आईपिएलः राजस्थानलाई सहजै हराएको कोलकाता शीर्षस्थानमा उक्लियो

राजस्थान रोयल्सलाई हराउँदै कोलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा शीर्ष स्थानमा उक्लिएको छ। आइतबार सम्पन्न दोस्रो खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै कोलकत्ता शीर्ष स्थानमा उक्लिएको हो।

१ सय ४० रनको सामान्य लक्ष्य पक्ष्याएको कोलकताले ३७ बल बाँकी छँदै मात्र २ विकेटको क्षतिमा सहजै पुरा गर्‍यो। कोलकताको सहज जितमा ओपनर सुनिल नारायण र क्रिश लिनले पहिलो विकेटका लागि ९१ रनको साझेदारी गरे।

२५ बल खेलेका नारायणले ६ चौका र ३ छक्का प्रहार गर्दै ४७ रन बनाए। अर्का ओपनर क्रिस लिनले ३२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५० रन जोडेर आउट भए।

त्यस्तै रोबिन उथप्पाले २६ रन बनाउँखा शुभ्मन गिल ६ रनमा नट आउट रहे। राजस्थानका लागि दुवै विकेट श्रेयस गोपालले लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

यसअघि जयपुरमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ३९ रन बनायो। उसका लागि स्टिभ स्मिथले नटआउट ७३ रन बनाए। ५९ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे पनि त्यो जितको लागि प्राप्त भएन।

अर्का ओपनर जस बटलरले ३७ रन बनाउँदा कप्तान अजिंक्या रहाणे ५ र राहुल त्रिपाठ्ठी ६ रनमा आउट भएका थिए। कोलकताका ह्यारी गर्नीले २ र प्रसिद्ध कृष्णाले १ विकेट लिएका थिए।

योसँगै कोलकताले जारी लिगमा ५ खेलबाट ४ मा जित र १ मा हारका सहित ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो। समान अंक भए पनि रन रेटमा दोस्रो स्थानमा रहेको चेन्नई सुपर किंग्स ५ खेलमा ४ मा जित र १ मा हार ब्यहोरेको छ।

सनराइजर्स हैदरावाद ५ खेलमा ३ मा जित र २ मा हारका साथ तेस्रो स्थान छ। त्यस्तै समान ६ अंकसहित मुम्बई चौथो र दिल्ली पाँचौ स्थानमा छन्। आजै भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंलोरलाई ४ विकेटले हराउँदै दिल्ली पाँचौ स्थानमा उक्लिएको हो।

प्रकाशित मिति: : 2019-04-07 23:41:00

प्रतिकृया दिनुहोस्