पहिलो बृहत राष्ट्रिय खेलकुदको इतिहास

तस्बिरः बिएल

२०३४ सालमा सरदचन्द्र शाह राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव नियुक्त हुँदा नेपालमा बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको परिकल्पना पनि भएको थिएन । यद्यपि फुटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन र एथलेटिक्स संघहरूले आफ्नै अगुवाइमा वार्षिकरूपमा आफ्नो खेलको राष्ट्रिय प्रतियोगिता भने गर्दै आइरहेको थिए ।

यस्तो परिस्थितिमा २०३५ सालमा थाइल्याण्डको राजधानी बैंककमा आठौं एसियन गेम्स आयोजना भयो। प्रतियोगितामा एसियाका २५ देशका ३ हजार ८ सय ४२ एथलिट सहभागी थिए। यही एउटा भब्य खेलको आयोजना कसरी सम्भव हुन्छ र यसको महत्व जान्ने मौका पाए, उनले। बैंककमा आयोजना भएको आठौं एसियन गेमको भब्यता पछि सरदचन्द्रको मनमा पनि प्रश्न उठ्यो– हामी पनि एकै ठाउँमा एसियाडजस्तै बृहत खेलकुद किन गर्न सक्दैनौ?

थाइल्यान्डले बैंकक एसियाड सफल पार्न राज्यका सबै शक्ति परिचालन गरेको थियो। यस्तोमा सरदचन्द्रका लागि सबैभन्दा कठिन कुरा भौतिक पूर्वाधार कमजोर भएको नेपालजस्तो देशमा बृहत राष्ट्रिय खेलकुद कसरी सफल पार्ने भन्ने नै थियो।

उनका लागि पहिले त प्रतियोगिता कहाँबाट सुरु गर्ने भन्ने मै अलमल थियो। तरपनि उनले बैंककबाट फर्किएपछि जसरी पनि राष्ट्रिय प्रतियोगिता नेपालमा गराउँछु भन्ने प्रण गरेका थिए। यसका लागि उनले बैंकक एसियाडको सुक्ष्म अध्ययन गरे। त्यहाँको अध्ययनपछि उनी एउटा निश्कर्षमा पुगेका रहेछन्– बृहत खेलकुद प्रतियोगिता आयोजनाको लागि पाँचवटा कुरा आवश्यक पर्ने रहेछ।

पहिलो– प्रतियोगिताको समारोह। दोस्रो– कार्यक्रम र व्यवस्थापन। तेस्रो– संवाद(मिडिया)। चौथो– सुरक्षा। र पाँचौ– आर्थिक।

उनले परिषद्को नेतृत्व सम्हाल्दा नेपालमा एउटै खेलाडीले ५ वटासम्म राष्ट्रिय प्रतियोगिता खेलेको पाए। कुनै पनि खेलाडी एउटै खेलमा निपुर्ण थिएनन्। व्यवस्थापन पक्ष त्यति चुस्त थिएन। फेरि, पाँचै खेलको राष्ट्रिय प्रतियोगिता बेग्लाबेग्लै हुने भएका कारण आम नेपालीको ध्यान खेलतर्फ तानिएको थिएन। त्यतिबेला बक्सिङ, क्रिकेट, पौडी र टेनिसलाई सहरियाको खेल मानिन्थ्यो। यी खेल प्रायः सहरभित्र हुन्थ्यो।

२०३८ सालमा पहिलो पल्ट आयोजना भएको बृहत राष्ट्रिय खेलकुद काठमाडौंमा हुनुको कारण पनि छ। त्यतिबेला राष्ट्रिय प्रतियोगिताका लागि समावेश भएका सबै खेलको पूर्वाधार काठमाडौंमा मात्र थियो। प्रतियोगिता आयोजना गर्न परिषद्ले ३ वर्षअघि नै गृहकार्य सुरु गरिसकेको थियो। पहिलो बृहत राष्ट्रिय खेलकुदमा फुटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, एथलेटिक्स, क्रिकेट, बक्सिङ, पौडी, बागचाल, बुद्धिचाल, कबडी, जिम्न्याष्टिक, तारो हान्ने(आर्चरी), भारोत्तोलन, ह्याण्डबल र शारिरीक सुगठन गरी १६ वटा खेल समावेश गरिएको थियो।

