डिस्को काण्डः सहिद स्मारक ए डिभिजन लिग पनि गुम्यो (भिडियोसहित)

तस्बिर:एजेन्सी

अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाही गरेका चार खेलाडीले सहिद स्मारक ए डिभिजन लिगको सुरुवाती खेल गुमाउने भएका छन्। गत कार्तिक २९ गते शुक्रबार ठमेलस्थित लन्च वारमा भेटिएका स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनश राजवंशीले लिगका सुरुवाती खेल गुमाउने भएका हुन्।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा अहिलेलाई उनीहरुको कारबाही यथावत रहेको कारण सुरुवाती खेल गुमाउने जानकारी दिए। ‘अनुशासन समितिले काम गरिरहेको छ।’ एन्फा अध्यक्ष शेर्पाले भने ‘समितिको निर्णय आएपछि उनीहरुले खेल्ने वा नखेल्ने विषयमा पक्का हुनेछ।’

उनले लिगलाई थप व्यवस्थित गर्ने काम चलिरहेको कारण अनुशासनका कुनै छुट नदिइने बताए। ‘खेलकुदमा अनुशासन बिशेष अनुशासन हुनुपर्छ। राष्ट्रिय खेलाडी मात्रै होइन कल्बका खेलाडी पनि अनुशासनमा बस्नुपर्छ। हामीले थप अनुशासन कायम गर्न आगामी दिनमा बिभिन्न प्रशिक्षण दिने कार्यक्रम समेत संचालन गर्ने तयारी थालेका छौं।’ उनले बिएल नेपाली सेवालाई भने।

यसो त कारबाहीमा परेका चारै जना खेलाडीलाई कस्तो कारबाही गर्ने भन्ने उनले कुनै कुरा खुलाएनन्। कारवाहीमा परेको खेलाडीलाई म्याच फिक्सिङको समेत अनुसन्धान भइरहदा उनीहरुको १३ औं दक्षिण एसियाली खेलकुद (साग) र विश्वकप छनोटमा अन्तर्गतको कुवेतविरुद्धको खेलमा समेत समाबेश गरिएको थिएन्। सागका लागि टिममा परेका अञ्जन, विमल र दिनेश राजवंशीलाई टिमबाट निकालेर उनीहरुको स्थानमा राजेश परियार, प्रिजन तामाङ र राजिब लोप्चाङलाई टिममा बोलाइएको थियो। त्यति बेला एन्फाले सागपछि बैठक बसेर निर्णय गर्ने बताएको थियो तर हालसम्म पनि निर्णय हुन् सकेको छैन्।

के भएको थियो?

विश्वकप छनोटमा कुवेतविरुद्धको खेल खेल्ने नेपाली टोलीका सदस्यहरुलाई एन्फाले ललितपुरको कुपन्डोलस्थित सांग्रीला ब्लु होटलमा राखेको थियो। कार्तिक २९ गते शुक्रबार साँझ करिब साढे ६ बजेतिर विमलसहितका चार खेलाडी मोटरसाइकलमा त्यहाँबाट निस्किएका थिए। उनीहरुको मोटलसाइकल ठमेलतिर हुँइकियो। त्यसपछि उनीहरु झण्डै ५–६ घण्टासम्म हराए, होटल फर्किएनन्।

भोलिपल्ट बिदाई कार्यक्रम थियो। तर, मुख्य खेलाडीहरु नै राति अबेरसम्म गायव हुँदा टोलीका अन्य सदस्यहरु पनि आश्चर्यमा परेका थिए। भोलिपल्ट उनीहरुलाई टोलीबाट बर्खास्त गरिएपछि सबै घटना बाहिर आयो।

प्रशिक्षक योहान कालिनले अघिल्लो रातको घटनाक्रमबारे बताएपछि एन्फाका महासचिव इन्द्रमान तुलाधार, कार्यबाहक अध्यक्ष पंकज नेम्बाङ तथा उपाध्यक्ष कृष्ण थापाले विदाईअघि सबै खेलाडीलाई अलग–अलग राखेर शुक्रबार रातिको घटनाबारे जानकारी लिएका थिए।

उक्त सोधपुछमा खेलाडीहरुले आफ्नो बचाउमा पदाधिकारीहरुसँग रातभरि ठमेलमा घुमेको स्वीकार्दै मोटरसाइकल दुर्घटनामा चोट लागेको बताएका थिए।

‘बिहानसम्म पनि उनीहरुबाट मदिराको दुर्गन्ध आइरहेको थियो। अनुहारमा पनि चोट देखिन्छ। राति होटलबाट गएर गायब भएका थिए,’ एक पदाधिकारीले बिएल नेपाली सेवासँग भने, ‘सबै पक्ष हेर्दा उनीहरु घुमेर मात्रै फर्किएको कुनै पनि हालतमा पुष्टि हुँदैन। उनीहरुले त्यहाँ मदिरा सेवन गरेको तथा झैझगडा गरेको पनि शंका गरिएको छ।’

विमल र अन्जनले यसअघि पनि मापसे सेवन गरि एन्फा एकेडेमीमा पनि यसअघि होहल्ला गरेका थिए। सीसीटिभीबाट त्यो पुष्टि भएपछि उनीहरुलाई त्यसबेला एन्फाले सचेतमात्रै गराए छाडेको उक्त पदाधिकारीले जानकारी दिए।

अब के हुन्छ त?

