नेपाललाई स्वर्णपदक जितेर पाकिस्तानको कीर्तिमान बराबरी पुर्‍याउने अवसर !

सन् १९८४ मा नेपालबाटै सुरु सागमा नेपालले फुटबलमा स्वर्ण जितेको थियो। त्यसपछि सागको ३५ वर्षे इतिहासमा नेपालले थप दुई पटक स्वर्ण जितेको छ। यहीबीचमा पाकिस्तानले सर्वाधिक चार पटक साग फुटबलमा स्वर्ण जितेको छ।

नेपालमै भइरहेको १३ औं साग फुटबलमा स्वर्णपदक जितेर पाकिस्तानको कीर्तिमान बराबरी पुर्‍याउने अवसर नेपाललाई छ। नेपालले सन् १९९३ र सन् २०१६ मा पनि फुटबलमा स्वर्ण जितेको थियो।

पाकिस्तानसँगै अन्तिम समयमा भारत पनि नआएपछि यस पटक राउण्ड रोविनका आधारमा फुटबलका खेलहरु भएका थिए। जसमा नेपाल र भुटान लिगको पहिलो, दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन्। नेपाल लिगमा अपराजित थियो भने भुटानले नेपालसँग मात्र हारेको थियो।

समूह चरणको नतिजा र घरेलु मैदान र दर्शकको फाइदा नेपाललाई फाइनलमा हुनेछ। त्यसैले यस पटक फुटबलमा स्वर्ण जित्ने सबैको अपेक्षा छ।

नेपाल कहिले–कहिले फाइनलमा?

१९८४– नेपाल ४–२ बंगलादेश

१९८७– भारत १–० नेपाल

१९९३– नेपाल २–२ भारत (४–३ पेनाल्टी)

१९९९– बंगलादेश १–० नेपाल

२०१६– नेपाल २–१ भारत

२०१९– नेपालविरुद्ध भुटान (मंगलबार)

यस्तै, पाकिस्तान र भारतपछि नेपाललाई पनि सागमा लगातार दुई स्वर्ण जित्ने अवसर छ। भारतले सन् १९८५ को दोस्रो र सन् १९८७ को तेस्रो सागमा स्वर्ण जितेको थियो। पाकिस्तानले १९८९ को चौथो र १९९१ को पाँचौं संस्करण जितेको थियो। पाकिस्तानले सन् २००४ को नवौं र सन् २००६ को दशौं संस्करण पनि लगातार स्वर्ण जितेको थियो।

पाकिस्तानले सर्वाधिक ४ स्वर्ण जित्दा नेपाल र भारतले समान ३ स्वर्ण जितेका छन्। यस पटक स्वर्ण जितेमा नेपालले पाकिस्तानको कीर्तिमान बराबरी गर्नेछ।

भुटान भने पहिलो पटक साग फुटबलको फाइनल पुगेको हो। नेपाललाई हराउन सके भुटानले ऐतिहासिक स्वर्ण जित्नेछ। यस्तै, श्रीलंका र माल्दिभ्सले पनि अहिलेसम्म स्वर्ण जित्न सकेका छैनन्।

अहिलेसम्म साग फुटबलमा स्वर्ण जित्ने टिम

१९८४ : नेपाल
१९८५ : भारत
१९८७ : भारत
१९८९ : पाकिस्तान
१९९१ : पाकिस्तान
१९९३ : नेपाल
१९९५ : भारत
१९९९ : बंगलादेश
२००४ : पाकिस्तान यू-२३
२००६ : पाकिस्तान यू-२३
२०१० : बंगलादेश यू-२३
२०१६ : नेपाल यू-२३

प्रकाशित मिति: : 2019-12-10 14:42:11

प्रतिकृया दिनुहोस्