फिल्म समीक्षाा

राक्षस र मान्छेबीच भिडन्तको कथा

गोडजील्ला र किंगकंग जस्ता काल्पनिक पात्रको विषयबस्तुलाई सिनेमाको पर्दामा उतार्ने बरबंकले चीनको वाण्डासँगको सयुंक्त लगानीमा निर्माण गरेको सिनेमा ‘गोडजील्ला भर्सेज कंग’ बिश्वब्यापी रुपमा बिहीबार ओटीटी प्लेटफर्म र सिनेमा हलमा एकैसाथ रिलिज भएको छ।

कम्प्युटर ग्राफिक्सको सुबिधा नभएको समयमा पनि माटोको मुर्तिको काल्पनिक पात्र बनाएर दर्शकको होस् उड्ने सिनेमा निर्माण गर्ने यो कम्पनीले स्पेशल इफेक्ट र भ्युजल इफेक्ट्सको सहायताले गोडजील्ला र कंग जस्ता काल्पनिक पात्र र अन्य कलाकारको बीचको कथा भएको सिनेमा निर्माण गरेको छ।

मुलत बालबालिकाको रुचीलाई ध्यानमा राखेर निर्माण गरिने यस्ता सिनेमाहरुमा खतरनाक ‘स्टन्ट’ हुन्छन् कि कमजोर मुटु भएका मान्छेको ह्दयघात हुन् बेर लाग्दैन। सायद हाम्रो र पश्चिमा देशका मान्छेहरुको रुचीमा यही फरक हुन्छ होला।

हिंसाले भरिएको राक्षस र मान्छेबीच भिडन्तको कथामा आधारित यो सिनेमा म जस्ता ब्यक्तिका लागि पहिले त राम्रोसँग भाषा बुझ्न नै कठिन हुन्छ। त्यसमा परिबेश बुझ्न नसक्दा अरुलाई अंग्रेजी सिनेमा हेरेको छु भनेर देखाउनेबाहेक अर्को कुनै काम हुन् सक्ला जस्तो लाग्दैन। 

तनावै तनावले भरिएको जीवनमा आफ्ना असफलताबाट वाक्क भएका मान्छेलाई प्राय: यस्ता हिंसा प्रधान सिनेमा निकै रुचिकर लाग्ने मनोविज्ञानका अध्यताहरुको निचोड छ। सायद यस्तै मान्छे यो सिनेमाको पनि लक्षित दर्शक हुनुपर्छ।

असफल सिनेमालाई नयाँ प्रबिधिले फेरि अर्को सिनेमा निर्माण गर्ने कार्यलाई सिनेमाको भाषामा ‘रिबुट’ गर्ने भनिन्छ। यो सिनेमा पनि सन् १९६२ मा प्रदर्शित  ‘गोडजील्ला एण्ड किंक कंग’ को ‘रिबुट भर्सन’ हो। यो सिनेमामा पनि पहिले जस्तै दुई काल्पनिक जीवको भिडन्त र त्यसको कारण मानवजातिलाई पर्न गएको नोक्सानी देखाइएको छ, जुन म जस्तो दर्शकलाई बकम्फुसे लाग्नसक्छ।

सिनेमाको कथा अनुसार स्कल नामक एउटा काल्पनिक टापुमा यी दुई अच्चमका प्राणिहरु एक आपसमा भिडन्त गरिरहन्छन्। र आफ्नै धुनमा मस्त मान्छेहरुलाई बिनाकारण दु:ख दिन्छन्। एक किसिमले सोच्ने हो भने आज दुई शक्तिशाली देशको बीच युद्द हुँदा गरिब देशका जनताले बिनाकारण दु:ख पाएको जस्तो यो सिनेमाको कथा छ। पुस्तौदेखिको दुश्मनी जस्तो पुरा सिनेमामा केवल युद्ध मात्र छ, अरु हेर्न लायक कुनै उप कथा छैन।

अलेक्जेन्डर स्क्र्यास गार्ड, मिल्ली बोबी ब्राउन, रिबिका हल जस्ता चर्चित कलाकारले अभिनय गरेको यो सिनेमामा मान्छे कलाकारको खासै काम छैन। लुसी एलनको नेतृत्वमा रहेको कला बिभाग र पिटर केलीको नेतृत्वमा रहेको स्पेशल इफेक्ट विभागमा रहेका दुई सय प्राबिधिकले तयार पारेको गोडजील्ला र किंक कंगको भिडन्त मात्र प्रमुख कथा हो। यस्तो सिनेमामा अन्य प्राबिधिकहरुको खासै काम नभए पनि निर्देशक एडम विनगार्ड, कथा टेरी रोसियो, माइकल डी र डैक शील्ड्स, पटकथा एरिक पियर्सन र म्याक्स बोरेनस्टीनको नाम देख्न भने सकिन्छ। जुन्की एक्सेलको चर्को संगीतले पुरा सिनेमा धानेको छ।

यदी तपाईंलाई चर्को संगीत, मुटु हल्लाउने स्टन्ट र स्पेसल इफेक्ट मनपर्छ भने एकपटक हेर्नु राम्रै हो तर संवेदनशील सिनेमा हेर्ने बानी परेको पंक्तिकार जस्तो दर्शकको लागि यो सिनेमा बेकार छ। करिब एक सय ६० मिलियन डलरको लागतमा निर्माण भएको यो सिनेमा कमसेकम मेरो लागि अर्थहीन छ।

प्रकाशित मिति: : 2021-04-03 17:00:00

प्रतिकृया दिनुहोस्