त्यतिबेला आयोजनाको लागि सबैभन्दा ठूलो समस्या आवासको थियो। काठमाडौंमा त्यतिबेला अहिलेजस्तो होटल र लज खुलेका थिएनन्। प्रतियोगितामा भाग लिन १४ अञ्चलका करिब १४ सय खेलाडी आएका थिए। उनीहरुलाई विभिन्न शिवालय तथा सरकारी गेस्ट हाउसमा राखियो। पहिलो राष्ट्रिय प्रतियोगिताका लागि तत्कालीन सरकारले १४ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो। यही पैसमा पहिलो राष्ट्रिय खेलकुदको भब्य आयोजना भएको थियो।

पहिलो बृहत राष्ट्रिय प्रतियोगिता आयोजनापूर्व नेपालले २०३७ सालमा मस्को ओलम्पिकमा भाग लिएको थियो। त्यतिबेला अमेरिकालगायत थुप्रै राष्ट्रले अफगानिस्तानमाथि सोभियत संघको आक्रमणको विरोध जनाउँदै मस्को ओलम्पिक बहिस्कार गरे। नेपाललाई पनि विरोधस्वरुप नखेल्न सुझाव दिइएको थियो।

तर, त्यतिबेला सरदचन्द्रको अडान थियो, खेललाई विशुद्ध खेलको रुपमा लिनु पर्छ। यसमा राजनीति घुसाउनु हुँदैन्। उनकै अडानका कारण अन्ततः नेपाल मस्को ओलम्पिकमा सहभागी भएको थियो। चार वर्षपछि अमेरिकाको लस एञ्जलसमा ओलम्पिक आयोजना हुँदा पनि सोभियत संघलगायत उसका समर्थक राष्ट्रले नखेल्ने निर्णय गरे। यतिबेला पनि नेपाललाई लस एञ्जलसमा नखेल्न सुझाव आएको थियो। त्यतिबेला पनि सरदचन्द्र पुरानै अडानमा कायम रहे।

मस्को ओलम्पिक पहिलो बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा भएको कारण नेपालका लागि महत्वपूर्ण थियो। यसको प्रत्यक्ष निरीक्षणबाट थुप्रै कुरा प्रयोग गर्ने मौका पायो। प्रतियोगिता पूर्व नै नेपाली खेलाडीलाई प्रशिक्षण दिन विदेशबाट प्रशिक्षक झिकाइएको थियो। त्यति मात्र होइन, खेलको निष्पक्षतामा कसैले औला नउठाओस् भनेर केही खेलका रेफ्री तथा जज पनि विदेशबाटै मगाइएको थियो।

२०३८ सालको पहिलो बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन मात्र होइन समापन पनि तत्कालीन राजा बीरेन्द्रले गरेका थिए। उद्घाटन सत्रमा स्कुले विद्यार्थीको मास पेटीपछि काठमाडौंको दशरथ रंगशालामा जम्मा भएका चौधै अञ्चलका खेलाडीको मार्च पास वास्तवमै नेपाली खेलकुदका लागि अविस्मरणीय थियो। त्यसअघिसम्म यत्रो संख्यामा नेपाली खेलाडी एउटै ठाउँमा एकत्रित भएका थिएनन्।

अझै समापनका बेला आकाशमा पड्किएको आतिशबाजी सम्झनलायक थियो। त्यतिबेला मैदानमा भएका सबै खेलाडी चिच्याइरहेका थिए। मानौं, उनीहरु पहिलो बृहत राष्ट्रिय खेलकुदको सफलतामा तृप्त देखिन्थे।

प्रकाशित मिति: : 2019-04-13 20:47:08

प्रतिकृया दिनुहोस्