कोरोना प्रभाव- भाग १

तरकारी व्यवसायीहरुकाे दुखेसाे- ‘तरकारी कुहिएर यत्तिकै फाल्छौँ’

बागलुङका रामप्रसाद कँडेल पोखराको कृषि बजारमा तरकारी पसल गर्छन्।

२३ वर्षदेखि उनले यो पसल चलाइरहेका छन्। कोरोना कहरले अन्य पेशा, व्यवसाय ठप्प रहे। तर, रामप्रसादले भने तरकारी पसल कहिल्यै बन्द गर्नु परेन।

अत्यावश्यक सेवाअन्तर्गत पर्ने उनको व्यवसाय निषेधाज्ञा र लकडाउनमा समेत निर्वाध रुपमा चल्यो। बिना कुनै रोकतोक उनले व्यवसाय चलाउने अनुमति पाए। निषेधाज्ञाको समयमा पनि निश्चित समय तोकेर प्रशासनले पसल सञ्चालन अनुमति दियो। यद्यपि, व्यापार भने पहिले जसरी फस्टाउन सकेन। बिक्रिका लागि ल्याइएका तरकारी यत्तिकै खेर गए।

कोरोना कहरले सटर खोलेर राख्ने मात्रै काम भएको उनले बताए। ‘अझैं पनि राम्रोसँग गाडी खुलेको छैन। बाहिर सामान गइरहेको छैन। लकडाउनमा त खाली खोलेर, उँघारेर मात्रै बस्ने तथा माल मगाउने, कुहाउने फाल्ने भयो,’ उनले गुनासो पोखे।

ठूलो खरिदकर्ताहरु होटल, पार्टी प्यालेस र होस्टेल बन्द हुँदा तरकारी खरिद घटेको उनले सुनाए। ‘होस्टेलहरुमा जान्थ्यो। होस्टेल पनि सबै बन्द छन्। हाम्रो त व्यापार धराशायीमा छ। कुहाएर फाल्नु परेको छ,’ उनले भने। व्यापार नभए पनि दिन कटाउने बाटो मात्रै भएको पनि उनले सुनाए।

पर्साका विष्णुलाल चौधरी पनि ग्राहक आउने बाटो हेर्दै बसेका छन्। ०६१ देखि कृषि बजारमा पसल थापेर बसेका चौधरी निषेधाज्ञाले व्यापार घटेको बताउँछन्। कोरोना कहरका कारण मान्छेहरु पसलसम्म आउन पनि डराउने गरेको उनले बताए।

उनी जस्तै कृषि बजारका सयौं व्यापारी अहिले ग्राहक आउने बाटो कुरेर बसेका छन्। बिहानैदेखि तरकारी किन्न आउने ग्राहकको भीड लाग्ने यो बजार अहिले सुनसान छ। घरेलु प्रयोगका लागि खपत हुँदै आए पनि होटल, रेष्टुरेष्टहरु बन्द हुँदा व्यापारमा घाटा आएको व्यवसायीहरु बताउँछन्।

अहिले कोभिड-१९ विरुद्धको खोप अभियानमा पनि चलिरहेको छ। कोभिड-१९ खोप अभियानअन्तर्गत कृषि बजार भित्रका दुई सय व्यवसायीले खोप लगाइसकेका छन्।

कृषि बजार व्यवस्थापन समितिका निमित्त व्यवस्थापक महेन्द्रसिंह थापाले विशेष सुरक्षा सतर्कता अपनाएर व्यवसाय गरिएको बताए।

अत्यावश्यक सेवा भित्रको कृषि बजार भित्र छिर्नेलाई मास्क प्रयोग अनिवार्य गरिएको छ। छिमेकी मुलुक भारतबाट पनि ठूलो मात्रामा तरकारी आयात हुने भएकाले संक्रमित हुने जोखिम उच्च छ।

कृषि बजार अत्यावश्यक सेवा भित्रमा पर्ने भएकाले कुनै पनि दिन बजार बन्द नगरेको उनले बताए। ‘प्रशासनले भने अनुसार हामीले बजार कुनै पनि दिन बन्द गरेनौं, महानगरले पनि यो अत्यावश्यक सेवाअन्तर्गत पर्छ भनि सकेपछि पहिलो लकडाउनमा समय छोट्याएर गर्‍यौं। दोस्रो लकडाउन गर्दा समयलाई कति पनि छोट्याएनौं, व्यवसायीलाई पनि बजारभित्र नबसी बाहिर बस्ने, गाडीलाई पनि बाहिरै राखेर दैनिक कारोबार भयाे,’ उनले भने, ‘ग्राहकलाई अप्ठ्यारो नहुने गरि मुल्यवृद्धिका कुराहरुलाई म्यानेज गरेर चलाएको अनुभुति छ।’

केही व्यवसायीले मुल्य बढाएको गुनासो गरे पनि समाधान भइसकेको उनले बताए। मंगलबार बजार परिसरका दुई सय ३० व्यवसायीलाई खोप लगाइएको उनले सुनाए।

सिंगो बजारका माग साढे छ सय रहे पनि पूरा नभएको उनले बताए। हाल कृषि बजारमा एक सय ५५ स्टलहरु छन्। यी मध्ये तरकारीका ६४, फलफूलका ६३, आलू प्याजका १४ स्टल रहेका छन्।

आलू, प्याजलाई तरकारीको रुपमा समावेश गरिएको छैन। निषेधाज्ञाको समयमा पनि आलू,प्याजको माग भने नघटेको उनले बताए। ०७७/७८ असार मसान्तसम्मको तथ्यांकमा कृषि बजारमा २९ हजार ९९ सय दशमलव ५३ मेट्रिक टन तरकारी खपत भएको छ।

यस्तै फलफूल १९ हजार ६ सय ९२ दशमलव १ सय ६५ मेट्रिक टन खपत भएको छ भने आलु प्याज ९ हजार ६ सय २३ दशमलव  २ सय ७४ मेट्रिक टन खपत भएको छ। कुल ५८ हजार ४ सय १४ दशमलव ९ सय ६९ मेट्रिक टन तरकारी, फलफूल र आलु, प्याज ११ महिनामा खरिद बिक्री भएको छ।

कृषि बजारमा स्थानीय उत्पादन पनि किनबेच हुन्छ। किसान समूहका लागि बजारले अरु व्यवसायीभन्दा २५ प्रतिशत कम भाडा दरमा नाै सटर दिएको छ। पोखरा उपत्यका नगर विकास समितिको जग्गाभित्र रहेको कृषि बजारले मासिक आम्दानीको १७ प्रतिशत भाडा तिर्दै आएकाे छ।

प्रकाशित मिति: : 2021-08-19 19:27:00

प्रतिकृया दिनुहोस्