नेपालले दुई बर्षमा ३६ एकदिवसीय सिरिज खेल्ने

फाइल तस्बिर: बिएल

नेपालले दुई बर्षमा ३६ एकदिवसीय सिरिज खेल्ने भएको छ।

बुधबार काठमाडौं सम्पन्न आईसीसीको प्रतिनिधि मण्डल र क्यानको बैठकमा सन् २०२२ को डिसेम्बरसम्ममा नेपालले ३६ खेल खेल्ने सहमति भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग–२ मा रहेर नेपालले ७ देशसँग ३६ सिरिज खेल्न लागेको हो। लिग–२ मा नेपालसहित नामिबिया, ओमान, पपुवा न्युगिनी (पिएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन्।

आइसिसीले जनाएअनुसार एक सिरिजमा ६ एकदिवसीय खेल हुनेछन् भने एक टिमले चार खेल खेल्नेछ। प्रत्येक टिमले साढे २ वर्षको बीचमा ३६ वटा खेल खेल्नेछन्।

जसमा पहिलो त्रिकोणीय सिरिज १४ अगस्टमा स्कटल्यान्डमा हुनेछ। जहाँ स्कटल्यान्ड, ओमान र पिएनजीले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले भने पहिलो सिरिज घरेलु मैदानमा खेल्नेछ। कीर्तिपुरस्थित टियु मैदानमा हुने सिरिजमा नेपाल, अमेरिका र ‌ओमानबीच खेल हुनेछ।

अध्यक्ष चन्दले भने, ‘खर्चलगायत विषयले धान्ने अवस्था आयो र आईसीसीले प्रस्ताव स्वीकार गरेको अवस्थामा नेपालले होम र अवे गरेर दुई बर्षका ३६ खेल नै खेल्ने छ।’

नेपालसँग खेल्न बङलादेशको ए टिमले पनि खेल्ने इच्छा देखाएको उनले बताए। 

२३ वर्षदेखि क्रिकेट खेलिरहेको नेपालले गत चैतमा एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो। साउनमा नेदरल्याण्ड्सँग उसको घरेलु मैदानमा दुई म्याच एकदिवसीय सिरिज खेल्यो। त्यसपछि अहिले यूएईसँग तीन म्याचको सिरिज खेल्यो।

लगातार दुई टुरपछि नेपाललाई होम सिरिज दिनुपर्ने दबाव आईसीसीलाई पनि छ।

यता लिग नभएसम्म मैदानमा कुनै पनि प्रतियोगिता नगर्न आईसीसीले नेपाललाई ताकेता गरेको छ। त्रिवि मैदानमा सुरक्षाको विषयमा आइसिसीले निकै चासो देखाएको छ। त्यसैले सरकारले सुरक्षाको विषयमा आइसिसीलाई विश्वस्त तुल्याउनु पर्नेछ। भौतिक पूर्वाधार निर्माणमा पनि सरकारले नै काम गर्नु पर्छ। क्यान निलम्बनको अवस्थामा राष्ट्रिय राखेपले बजेट छुट्याएर काम गरे मात्र मैदानले एकदिवसीय सिरिज खेलाउन पाउने छ।

मैदानको पिच निकै पुरानो भइसकेको छ। एकदिवसीय खेलका लागि पिच नै पुनर्निर्माण गर्नुपर्ने हुनसक्छ। ३० यार्ड र आउट फिल्ड पनि राम्रो छैन। प्लेयर बक्स त छ तर, पर्याप्त पूर्वाधारहरु बनाइएको छैन।

आउट फिल्ड निकै कडा छ। रिप्लान्ट गरेर त्यसलाई नरम बनाउनुपर्छ जस्तो देखिएको छ।  मैदानमा अस्थायी रुपमा गर्नुपर्ने कामहरु पनि छन्। तर, मुख्य त पिच पुनर्निर्माण र आउट फिल्डमा रिप्लान्ट गर्न निकै मेहनत गर्नुपर्ने हुन्छ।

