पल शाह प्रकरण

पल शाह प्रकरण : कानूनी अस्पष्टताले निम्त्याएकाे उल्झन

फाइल तस्विर
फाइल तस्विर

विवादको चरम उत्कर्षमै पुगेकाे अभिनेता पल शाह र एक नाबालिग गायिकाको प्रकरणले यतिबेला सामाजिक सञ्जाल भरिभराउ छ। रंगीचंगी बनेको छ।

घटनाको अनुसन्धान पनि प्रहरीभन्दा युट्युबरहरूले बढी गरेकोजस्तो देखिन थालेको छ। हुँदा–हुँदा वातावरण नै यस्तो आइपुगेको छ कि अब फैसला पनि अदालतबाट होइन, टिकटिकबाटै हुनेछ।

केही स्थापित कलाकार, पत्रकार, कानुन व्यवसायी, दर्शकहरु पनि यतिबेला कोही कलाकार शाहको पक्षमा उभिएका छन् भने कोही पीडित नाबालिग गायिकाकाे समर्थकमा उत्रिन थालेका छन्।

शाहका समर्थकहरुले त, खुल्ला रुपमै नाबालिग गायिकाले उनलाई फसाउन खोजेकोसमेत टिप्पणी गर्न थालेका छन्। यदि शाहले जबरजस्ती करणी गरेको भए पनि नाबालिग गायिकाले त्यतिबेलै किन जाहेरी दिइनन् भन्ने उनीहरुको तर्क छ। घटना भएको लामो समय बितिसक्दा पनि अहिले बल्ल जाहेरी दिनुले योजनाबद्ध रुपमै शाहलाई फसाउन खोजेको उनीहरुको शंका छ। 

पीडित नाबालिग गायिकाका समर्थकहरुले पनि शाहले जसरी पनि सजाय पाउनैपर्ने टिप्पणी गरिरहेका छन्। विवाहको प्रलोभन देखाएर सम्बन्ध राख्ने र आफ्नो स्वार्थ पूरा भएपछि टाढिन खोज्ने शाहको प्रवृतिमाथि नै उनीहरुको प्रश्न छ।

नाबालिग करणीको अदालती इतिहास

मुलुकी अपराध संहिता ०७४ को दफा २१९ लाई आधार मान्ने हो भने १८ वर्ष नपुगेकी नाबालिगसँग सहमतिमै सम्बन्ध राखे पनि अपराध नै ठहरिन्छ।

यसअघि देशका विभिन्न ठाउँमा घटेका नाबालिग करणीकोे अदालती फैसला पनि स्पष्ट नै छ, १० वर्षदेखि १४ वर्षसम्मको जेल सजाय।

पल शाहले नवराजहरूलेझैँ दण्ड भाेग्न सक्छन्

ती पुराना घटनालाई नजिर मान्ने हो भने शाहले पीडित नाबालिग गायिकासँग कहीँकतै यौन सम्बन्ध राखेको प्रमाणित भएमा मात्रै पनि करिब १४ वर्षको जेल सजाय हुनेछ। चाहे त्यो सम्बन्ध सहमतिमा राखिएको होस् या असहमतिमा। यसले कुनै प्रभाव पार्ने छैन।

त्यसो त शाह यतिबेला गैँडाकोटस्थित प्रहरी हिरासतमा छन्। पीडित नाबालिग गायिकाले अन्तिप पटक त्यहीँ ठाउँमै सम्बन्ध राखेको भन्दै जाहेरी र बयान दिएपछि थप अनुसन्धानको लागि शाहलाई गैँडाकोट लगिएको हो। 

अस्पष्ट कानूनः दुई वर्ष यौन अभ्यास गर्ने हो ?

यसअघि पनि नेपालमा नाबालिग करणीको घटना नभएको भने होइन। तर, ती घटनाहरुले सामाजिक सञ्जालमा यसरी ठाउँ पाएका थिएनन्, जत्तिको यो घटनाले पायो।

यस घटनाका पीडक र पीडित दर्शकहरुबीच अलि बढी चर्चित भएकै कारण पनि यसले गतिलै ठाउँ पाएको अनुमान लगाउन सकिन्छ। 

यो घटना सतहमा आएपश्चात अपराधसम्बन्धी नेपालको कानून फितलो भएको पनि स्पष्ट हुँदै गएको छ। 

१८ वर्ष पुगेपछि मात्रै नाबालिग नरहने र २० वर्ष पुगेपछि मात्रै विवाह गर्न पाइने मुलुकी अपराध संहिता ०७४ का दफाहरुमा बृहत् र गम्भीर अध्ययन नै नगरेर कानून निर्माण गरिएको सामाजिक अभियन्ता हरि उदासी बताउँछन्। केही दिनअघि उनले दिएको एक अन्तर्वार्तामा उनले यसबारे टिप्पणी गरेका हुन्।

‘१८ वर्ष पुगेपछि मात्रै नाबालिग नरहने कानून पनि हुन्छ ?’, उनले प्रश्न गरे,‘उसो भए बिहे गर्ने न्यून्तम उमेर पनि १८ वर्ष पनि नै तोकिनुपर्छ, २० वर्षकै उमेर हुनुपर्ने किन ?’

नेपालमा फितलो कानूनकै कारण महिला तथा युवतीहरुमाथि हुने करणीका घटनाहरुले तत्काल निकासा पाउन नसकेको उनको जिकिर छ।

उनले भने,‘कानून संसोधन गर्नुपर्छ, नत्र अन्योल भइरहन्छ। नाबालिगको उमेर तोक्नु भनेको अप्रत्यक्ष रुपमा उनीहरु १८ वर्षपछि यौन सम्बन्ध गर्नसक्छन् भन्ने हो। तर, बिहेको लागि फेरि २० वर्ष तोकेर अर्को अन्यौलता थपिएको छ। युवतीहरुले यौन अभ्यास सिकुन् भनेर बीचको दुई वर्ष ग्याप राखिएको हो?’

अस्पष्ट कानूनले गर्दा पीडितहरुले झन् पीडा पाउने उनको दाबी छ।

प्रकाशित मिति: : 2022-03-11 20:10:00

प्रतिकृया दिनुहोस्