विश्व कप क्रिकेटः जाधवको विकल्प रायडु वा अक्षर?

तस्वीरः एजेन्सी

भारतीय विश्व कप टोलीमा समावेश केदार जाधव आइपिएल खेल्ने क्रममा घाइते भएका थिए। उनी अहिलेसम्म पूर्ण रुपमा फिट भइसकेका छैनन्।

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) का नियमावली अनुसार २३ मेसम्म सबै देशले टिमको अन्तिम नामावलीमा हेरफेर गर्न सक्नेछन्।

भारतीय अखबारहरूले विश्व कपको नजकिँदो मितिसँगै जाधवको विकल्प पनि खोज्न थालेको बताएका छन्। जाधव तत्कालै फिट हुने सम्भावना कमजोर छ। यसैले उनको स्थानमा अम्बाती रायडु र अक्षर पटेलको रुपमा दुई विकल्पमा कुराकानी भइरहेको अखबारले लेखेको छ।

विश्व कप मे ३० देखि १४ जुलाईसम्म इंग्ल्यान्ड र वेल्सको संयुक्त आयोजनामा हुँदैछ।

रायडुले आइपिएलको १७ खेलमा २३ दशमलव ५० को औसतले २८२ रन बनाएका थिए। उनलाई खराब फर्मका कारण सुरुमा विश्व कप टोलीमा समावेश गरिएको थिएन। रायडुको स्थानमा विजय शंकरलाई १५ सदस्यीय टोलीमा समावेश गरिएको थियो।

अक्षरले आइपिएलको यस सिजनमा १४ खेल खेल्ने क्रममा ११० रन बनाउनुका साथै १० विकेट लिएका थिए।

‘आउँदो सातासम्म जाधवको फिटनेशको निर्णय भैसक्ने छ,’ भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का एक पदाधिकारीले भने, ‘सिनियर छनोटकर्ताहरू जाधवको फिटनेशको विवरण हरेक दिन हेरिरहेका छन्। फिजियो प्याट्रिक फरहर्ट पनि जाधवको फिटनेशमा ध्यान दिइरहेका छन्।’

भारतीय टोली मे २२ मा इंग्ल्यान्डतर्फ लाग्दैछ।

प्रकाशित मिति: : 2019-05-16 22:58:18

प्रतिकृया दिनुहोस्