फूलको अपमान

लघुकथा

फूलको अपमान

मणिपुर राज्यको अति पुरानो नेपाली गाउँ-कालापहाड। सन् १८९३ मा तुलाचन आलेले भारतकै पहिलो नेपाली सवाई पुस्तिका ‘मणिपुरको लडाइँ’ लेखेर छाडिदिएको ठाउँ-कालापाहाड।

मणिपुरका लागि सन् १८९१ मा फिरंगीका फाँसीमा चढ्ने भारत कै पहिला गोर्खा शहीद सुबेदार निरञ्जन सिंह क्षेत्रीले वीरगति पाएको ठाउँ-कालापाहाड। मणिपुरका राजाले गोर्खा गौचरन खर्कका नाउँमा नेपालीलाई छुट्याइएको गाउँ-कालापाहाड।

खारखोला र कालीखोलाका माझमा चिलाउने, उत्तिस, बकाइनो, होइराँगे, भक्किउँलो, कटुस, चाँपो, टाँकी आदि रूखहरूले झकिझकाउ र नेपाली बान्कीले निर्माण भएको हाम्रो गाउँ-कालापाहाड। चोखा नेपाली मनहरूले सजाएर अनि बचाएर राखेको-हाम्रो कालापाहाड, राम्रो कालापाहाड। उहिले देखिका तीता र मिठा कथाहरू कोरिंदै आएको-कालापाहाड।

चार पुस्ता अगाडि धर्मानन्द कोइरालाले आर्जेको र नातिनी डम्बरकुमारीले भोग गरेर यहीँको माटोमा आफूलाई विलीन गराएको-दुई तले नेपाली गारेघर।

‘बाबा! यी हेर्नु त! मखमली, सयपत्री, गोदावरी कत्ति राम्रा डालीभरी फूलहरू लिएर आएँ। आहा! कतिराम्रो झपक्क फूलेका फूलबारीमा मौरीहरू, कठेउरीहरू घुनुनु घुनुनु गर्दै रमाइ रहेका थिए। रामु अंकलले पनि दिन मन नगरी नगरी दिनु भयो। साँच्चै बाबा मलाई त फूल टिप्न पनि अपराध गरे जस्तो लाग्यो।' कीर्तिमानकी दस वर्षे छोरीले एकैसासमा भनी।

'छोरी! राम्रो सीप लगाएर पाँचवटा राम्रा सुन्दर माला बनाउ है। आज हाम्रो स्कुलमा हाम्रा मुख्य मन्त्री आउँदै हुनुहुन्छ। भरे ११ बजेबाट कार्यक्रम शुरू हुन्छ। रामरी स्वागत गर्न पाइयो भने त हाम्रो गाउँमा बाटो, पानी, बिजुली, अस्पताल, स्कुल आदिमा धेरै विकास मिल्छ। भरे ११ नबज्दै तिमीहरू पाँचवटी भएर आउनु है,' कीर्तिमान हतार हतार दुई गाँस टिपेर स्कुलतिर लाग्छ।

स्वागत भाषण, गाउँले दुखेसो, नेपाली लोकनृत्य, विशिष्ट अतिथिका वक्तव्य पछि मुख्यमन्त्रीको एक घण्टा भाषणपछि चिया-चमेना। गाउँमा चाहिने जम्मै खाले सुविधाको आश्वासन पछि कार्यक्रमका लागि मोटो रकम पाए पछि अतिथिहरू विदा भए।

'बाबा ! बाबा ! ! बिहान मैले कति दुःख गरेर उनेका फूलका मालाहरू हेर्नु न सप्पै चट्याङ चुटुंग चुँडाइ कच्याक कुचुक पारेर कुल्चिदिएछन असतिहरूले। मलाई त रुन मनलाग्यो बाबा। मन्त्रीहरूले गाडी मै लिएर जानु नि बरु। मन्त्रीहरुले बिर्सिए पनि हाम्रा ठूला ठालुहरूले जतन गरेर राखेको भए पनि हुने थियो।

आँधो भीडले कुल्चेर फूलको कत्रो अपमान गरेछन्। कति पापी यी मान्छेहरू। बिचरा कठेउरीहरू भोलि रून्छन् होला। बाबा फूलको यस्तो अपमान मैले सहनै सकिन। भो अब ता यसरी कुल्चिनका लागि फूलका माला म कहिल्यै बनाउँदिन। कस्सम बाबा!'

छोरी बलिन्द्र आँसु झार्दै छरिएका फूलहरू बटुलेर झोलामा हाल्दै थिई।

प्रकाशित मिति: May 16, 2020 22:07:53

प्रतिक्रिया दिनुहोस

सबै