यसका लागि क्यानले २०/३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ।

यसअघि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मैदान मर्मतका लागि मन्त्रालयले नै ताकेता गर्ने बताएका थिए। उनले एकदिवसीय खेल नेपालमै खेलाउन लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए तर अहिलेसम्म कुनै काम अगाडि बढेको छैन्।

यसरी हुनेछ विश्वकप छनोट
लिग–२ होम एन्ड अवेका आधारमा हुनेछ। प्रत्येक टिमले २ वर्षको बीचमा ३६ खेल्नेछन्। लिग–२ का उत्कृष्ट ३ टिम आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा छनोट हुनेछन्। पुछारका ४ टिम आइसिसी क्रिकेट विश्वकप छनोटको प्लेअफ प्रतियोगितामा धकेलिनेछन्।

विश्वकप क्रिकेट लिगको सबै डिभिजन हटाएको आइसिसीले १२ राष्ट्रको लागि आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग आयोजना गर्नेछ। २ समूहमा हुने प्रतियोगितामा बर्मुडा, क्यानडा, डेनमार्क, हङकङ, इटाली, जर्सी, केन्या, मलेसिया, कतार, सिंगापुर, युगान्डा र भानुआटुबीच प्रतिस्पर्धा हुनेछ। दुई वर्ष चल्ने यो लिगबाट २ टिम विश्वकप छनोटको प्लेअफ प्रतियोगितामा पुग्नेछन्।

२०२२ मा हुने प्लेअफमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। प्लेअफबाट २ टिम विश्वकप छनोट प्रतियोगितामा पुग्नेछन्।

विश्वकप छनोटमा प्लेअफका २ टिम, लिग–२ को ३ टिम र आइसिसी क्रिकेट विश्वकप सुपर लिगका पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।

त्यसअघि आइसिसी क्रिकेट विश्वकप सुपर लिगमा सन् २०२२ मै १३ टिम प्रतिस्पर्धा हुनेछ। सुपर लिगमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका, पाकिस्तान, वेस्ट इन्डिज जिम्बावेबीच प्रतिस्पर्धा हुनेछ। उत्कृष्ट ८ टिम सिधैं विश्वकपमा पुग्नेछन्। ५ टिमले छनोट खेल्नेछन्।

छनोटमा १० टिमबीच भिडन्त हुनेछ। जहाँबाट २ टिम विश्वकपमा पुग्नेछन्। यसरी ४ वर्षको छनोट खेलेका १० टिमले भारतमा २०२३ मा आयोजना हुने विश्वकपमा भिड्नेछन्।

नेपालले खेल्ने त्रिकोणीय सिरिजको तालिका

पहिलो सिरिज 
नेपाल, अमेरिका र ओमान 
२०२० फेब्रुअरी ५ देखि १२ सम्म – कीर्तिपुर मैदान

दोस्रो सिरिज 
नेपाल,नामिबिया स्कटल्यान्ड

२०२० अप्रिल २० देखि २७ सम्म – नामिबिया

तेस्रो सिरिज 
पिएनजी, युएई, नेपाल 
२०२० जुन ९ देखि १६ सम्म – पिएनजी

चौथो सिरिज 
स्कटल्यान्ड, नेपाल र नामिबिया
जुन २०२० - भेन्यू तय हुन बाँकी

पाँचौ सिरिज 
नेपाल, अमेरिका र ओमान 
जनावरी २०२१ - भेन्यू तय हुन बाँकी

छैटौं सिरिज 
नेपाल, युएई र पिएनजी 
फेब्रुअरी २०२१ - भेन्यू तय हुन बाँकि

सातौं सिरिज 
अमेरिका, नेपाल र ओमान 
अगस्ट २०२१ – भेन्यू तय हुन बाँकी

आठौं सिरिज 
नेपाल, नामिबिया र स्कटल्यान्ड 
नोभेम्बर २०२१ - भेन्यू तय हुन बाँकि

नवौं सिरिज
युएई, पिएनजी र नेपाल 
जनावरी २०२२ - भेन्यू तय हुन बाँकी

 

 

प्रकाशित मिति: : 2019-12-14 14:02:49

प्रतिकृया दिनुहोस्