विश्व कप क्रिकेट उपाधिको दावेदारी गरिरहेको भारतलाई पहिलो ‘वार्म–अप’ खेलमै न्युजिल्यान्डले स्तब्ध तुल्याएको छ।
शनिवार ओभल क्रिकेट मैदानमा भएको खेलमा भारत ६ विकेटले किवीसँग पराजित भयो।
टस जितेर पहिलो ब्याटिङ रोजेका कप्तान विराट कोहलीको निर्णय त्यतिबेला गलत सावित भयो, जब पुरै टिम ३९ दशमलव २ ओभरमा १ सय ७९ रनमा समेटियो।
भारतका ६ ब्याट्सम्यान दोहोरो अंक पनि नछुँदै आउट भए। भारतले २२ दशमलव ३ ओभरमा ९१ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो।
न्युजिल्यान्डले ३७ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै विजय लक्ष्य प्राप्त गर्यो।
एक सय रन नबनाउँदै ७ विकेट गुमाइसकेको भारतका लागि रविन्द्र जडेजा र भुवनेश्वर कुमारले सयको आँकडा पुरा गरेका थिए। जडेजाले कुलदीप यादवसँग मिलेर नवौं विकेटका लागि ६२ रनको साझेदारी नगरेको भए भारतको अवस्था यो भन्दा चिन्ताजनक हुन्थ्यो।
जडेजाले ६ चौका र २ छक्काको सहयोगले ५० बलमा ५४ रन बनाए। कप्तान कोहली १८, हार्दिक पाण्ड्या ३०, महेन्द्रसिंह धोनी १७ र कुलदीप यादवले १९ रन बनाए।
भारतलाई दबाबमा राख्न ट्रेन्ट बोल्ट र जेम्स निसामले खतरनाक बलिङ गरे। बोल्टले ४ विकेट लिए। निसामको नाममा ३ विकेट रहयो। ट्रेन्टले २ रनमा रोहित शर्मा, २ रनमा शिखर धवन, ६ रनमा केएल राहुल र १९ रनमा कुलदीप यादवलाई आउट गरेका थिए।
भारतको तर्फबाट जसप्रित बुमराले ४ रनमा कोलिन मुनरो, हार्दिक पाण्ड्याले २२ रनमा मार्टिन गुप्टेललाई आउट गर्दै प्रारम्भिक सफलता दिलाए पनि त्यो लामो समय टिक्न सकेन।
कप्तान केन विलियम्सन (६७) र रोस टेलर (७१) ले मिलेर तेस्रो विकेटका लागि १ सय १४ रनको साझेदारी गरेपछि भारतको अवस्था दयनीय बन्यो।
भारतले विश्व कपको पहिलो खेल दक्षिण अफ्रिकाविरूद्ध ५ जुनमा खेल्दैछ।