हैदारावादलाई सुपर ओभरमा हराउँदै मुम्बई प्ले अफमा

तस्बिरः एजेन्सी

रोहित शर्मा नेतृत्वको मुम्बई इण्डियन्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

बिहिबार सनराईजर्स हैदरावादलाई सुपर ओभरमा हराउँदै मुम्बईले प्ले अफमा स्थान बनाउने तेस्रो टोली भएको छ।

मुम्बईको वानखडे क्रिकेट स्टेडियममा घरेलु टोली मुम्बईले दिएको १६३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा हैदरावादले २ विकेट गुमाएर ८ रन जोड्दै मुम्बईलाई ९ रनको लक्ष्य दिएको थियो । जवाफमा मुम्बईले विना विकेटको क्षतिमा ३ बलमा लक्ष्य पुरा गर्‍यो। राशिद खानको बलिङमा मुम्बईका हार्दिक पाण्डयाले एक छक्कासहित ७ रन जोडे ।

सुपर ओभरमा जानुअघि हैदरावादका मनिष पाण्डेले अविजित ७१ तथा मोहमद नाबीले ३१ रन जोड्दै खेललाई बराबरीमा पुर्‍याएका थिए।

यस्तै रिद्दिमान साहले १५ रन बनाउँदा मुम्बईका जस्प्रित बुमराह, हार्दिक पाण्डया र कुर्नाल पाण्डयाले २/२ विकेट लिए  ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो । मुम्बईका लागि क्विनटन डी ककले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान रोहित शर्माले २४ तथा सूर्यकुमार यादवले २३ रन बनाए । हैदरावादका खलिल अहमेदले ३ विकेट लिए ।

यो जितसँगै मुम्बई प्ले अफमा पुग्ने तेस्रो टोली बनेको छ। यसअघि चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स प्ले अफ पुगिसकेका छन्। अब एक टोलीले प्ले अफमा स्थान बनाउने छन्।

जितसँगै दोस्रो स्थानमा उक्लिएको मुम्बईले १३ खेलबाट १६ अंक जोडेको छ। चौंथो स्थानको हैदरावादको १३ खेलबाट १२ अंक छ। यद्यपी हैदरावादको पनि प्ले अफ सम्भावना जिवितै छ।

प्रकाशित मिति: : 2019-05-03 00:50:19

प्रतिकृया दिनुहोस्