरेका थिए। सो गाउँपालिकाम कांग्रेस र एमालेको कुल मतभन्दा माओवादी केन्द्रका उम्मेदवारको एकल मत ४७८ मत बढी थियो।

दुई दलको तालमेलले परिणाम प्रभावित गर्न सक्ने स्थानीय तह

जिल्लाका लुँग्री, सुनिलस्मृती र त्रिवेणी गाउँपालिकामा कुनै दुई शक्तिको गठबन्धन भए परिणाममा फेरबदल आउन सक्ने स्थानीय तह हुन्। यो गाउँपालिका २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी भएको एकमात्र स्थानीय तह हो।

उक्त निर्वाचनमा कांग्रेसले ३ हजार १२५ मत प्राप्त गरी विजयी भएको थियो। दोश्रो स्थान हासिल गरको माओवादी केन्द्रले २ हजार ९१०, राप्रपाको मत १०११ र एमालेको मत ७०९ रहेको थियो। सो गाउँपालिका कुनै दुई शक्तिबीच गठबन्धन भए मत परिणाम समेत बदलाब आउने देखिन्छ।

जिल्लाको सुनिलस्मृती गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए। सो निर्वाचनमा माओवादीका उम्मेदवारले ४ हजार १५५ मत प्राप्त गरेका थिए।

निकटम प्रतिद्वन्द्वी कांगेसका उम्मेदवारको पक्षमा ३ हजार ६० मत र एमालेका उम्मेदवार उम्मेदवारले १ हजार १९ मत प्राप्त गरेका थिए। सो गाउँपालिकामा राप्रपाको ३१२ र राजमोको ३०१ मत रहेको थियो। सोही गाउँपालिकामा कुनै दुई वा सोभन्दा बढी दलको गठबन्धन भए निर्वाचन परिणाम फरक आउने देखिन्छ।

एमालेले जितेका रोल्पाका दुई स्थानीय तहमध्ये त्रिवेणी गाउँपालिका एक हो। सो गाउँपालिकामा एमालेका उम्मेदवारले ३ हजार ३३३ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ३ हजार ११२ र कांग्रेसका उम्मेदवारले ९८४  मत प्राप्त गरेका थिए। सो गाउँपालिकामा नेकपा मालेका उम्मेदवारको ७५८ मत आएको थियो। सोही गाउँपालिकामा कुनै दुई दलले गठबन्धन गरे निर्वाचन परिणाम फरक आउने देखिएको छ।

त्रिपक्षीय भिडन्त हुने स्थानीय तह

जिल्लाको रून्टीगढी र गंगादेव गाउँपालिकामा त्रिपक्षीय भिडन्त हुने देखिएको छ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा रून्टीगढी गाउँपालिकामा एमालेबाट बालाराम बुढामगरले ३ हजार ४०३ मत प्राप्त गरी विजयी भएका थिए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार टेकबहादुर बस्नेतले ३ हजार २७८ मत प्राप्त गरेका थिए। तेश्रो स्थान हासिल गरेको माओवादीका उम्मेदवार गोविन्द पुनले ३ हजार १०८ मत प्राप्त गरेका थिए।

९ वटा वडा रहेको सो गाउँपालिका २ वडाध्यक्ष एमाले, ४ वडाध्यक्ष कांग्रेस र ३ वडाध्यक्ष माओवादी केन्द्रले जितेका थिए। गाउँपालिकामा १४ हजार ९४८ मतदाता रहेको थिए।

यसैगरी तत्कालीन सुकीदह (परिवर्तित गंगादेव) गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर खत्रीले २ हजार ४१४ मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रोशनकुमार वलीले २ हजार २९० मत प्राप्त गरेका थिए। तेश्रो स्थान हासिल गरेका कांग्रेसका उम्मेदवार हरिबहादुर पुनले २ हजार २६१ मत प्राप्त गरेका थिए। १० हजार ७२२ मतदाता रहेको सो गाउँपालिकामा ४ वटा वडाध्यक्ष माओवादीले जितेको थियो भने २ वटा वडा एमाले र १ वटा वडा कांग्रेसले जितेको थियो।

कांग्रेस र माओवादी केन्द्रको पछिल्लो तिक्तताले पनि कांग्रेस-एमालेबीच गठबन्धन हुने कुरा नकार्न सकिँदैन। केही दिनअघि पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहेको रोल्पा लिवाङमा आयोजित जनसभामा सार्वजनिक रूपमै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुनले नेपाली कांग्रेस रोल्पाका उपसभापित हरिबहादुर पुनलाई गम्भीर आरोप लगाए।

