सन्दिप बिना दिल्लीको जीत: उक्लियो चौथो स्थानमा

तस्बिरः एजेन्सी

कोलकत्तालाई ७ विकेटले हराउँदै दिल्ली क्यापिटल्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को चौथो स्थानमा उक्लिएको छ।

कोलकत्ताले दिएको १७९ रनको लक्ष्य दिल्लीले ७ बल अगावै पुरा गर्‍यो। उसका लागि ओपनर शिखर धवनले सर्वाधिक ९७ रन बनाए। ६३ बल खेलेका उनले २ छक्का र ११ चौका प्रहार गर्दै नटआउट रहे।

धवनले तेस्रो विकेटका लागि ऋषव पन्तसँग सतकीय साझेदारी गरे। पन्तले ३१ बलमा ४७ रन बनाउने क्रममा २ छक्का र चार चौका प्रहार गरे।

अर्का ओपनर पृथ्वी शाले ७ बलमा १४ रन बनाएर आउट हुँदा कोलिन इन्ग्राम ६ बलमा १४ रन बनाउँदै अभिजित रहे।

कोलकत्ताका लागि नितिश राना, आन्द्रे रशेल र प्रशिद कृष्णले १-१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो।

उसका लागि ओपनर ब्याट्सम्यान शुभ्मन गिलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ३९ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।

कोलकाताको मध्यक्रममा निकै राम्रो लयमा रहेका आक्रामक ब्याट्सम्यान आन्द्रे रसलले पुन: उत्कृष्ट ब्याटिङ गर्दै २१ बलमा ३ चौका र ४ छक्कासहित ४५ रन जोडे। रोविन उथाप्पाले ३० बलमा ४ चौका र १ छक्कासहित २८ रन जोड्दा नितिश रानाले ११, कप्तान दिनेश कार्तिकले २ तथा कार्लोस ब्रेथवेटले ६ रन जोडे। तल्लोक्रममा पियुष चावलाले ६ बलमा १४ रन जोड्दै नटआउट रहे ।   ओपनर जो डेनली भने इनिङसको पहिलो बलमा नै बोल्ड भएका थिए।

दिल्लीका लागि सन्दीपको स्थान लिएका किमो पलले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट हात पार्दा क्रिस मोरिस र कागीसो रबाडाले पनि २-२ विकेट लिए।

यो जितसँगै दिल्लीले ७ खेलबाट ४ जित र ३ हारसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ।  पराजित कलकत्ता ७ खेलबाट समान ८ अंक जोड्दै रेन रेटमा माथि रहेर दोस्रो स्थानमा कायमै छ।

प्रकाशित मिति: : 2019-04-13 00:03:19

प्रतिकृया दिनुहोस्