भारतमा जारी १२औं आइपिएल क्रिकेटको उपाधिका लागि मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्सबीच उपाधि भिडन्त हुने भएको छ। शुक्रबार सम्पन्न दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले फाइनल यात्रा सुनिश्चित गरेको हो।
यसअघि पहिलो क्वालिफायरमा यी दुई टिम आम्नेसाम्ने भएका थिए जसमा चेन्नईलाई नै हराएर मु्म्बईले फाइनलमा स्थान पक्का गरेको थियो।
यस सिजनको उपाधिका लागि यी टिम आगामी आइतबार हैदरावादमा भिड्नेछन्।
यी दुई टिमबीच चौथो पटक उपाधि भिडन्त हुन लागेको हो। यसअघि २०१० मा भइको पहिलो भिडन्तमा चेन्नई विजयी भएको थियो भने २०१३ र २०१५ मा मुम्बई बिजयी भएको थियो।
नेपाली लेग स्पेनर सन्दीप लामिछानेलाई प्लेइङ ११ मा नपारी मैदानमा उत्रिएको दिल्लीको फाइनल खेल्ने सपना यसपटक पनि पूरा भएन। फाइनलका लागि दोस्रो क्वालिफायर खेल्न मैदानमा उत्रेको दिल्लीले १ सय ४७ रन मात्र बनाउँन सक्यो। १४८ रनको सामान्य लक्ष्य चेन्नईले १९ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।
चेन्नईको जितमा ओपनरद्वय फाप डुल प्लेसिस र सन वाटसनको ५०-५० रन निर्णायक रह्यो। सुरेश रैना ११ रन र महेन्द्रसिंह धोनी ९ रनमा आउट भए। अम्बाती रायदुले नटआउट २० रन जोडे।
पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ४७ रन मात्र जोड्न सक्यो। दिल्लीका लागि रिशव पन्तले ३८, कोलिन मुनरोले २७ र इशान्त शर्माले १० रन जोडे भने अन्य ब्याट्सम्यान सस्तैमा आउट भएका थिए।