भारत–पाकिस्तान खेलको टिकट ४८ घण्टा भित्रै विक्रि

Agency

भारत–पाकिस्तानबीच विश्व कप क्रिकेटअन्तर्गत १६ जुनमा आयोजना हुने खेलको टिकट ४८ घण्टा भित्र नै विक्रि भएको छ। 

एसियाका यी दिग्गज टिम २५ हजार दर्शक क्षमता भएको म्यानचेस्टरस्थित ओल्ड ट्राफोड मैदानमा खेल्दैछन्।

यो खेललाई सन् २०१९ विश्व कपको सबैभन्दा रोमाञ्चक खेलको रुपमा परिभाषित गरिएको छ। केही महिनाअघि भारतीय भूभागमा रहेको कश्मिर नजिकै पुलवामामा आतंकवादी हमला भएपछि भारत र पाकिस्तानको सम्बन्ध निकै खराब छ।

भारतले पाकिस्तानी आतंकवादीले पुलवामामा हमला गराएको भन्दै उसँग क्रिकेट सम्बन्ध राख्न आनाकानी गर्दै आइरहेको थियो। पुलवामा हमलामा ४० भारतीय सुरक्षाकर्मीको हत्या भएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले दिएको जानकारी अनुसार भारत–पाक खेल हेर्न ४ लाखले निवेदन दिएका थिए।

पछिल्लो विश्व कपको तुलनामा यसपालि भारत–पाकबीच खेलको टिकट विक्रिमा केही समय लागेको हो। गत विश्व कपमा १२ मिनेटमै सबै टिकट विक्रि भइसकेको थियो।

यसपालि भारत–पाकिस्तानबीच तिक्त बनेको सम्बन्धका कारण दर्शकहरू टिकट किन्न असमञ्जसमा थिए।

त्यही पनि टिकट विक्रिमा कुनै कमि नआएकोमा आइसिसी यतिबेला दंग छ।

विश्व कपमा भारत र पाकिस्तानबीच ६ वटा खेल भएका छन्। यी सबै खेलमा भारतले पाकिस्तानलाई पराजित गरिसकेको छ।

भारतले पछिल्लो ६ विश्व कपमा ५ पल्ट पहिले ब्याटिङ गर्दै खेल जितेको थियो। एक पल्ट रन पछ्याउने क्रममा भारत विजयी भयो।

पाकिस्तानले यसपालि पछिल्लो सबै विश्व कपको बदला लिने दावी गरेको छ। पाकिस्तानी टिमका छनोटकर्ता इन्जमाम उल–हकले भारतलाई जितेर पाकिस्तानले इतिहास रच्ने आशा व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2019-05-27 08:36:14

प्रतिकृया दिनुहोस्