नेता पुनको आरोपको खण्डन गर्दै उपसभापति पुनले विज्ञप्तिमार्फत खण्डन मात्र गरेनन्, आरोप पुष्टि गर्न चुनौतीसमेत दिए। माओवादी नेता पुनले कांग्रेस उपसभापति पुनलाई १७ लाख बराबरको अनियमितता गरेको तथा गंगादेव गाउँपालिकामा भएको माेटरसाइकलमा आगजनीको विषयमा सार्वजनिक रूपमा आरोप लगाएका थिए। यसका साथै कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत माडीचौरमा रहेको प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीले कांग्रेस निकट नेविसंघका विद्यार्थीमाथि गरेको कुटपिटको विषयले पनि दुई पार्टीबीच दूरी बढाएको थियो।

माओवादी नेता तथा लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी भने विगत बिर्सनुपर्ने बताउँछन्। घरेलु तथा साना उद्योग महासंघ रोल्पाद्वारा आयोजित महोत्सव उद्घाटन गर्न रोल्पा आएका मुख्यमन्त्री केसीले गठबन्धनका साथीहरूलाई जनताको भावनाविरूद्ध नबहकिन आग्रह गरे।

मन्तव्यको अधिकांश समय एमालेलाई गाली गर्न खर्चिएका मुख्यमन्त्री केसीले लोकतन्त्र, गणतन्त्रको रक्षा र संघीयता कार्यान्वयनका लागि गठबन्धन भएकाे बताए। ‘कुनैबेला हामी पक्ष प्रतिपक्षमा थियौँ। समय र परिस्थितिले हामी एउटै उद्धेश्यमा आइपुगेका छौँ,’ केसीले भने।

वडासम्मै गठबन्धन गरेर नयाँ इतिहास कायम गर्ने उनको दावी थियो। ४१ सिट रहेको एमालेलाई ३६ सीटमा खुम्च्याएर सत्ताबाट आफैँले वहिर्गमन गरेको मुख्यमन्त्री केसीको दावी छ। आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्षी एमालेलाई भाङ बालेर खोज्नुपर्ने अवस्थामा पुर्याउने बताउँदै ५ वर्षका लागि 'वयटिङ' पार्टीको रूपमा रहन आग्रह गरे।

कांग्रेस भने रोल्पामा माओवादी केन्द्रसँग सहजै गठबन्धन हुने अवस्था नभएको बताउँछ। ‘रोल्पामा माओवादीको अत्यधिक दम्भले गठबन्धन सहजै हुने अवस्था देखिँदैन,’ कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले भने, ‘असहमतिका बीच पनि सत्तारूढ दलबीच गठबन्धन गरेर जाने निर्णय भएकाले आधिकारिक रूपमा गठबन्धनविरूद्ध जाने अवस्था छैन।’

उनी भन्छन्, ‘गठबन्धनका लागि माओवादी दम्भ बाधक छ। कांग्रेस पनि एउटा शक्ति हो भनेर सम्मानजनक सहभागिता भएमात्रै गठबन्धन हुन्छ।’ पार्टीको निर्णयअनुसार सत्तारूढ दल बाहिर गठबन्धनको सम्भावना कम भएपनि एमालेका उम्मेदवारले आफूले नजित्ने स्थानीय तहमा कांग्रेसका उम्मेदवारलाई भोट हाले स्वागत गर्ने सभापति पुनले बताए।

दश वर्षे सशस्त्र द्वन्द्वताका तत्कालीन माओवादीले रोल्पामा कांग्रेसका १२१ जना सक्रिय कार्यकर्ताको हत्या गरेको कांग्रेस रोल्पाको आरोप छ। केही वर्षअघि पनि उनीहरूले नेपाल तरूण दल रोल्पा नगरपालिका अध्यक्षको हत्या गरेकाे कांग्रेस रोल्पाका एक नेताले बताए। ‘शान्ति प्रकृयापछि पनि कांग्रेस कार्यकर्ताकाे हत्या गर्ने क्रम रोकिएको छैन,’ ती नेताले भने।

प्रकाशित मिति: : 2022-04-05 16:50:00

प्रतिकृया दिनुहोस्