यु १९ विश्वकप छनोटमा नेपालको सिंगापुरबिरुद्ध विशाल जित, रोहितले बनाए ९५ रन, पवनको अल-राउण्ड योगदान

तस्बिरः रमन सिवाकोटी

नेपालले मलेसियामा शुक्रबारदेखि सुरू भएको आईसीसी एसिया अन्डर-१९ विश्वकप छनोटमा विजयी सुरूवात गरेको छ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनको बिशाल रन अन्तरले हराउँदै सहज जित निकालेको हो।

पहिले ब्याटिङ गर्दै नेपालले दिएको २८२ रनको बिशाल लक्ष्य पछ्याएकोसिंगापुर ३१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ६५ रनमा समेटिएको थियो।

सिंगापुरका लागि इशान सावनेले सर्वाधिक २८ रन बनाए। ५४ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गर्नुबाहेक अन्यले राम्रो योगफल बनाउन सकेनन्। साही भेनुगोपालले १८ रन जोड्नुबाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्। त्यसमध्ये पनि ४ जना ब्याट्सम्यानले खाता समेत पाएनन्।

नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुरले सुरूदेखि लगातार विकेट गुमाउँदै ६५ रन बनाउँदा सबै विकेट खेर फाल्यो।नेपाली बलरसामू सिंगापुरे ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेनन्।

२९ रन भित्रै सुरूवाती ४ विकेट गुमाएको सिंगापुरले थप ३६ रन बनाउँदा सबै विकेट गुमायो।

सिंगापुरलाई सस्तैमा रोक्न नेपालका अफ स्पिनर पवन सर्राफले सर्वाधिक ३ विकेट लिए। ६ ओभर बलिङ गरेका उनले ५ मेडन राख्दै मात्र ५ रन खर्चिए।

यस्तै देब्रे हाते स्पिनरद्वय कुशल मल्लल् ८ ओभरमा ३ मेडनसहित १७ रन खर्चिएर २ विकेट लिए।

सूर्य तामाङले ७ ओभरमा २ मेडन राख्दै १५ रन खर्चिएर २ विकेट लिए। अर्का तिब्र गति बलर राशिद खानले ३ ओभर बलिङ गर्दै १ मेडन राखेर ७ रन खर्चिएर १ विकेट लिए।

यसअघि टस हारेर सेलाङ्ग्लोर टर्फ मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमध्ये ४६ ओभरमा सबै विकेट गुमाएर २८२ रनको योगफल तयार गरेको थियो।

नेपालका लागि कप्तान रोहित पौडेल मात्र ५ रनबाट सतक बनाउन चुके।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका पौडेलले १०५ बल खेल्दै ७ चौका र १ छक्कासहित सर्वाधिक ९५ रन बनाए।

यस्तै राशिद खानले ४७ बलमा ४ चौका र २ छक्कासहित ४८ रन बनाए। ५३ बल खेलेका पवन सर्राफले ४ चौका र २ छक्कासहित ४७ रन बनाए।

कमल ऐरिलेले १८ बलमा ३१ रन बनाउने क्रममा १ चौका र ३ छक्का हिर्काए। यस्तै भीम शार्कीले १९ बलमा ४ चौका र १ छक्कासहित २६ रन जोडे।

खराब सुरूवात गरेको नेपालका लागि ओपनर रित गौतम १ रन तथा तेस्रो नम्बरमा आएका आसिफ शेख ८ रनमा आउट भएका थिए।

त्यसपछि रोहितले तेस्रो विकेटको लागि ओपनर पवन सर्राफसँग ९० रनको साझेदारी गर्दै नेपाली इनिङ्स उकासेका थिए।पवन आउट भएपछि रोहितले भिम शार्कीसँग ३६ रनको र आठौं नम्बरका ब्याट्मेन राशिद खानसँग ७७ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्‍याएका थिए।

सिंगापुरको लागि अथर्भ गुनेले ४ विकेट लिँदा राउल शर्मा र भिनित मेहताले समान२/२ विकेट लिए।

यो जित सँगै नेपालले महत्वपूर्ण २ अंक बटुलेको छ। नेपाललेदोस्रो खेलमा भोलि शनिबार तुलनात्मक रुपमा बलियो टिम युएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय ७:४५ बजे बिहान सुरु हुनेछ।

नेपाललगायत आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई गरि ६ टोलि सहभागी प्रतियोगिताको विजेता टिम सन् २०२० जनवरी/फेब्रुवरीमा दक्षिण अफ्रीकामा आयोजना हुने यु-१९ विश्वकप खेल्न छनोट हुनेछ।

प्रकाशित मिति: : 2019-04-12 19:09:13

प्रतिकृया दिनुहोस्