सितापाइला हत्या प्रकरण

श्रीमती, छाेरी र नातिनीकाे हत्यापछि ससुरालाई फाेन गरेर राजुले भनेका थिए- मैले मारेँ, जे गर्नुपर्छ गर्नू (भिडियाे)

काठमाडौँको सीतापाइलामा एकै परिवारका तीनजनाको हत्या गरी एक पुरूषले आत्महत्या गरेका छन्।

नागार्जुन नगरपालिका वडा नम्बर ६ मा बस्ने राजु घिमिरेले श्रीमती प्रेमकुमारी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २ वर्षीया नातिनी शिवानीको हत्या गरेको प्रहरीले बिएल नेपाली सेवालाई जानकारी दिए।

राजुको शव प्रहरीले घटनास्थल नजिकैको जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला पारेको छ।

आत्महत्या गर्नुअघि राजुले ससुरालाई फाेन गरेर आफूले तीनै जनाकाे हत्या गरेकाे बताएकाे ससुरा इन्द्रजित श्रेष्ठले जानकारी दिए।

‘मार्ने मान्छे (राजु)ले फाेन गरेर- मैले स्वास्नी, छाेरी, नातिनी मारेँ। जे गर्नुपर्छ ससुराबा गर्नु है भनेर मलाई फाेन गरेकाे थियाे, अनि मैले पुलिसलाई फाेन गरेँ। म पनि घटनास्थलमा पुगेँ। उसले पनि माथि डाँडामा पुगेर झुण्डिएर आत्महत्या गरेछ’, ससुरा इन्द्रजितले भने।

मंगलबार साँझ राजुले श्रीमती र दुई छोरी लिएर आएकाे र खाजा खाएर फर्किएकाे इन्द्रजितले बताए। उनका अनुसार राजु आफन्तलाई भेट्न अस्पताल पुगी राति १ बजे फर्किएर काेठामा सुतेकाे र बिहान सवा ७ तिर छाेरी र नातिनीकाे हत्या गरेका थिए।

सीतापाइलामा राजुको परिवारका श्रीमती, छाेराछाेरी, नातिनी र बुहारीसहित ६ जना सदस्य बस्दै आएका थिए।

स्थानीयका अनुसार प्रेमकुमारीकाे दाेस्राे बिहे थियाे। उनकाे पहिलाे श्रीमानतिरकाे छाेरा भने विदेशमा छन्। बुहारी र नातिनी उनीहरूसँग बस्दै आएका थिए।

राजु र प्रेमकुमारीतिरका १५ वर्षीय छाेरा घटना हुने समयमा पसल गएका थिए भने बुहारी बिहानै काममा गएकी थिइन्।  राजुले नै पैसा दिएर छाेरालाई पसल पठाएका थिए। त्यसपछि उनले तीनै जनाकाे हत्या गरेका हुन्। हत्यापछि राजुले ससुरालाई फोन गरेर सूचना दिएकाे र आफू झुण्डिएर आत्महत्या गरेका प्रहरीले बताएकाे छ।

पारिवारिक झगडाका कारण उनले तीन जनाकाे हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति: : 2024-02-21 12:52:00

प्रतिकृया दिनुहोस्