यसरी राति डिस्कोमा गएको, मदिरा सेवन गरेको आरोप लागेका कारण एन्फाले खेलाडीलाई टिमबाटै हटाउने कडा कदम चालेको यो पहिलो पटक हो। तर के कारवाही गर्ने एन्फासँग प्रष्ट नियम छैन।

यसका साथै उनीहरुमाथि म्याच फिक्सिङका विषयमा पनि अनुसन्धान भइरहेको एन्फाले बिएल नेपाली सेवालाई बताएको छ। फिफाले नै कुवेतविरुद्धको खेलको १५ दिन अगाडि एन्फाका इन्टिग्रेटेड अफिसरलाई पत्र पठाएको थियो।

तर, त्यति बेला सामान्य रुपमा लिइए पनि पछिल्लो पटकको व्यवहारले उनीहरु यो शंकाको घेरामा परेका हुन्। भुटानमा भएको विश्वकप छनोटको दोस्रो चरणको खेलमा पनि कुवेतले थिम्पु रंगशालामा सबै टिकट किनेर भुटानीलाई दिने प्रयास गरेको थियो। तर, अन्तर्रा्िष्ट्रय मान्यताअनुसार पाहुना टिमले केही प्रतिशत मात्र टिकट खरिद गर्न पाउने नियम भएकाले उनीहरु पछि परेका थिए।

नेपाल र भुटानमा खेल्न नचाहने कुवेतले खेललाई आफ्नो पक्षमा पार्न जे पनि गर्न सक्ने आंशकका कारण कतै त्यो जालमा उनीहरु पनि परेका छन् वा छैनन् भन्ने अनुसन्धान भइरहेको छ। जसका लागि उनीहरुको बयान लिइएको छ भने सबै तथ्यहरुको खोजी भइरहेको छ।

एन्फाले काठमाडौंमा रहेका पदाधिकारीहरु, अनुशासन समिति, रेष्टुरेन्ट सञ्चालकलाई बोलाएर यस विषयमा छलफल गर्ने भएको छ। त्यसबाट आएको निष्कर्षका आधारमा थप कारवाही प्रक्रिया अघि बढाउने एन्फा स्रोतले बताएको छ।

 एन्फाका पदाधिकारीहरुमाथि नै शंका

खेलाडीमाथि अनुशासनको कारवाही गर्ने एन्फाका पदाधिकारीहरुमाथि नै शंका उब्जिएको छ।

एन्फाका केही जिल्ला संघहरुले पदाधिकारीमाथि शंका गर्दै पत्र लेखेको एन्फालाई मंसिर ३ गते एक पत्र लेखेका छन्। काठमाडौँ, ललितपुर, भक्तपुर र धादिङ्गका जिल्ला फुटबल संघ अध्यक्षहरुले संयुक्त पत्र लेखेका हुन्।

उनीहरुले पत्रमा लेखेका छन्, ‘विश्वकप छनौटका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु रातको समयमा होस्टेल बाहिर गई मदिरा सेवन तथा अन्य क्रियाकलापमा सहभागी भएको घटनाले दुःखी बनाएको छ। विश्वकप छनौट जस्तो महत्वपूर्ण समयमा खेलाडीहरु रातको समयमा होस्टेल बाहिर हुनु, उनीहरुलाई स्पष्टिकरण बिना तत्काल कारवाही गरिनु साथै सो टिमका व्यवस्थापक तथा सरोकारवालाहरुलाई सोधपुछ समेत नगरिनु आफैमा आश्चर्यजनक रहेको छ।’

जिल्ला फुटबल संघ काठमाडौँका अध्यक्ष विराट जंग शाही, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुरका अध्यक्ष गौतम सुजखु र धादिङ्गका अध्यक्ष दीपक खतिवडाले हस्ताक्षर गरेको पत्रमा लेखिएको छ, ‘यो विषयलाई लिएर सरोकारवाला तथा सञ्चारमाध्यममा म्याच फिक्सिङ्ग जस्तो गम्भीर आरोपहरु उब्जिएको हुँदा एन्फाले सो विषयमा प्रशिक्षक, टिम व्यवस्थापक तथा होस्टेलका जिम्मेवार व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याउनुले एन्फाका जिम्मेवार पदाधिकारी नै यसमा संलग्न भएको हो कि भन्ने जस्तो देखिएको छ। यसले गर्दा एन्फाले आफ्नो धारणा स्पष्ट पार्नु पर्छ।’

पत्रमा उल्लेख छ, ‘एकातर्फ नेपाली भूमिमा विश्वकप छनौट खेल हुन नसक्नु अर्कोतर्फ खेलाडी यस प्रकारका गलत गतिविधिमा भेटिनु जस्ता कार्यले नेपाली फुटबल झनै बदनाम हुनु अत्यन्तै दुःखद हो। यस प्रकारको गम्भीर निर्णय र अवस्थामा एन्फाका जिम्मेवार व्यक्तिहरु मौन बस्नुलाई सामान्य मान्न सकिँदैन। तसर्थ एन्फाले आफ्नो धारणा स्पष्ट पार्नु पर्छ र खेलाडीसँगै अरु जिम्मेवार व्यक्ति तथा पक्षलाई पनि कारवाही गर्नु पर्छ।’

प्रकाशित मिति: : 2019-12-13 11:51:12

प्रतिकृया दिनुहोस्