विश्व कप अगाडि इंग्ल्यान्डका प्रारम्भिक ब्याट्सम्यान जेसन रोयको खुब तारिफ भइरहेको छ। यसको कारण हो, शुक्रबार पाकिस्तानविरूद्ध उनले प्रहार गरेको सतकीय इनिङ।
रोयले पहिलो पल्ट एकदिवसीयमा सतक प्रहार गरेका होइनन्। तर, शुक्रबारको सतक विशेष थियो।
रोयको नवजात छोरी यतिबेला अस्पतालमा जीवनसँग संघर्ष गरिरहेकी छिन्। उनी शुक्रबार पाकिस्तानविरूद्ध चौथो एकदिवसीय अगाडि छोरीको हेरविचारका लागि अस्पतालमा थिए। उनी करिब २ घण्टा मात्र विश्राम गरेर एकदिवसीय खेल्न गएका थिए।
यस्तो अवस्थामा पनि उनले १ सय १४ रन बनाउँदै इंग्ल्याण्डलाई विजय दिलाए। उनी राती ७ घण्टा अस्पतालमा थिए। विहान घर फर्किने क्रममा उनले २ घण्टा मात्र विश्राम गरेका थिए।
रोयकी छोरी इभर्लीको जन्म यसै वर्ष मार्चमा भएको थियो। उनको विहिबार राती एक्कासी स्वास्थ्य विग्रिएको थियो। जसका कारण राती साढे १ बजे नै उनलाई अस्पताल भर्ना गर्नु परेको थियो।
रोय खेलभन्दा केही समय अगाडि मात्र मैदानमा पुगेका थिए। इंग्ल्यान्डले ३ विकेटले खेल जितेको थियो। इंग्ल्यान्डले ३–० ले शृंखला कब्जा गरिसकेको छ।
रोयले शनिवार यस कुराको रहस्य खोल्ने क्रममा भने, ‘मेरो तथा परिवारका लागि यो सतकले विशेष महत्व राख्ने छ।’
रोयको यो आठौं एकदिवसीय सतक थियो र पाकिस्तानविरूद्ध दोस्रो। रोयले करिअरको पहिलो सतक पनि पाकिस्तानविरूद्ध नै बनाएका थिए। उनको विशेष सतकीय इनिङमा ११ चौका र ४ छक्का प्रहार गरेका थिए।