पोलार्डको बिस्फोटक ब्याटिङमा मुम्बईको रोमाञ्चक जीत

तस्बिरः एजेन्सी

कप्तान किरन पोलार्डको सानदार पारीसँगै मुम्बई इन्डियन्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा किङ्स इलाभेन पञ्जाबलाई हराउँदै तेस्रो स्थानमा उक्लिएको छ।

पोलार्डले मात्र ३१ बलमा १० छक्का र ३ चौकासहित ८३ रन बनाएपछि पञ्जावलाई अन्तिम बलमा ३ विकेटले हराउँदै मुम्बईले रोमाञ्चक जित निकालेको हो।

पञ्जाबले दिएको १९८ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा मुम्बईले अन्तिम बलमा ७ विकेट गुमाउँदै विजयी भयो।

मुम्बईलाई जिताउन कप्तान पोलार्डसँगै क्वान्टेन डेककले २४, सूर्यकुमार यादवले २१, हार्दिक पाण्ड्याले १९ तथा सिद्धेश लाद र अल्जारी जोशेफले १५-१५ रन बनाए। जोशेफले विजयी रन प्रहार गर्दै नटआउट रहे।

पञ्जावका लागि मोहम्मद शामीले ३ विकेट लिए पनि टिमलाई जिताउन सकेनन्।

यसअघि ओपनर के एल राहुलले सानदार शतक प्रहारसँगै मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो।

पन्जाबका लागि ओपनर के एल राहुलले सानदार शतक प्रहार गरे । राहुल ६४ बलमा समान ६ चौका र छक्का प्रहार गर्दै १ सय रनमा नट आउट रहे।

त्यस्तै अर्का ओपनर क्रिस गेलले ३६ बल खेल्दै ७ छक्का र ३ चौका प्रहार गर्दै ६३ रनको योगदान दिए।

गेल र के एल राहुलले पहिलो विकेटका लागि १ सय १६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।

पन्जावका लागि करुण नायर ५, डेविड मिलर ७ र साम करन ८ रनमा पेभिलिएन फर्किएका थिए।

मुम्बईका लागि हार्दिक पान्ड्याले २ विकेट लिएका थिए। त्यस्तै जसप्रित बुमराह र जोसन बेहरनडोफले समान १ विकेट आफ्नो नाममा लेखाए।

अभ्यासको क्रममा घाइते हुँदा आज कप्तान रोहित शर्मा बिनै मुम्बईले खेल जितेको हो।

यो जितसँगै मुम्बई ६ खेलबाट ४ जितसहित ८ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको  छ। पराजित पञ्जाव ७ खेलबाट समान ८ अंक जोडे पनि रनरेटका आधारमा चौथो स्थानमा झरेको छ।

 

प्रकाशित मिति: : 2019-04-11 00:44:09

प्रतिकृया दिनुहोस्