'हटारुको देश' मा एउटी परी

तस्वीर सौजन्य: शिवानीसिंह थारू/फेसबुक

संसारकाे पहिलाे सञ्चार माध्यमकाे ख्याति अहिले पनि उस्तै छ। सञ्चारकाे विकास राम्राे भएको थिएन। एफएम रेडियाेको जन्म नभएकाे समयमा, नेपालका आमनागरिकलाई रेडियाे सुन्ने इजाजत थिएन तर पनि संसारभर घन्किरहेथ्याे बीबीसी। कुनैबेला त्यही बीबीसीमा काम गर्थिन उनी। 

चैत २३ को एकाबिहानै कारागारको वरपर खुब चहलपहल थियो।कहिलेकाहीँ मात्र केही मान्छेकाे लागि केही समय मात्र खुल्ने चेनगेट त्यो दिन भने सबैका लागि खुला भयो। गेटदेखि भित्र गुफाजस्तो अध्याराे गल्ली छ। त्याे पार गर्ने बित्तिकै चारैतिर अग्लो पर्खाल, त्यसमाथि काँडेतार छन्।काँडेतारसहितको पर्खालमुनि अनेक परिबन्धले बर्सौदेखि घेराबन्दीमा परेर जीवनको अध्यारोमा दिन कटाइरहेका कैदीबन्दीहरुको लागि स्वतन्त्रताको अनुभूति दिलाउन आएहेकी थिइन् उनी।

उनको फिसिक्क फुस्केकाे मन्द मुस्कानकाे जवाफ सयाैं मधुर मुस्कानले दिदै हृदयकाे विछ्याैनामा पुष्पगुच्छाले स्वागत गरिरहेथे उनीहरु। 

त्यसाे त उनी कुनै सपनाकी राजकुमारी थिइनन्। वायुपंखी घाेडामा सवार भएकी परी पनि होइनन्। तर, रियल लाइफकी माेडल भने थिइन् उनी। अनुहार, रुपरंग, चालढाल सबै उहीँ सपनाकी परीजस्तै। 

एक स्थापित कलाकार, माेडेल, कथा, नाटक, स्क्रिप्ट, उपन्यासलगायत विधामा नाम चलेकी लेखिका।निर्देशन अनि अभिनय दुबै गरेकी।यी सबैबाट परिचित एक बहुप्रतिभाशाली प्रतिभा थिइन उनी। 

केही समयअघि कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाह जुम्ला कारागारका कैदीबन्दीलाई भेट्न आए। कैदीबन्दीका समस्या बुझ्न आएका शाह उनीहरुसँगै बसे। आ वश्तायकताको अनुभूत गर्न खाेजे। कैदीबन्दीका माग धेरै देखिएनन्। उनीहरुमध्ये केहीले भने 'हामीलाई पढ्ने पुस्तककाे अभाव छ। पुस्तककाे व्यवस्था गरिएको भए।'

माग धेरै ठुलाे थिएन।तर, महत्त्वपूर्ण थियाे। कैदीबन्दीका ती कुराले पढ्ने लेख्ने कार्यमा निकै अगाडि रहेका शाहकाे मन छाेयाे। दिमागमा क्लिक गरेझैं भयाे।त्यहाँबाट फर्किएपछि पनि उनलाई जुम्लाका कैदीबन्दीको मागले साेचमग्न बनायो। 

दिमाग खेलाउदै जाँदा एउटा आइडिया फुर्याे। जुम्लामा मात्र हाेइन, अब कर्णाली प्रदेशका सबै कारागारमा पुस्तकालय खाेल्नुपर्छ। त्यसपछि उनकाे पहलमा 'कारागारलाई किताब' मार्फत पुस्तक संकलन अभियान सुरु भयाे।अभियानको लागि एउटा नारा तय भयाे। 'बन्दीहरुकाे अर्काे जीवन कहाँ छ? त्याे जीवन कितावमा छ।'उक्त अभियानले झण्डै २१ लाख बराबरको किताब संकलन गर्न सक्याे।अभियानलाई सफल बनाउन बनेका समिति र उपसमितिका माध्यमबाट आठ हजार तीन सय ८८ पुस्तक संकलन भए। 

तस्वीर: महेश नेपाली/जुम्ला

प्रदेश प्रहरी प्रमुखको संयोजकत्वमा गठित मूल समितिले चार हजार दुई सय ८२ पुस्तक र जिल्लास्थित प्रहरी प्रमुखको संयोजकत्वमा गठित उपसमितिले चार हजार हजार एकसय ६ पुस्तक संकलन गरे। 

अब भने गज्जबकाे याेजना बन्याे देशका स्थापित लेखक तथा साहित्यकारहरुलाई कारागार पठाउने। यही क्रममा वरिष्ठ साहित्यकार सनत रेग्मी, वरिष्ठ उपन्यासकार एवम् कथाकार नयनराज पाण्डे, कुमार नगरकोटी, अमर न्याैपाने, उमा सुवेदी, अर्चना थापा, सुविन भट्टराई, युग पाठक, शिवानीसिंह थारू, नवराज पराजुली, शेखर खरेल, कुमारी लामा, कथाकार रामलाल जोशी सबै एकैदिन कारागार पुर्याइए- कारागारमा पुस्तकालय स्थापनाका लागि।

