ब्यङ्ग

कतिमा बेचिने?

राजीव घिमिरे

काठमाडाैं

एक अर्बमा किन्न खोज्दा पनि नबेचिने महंगा मान्छे पनि रहेछन्, हाम्रो नेपालमा। नेपाल नबनेको तिनिहरू बाहेक अरू सस्ता मान्छेले गर्दा हो। यत्रो ‘अफर’ मलाई भएको भए! 

मेरो जागिरको गुनासो भनेकै कोही पनि मलाई किन्न आएनन्। मेरो मूल्य कति हो थाह नै नपाइ जागिर छोडेँ। मेरो ‘इनिसियल प्राइसिङ’ नै थाह भएन।

यो किनिने र बेचिने कुरा दुई जनालाई मात्र थाह हुने भएको हुनाले उसको वास्तविक मूल्य कति हो? अरूलाई थाह नै नहुने। त्यसैले म ‘अर्बमा पनि बेचिइन’ भन्दा कम्ता फूर्ति हुन्छ र!  ‘मार्केट’ मा ‘भ्यालू’ एक्कासी उक्लनसक्छ। पहिले ‘म’ बाहिर समाज थियो। त्यसैले आफ्नो ‘ब्राण्डिङ’ इमानदार, लगनशील, मिहिनेती भनेर गर्नपर्थ्यो। अब ‘म’ बाहिर समाज छैन। मार्केट मात्र छ। त्यसैले इमानदारीलाई पनि ‘मार्केट’ कै भाषामा भन्नु पर्ने हुन्छ, ‘कति रुपैयाँको इमानदारी?’ 



दयाहाङ र बुद्धिसँगको भेटपछि फेरिएको विजयको यात्रा [भिडियोवार्ता]



यसैले म सोच्दै छु, ‘मार्केट’ मा मेरो तगडा उपस्थिति देखाउन कतिसम्म मेरो मूल्य राख्दा ठिक हुन्छ भनेर। अरूले पत्याउन पनि पर्‍यो, मैले नै म अर्बमा पनि बिकिन भनिदिनु भएन। त्यसो भनेमा हाल अर्बमा पनि नबिक्ने तगडाहरूले कतिमा बिकिन भन्ने? उनीहरूलाई गाह्रो पर्नसक्छ। त्यसैले अलि कम मूल्य राख्ने विचारमा छु।

एउटा दलालले इमानदार छवि भएको कर्मचारीलाई भनेछ, ‘यो काम गरिदिनुभयो भने म एक लाख टक्य्राउँछु।’ कर्मचारीले साफै गाली गरेर अफिसको कोठाबाट निकालेछ। भोलिपल्ट दलाल उहाँको घर मै पुगेछ, ‘हजुरले यो काम गरिदिनुभयो भने ७० करोड टक्य्राउँछु।’ 

कर्मचारीले दायाँबायाँ हेरेर भनेछ, ‘कसैले थाह त पाउँदैनन्?’ अनि दलालले भनेछ, ‘मलाई बिक्री हुन्छ कि हुन्न भनेर मात्र जान्नु मात्र थियो। बिक्री हुने रहेछ। अब कतिमा बेचिने हो। खास कुरा गरौं!’

‘म अरू जस्तो बेचिने मान्छे हैन’ भनेर कसैले फुर्ति दियो भने म पत्याउँदिन। कसैले ‘म हालसम्म बेचिएको छैन’ भन्यो भने मात्र पत्याउँछु। किनभने हालसम्म सायद मूल्य नपाएर नबिकेको होला, मूल्य पाएपछि बेचिन तयार भइहाल्छन् कि त्यस्ताहरू। कुनै मान्छे बेचिन्छ कि बेचिन्न भन्ने कुरा उसले मौका पाएको बेलामा आफूलाई बेच्यो कि बेचेन भन्नेबाट थाहा हुन्छ। ‘मौका र मूल्य’ नै नपाएकाले म बेचिन्न भनेमा मेरो लागि गफ गरे जस्तै मात्र हो।



जनवादी गायक भन्छन्– कमरेडहरू गाडीमा सरर... (भिडियो)



सबैको आ-आफ्नो बिक्री मूल्य हुन्छ रे। कोही नगदमा बिक्री हुन्छन्। कोही आश्वासनमा, कोही डर र त्रासमा। तर, अरू कुनै कुरामा पनि बिक्री नहुने मान्छे चाहि प्रशंसामा बिक्री हुन्छ रे। ‘हजुर त कस्तो इमानदार मान्छे !’ भन्नाले मात्र पनि बिक्री हुन के बेर, किन्नेका लागि त झन् सित्तैमा!
त्यसैले कसैले आफ्नो नबेचिने मूल्य राख्यो भने उ ‘मार्केट’ मा बेचिने बस्तु हो भन्ने बुझ्नुपर्ला। पिसाब फेर्न मनाही छ भनेको ठाउँमा लुकेर पिसाब फेर्न मिल्ने रहेछ भन्ने बुझे जस्तै। अब निकट भविष्यमा किनबेचको मौसम सुरु हुँदैछ। किनबेचको ठूलो ‘मार्केट’ पनि खुल्दैछ। एउटा विशाल बजार नै, बेचिनेले पनि जनाउ त दिनुपर्‍यो नि। म पनि बेचिन तयार छु भनेर अब वास्तवमा कतिमा बेचिने भनेर त बार्गेनिङले बताउँला।

प्रकाशित मिति: : 2021-03-06 16:20:00

प्रतिकृया दिनुहोस्