यही 'कारागारमा पुस्तकालय' अभियानलाई सार्थक तुल्याउन जुम्ला कारागार पुगेकी थिइन् उनी अर्थात् शिवानीसिंह थारु। 

पहिलाेपटक चैत २२ गते जुम्ला विमानस्थलमा पाइला टेक्दा बाल्यकालमा जुम्लालाई लिएर बनाएको धाराणा बदलिदै थियाे।पृथ्वीनारायण शाहकाे राज्य विस्तार अभियान पूर्व शक्तिशाली जुम्ला राज्यकाे राजधानी किन याे 'हटारुकाे देश'मा भन्ने लागिरहेको थियाे।

बाल्यकालमा जुम्ली भन्ने बित्तिकै 'हटारु' याद आउथ्याे। हाट जानेलाई 'हटेरु' भनिन्छ। तर, जुम्लीहरु 'हटारु' भएका थिए। हटारु भनेकाे हाेच्याउन प्रयाेग हुने शब्द हाे। जसले फाेहाेर, कमजाेर, खान नपाएका आदिकाे संकेत गर्छ। हाट जाने जुम्लीलाई 'हटारु' भनियाे। शक्ति संरचनामा बलियाेले निर्धाेलाई हेपिरहन्छ। त्यसैकाे परिणाम थियो- 'हटारु।'

हेपाइकाे पाराे यतिसम्म बढ्छ जसले उनीहरूको व्यक्तित्वलाई खुइल्याउने, उनीहरूको पहिचान स्वीकार नगर्नेसम्म हुन्छ।यसकाे लामाे श्रृंखला नै छ। यसरी प्रयाेग हुने शब्दले शक्तिशाली र शक्तिहीनबीचको सम्बन्ध देखाउँछ। यही शक्ति संरचनाले निर्माण गरेकाे धारणाले शिवानीसिंह थारुकाे मानसिकतामा हमला गर्न भ्याएकाे थियाे।

तर, हवाईजहाजको सिसाबाट अवलाेकन गर्दैगर्दा त्याे बाल्यकालकाे धाराणा बदलिन थाल्छ। जुम्लाकाे भूगाेलले एकाएक तान्छ। यसबारे अनेक कथाहरु बुन्न थाल्छ दिमागले।

त्यही 'हटारुकाे देश'मा मान्छेका अनुहारमा आद्रताकाे कमीले बसेका काला दाग। चाया परेकाे नाक। घन्टाैंकाे कामले बालीबैंसै चाउरिएकाे छाला। जतिसुकै चाउरिएकाे भएपनि कालाे नाककाे मुनि टलक्क टल्केकाे बुलाखी संसारकै सुन्दरमध्ये एक लाग्न थाल्छ।

हुन त नाक कानमा लगाउने गहना, गलामा लगाउने पाेते र माला।खुट्टामा लगाउने कल्ली। सिन्दुर।यी सबै मातृसत्ताकाे हारपछि महिलालाई गरिएकाे बन्धनका प्रतीक हुन। यिनैमा पनि सुन्दरता खाेज्ने प्रयास गरिन् शिवानीले।

२३ गते बिहान कारागारकाे कार्यक्रममा सहभागी भइन्। त्यहाँका कैदीबन्दीलाई सक्दाे अध्ययनमा उत्साहित हुन सुझाइन्। आफ्ना कयौं अनुभूतिले उत्प्रेरित गराइन्। पुस्तकबाट संसार नियाल्न आग्रह गरिन्। आत्मियता र सामिप्यताले ओतप्राेत भावनालाई उर्जाशील बनाउँदा जीवन सार्थक हुने निश्कर्ष सुनाइन्।

उनका प्रत्येक शब्ले कैदीबन्दीकाे उत्साह उम्लेर किताबसम्म पुग्थ्याे। त्यसैमा कारागारका कैदी दलबहादुर कार्कीले भने, 'पुस्तक अध्ययनले ज्ञान मात्र होइन, सकारात्मक सोचको विकास हुँदो रहेछ, हामीले अहिले किताबमै स्वतन्त्रतासहितको नयाँ संसार भेट्न थालेका छौ।' उनले शिवानीकाे उपन्यास 'काठमाडौंमा एक दिन'काे समीक्षासमेत गर्न भ्याए।

करिब दुई घण्टा कैदीबन्दी, प्रत्रकार र उनीबीच भएकाे छलफलमा अध्ययन, लेखन र पुस्तकबारे काफी चर्चा भयाे। जेलमा बसेकाे बेला धेरै व्यक्ति लेखक भएकाे कुराले सबैकाे मन छाेयाे।विशेश्वरप्रसाद काेइरालाले लेखेका सबै उपन्यास जेलभित्रै लेखिएका थिए। अन्य धेरै मान्छे जेलबाटै लेखक बनेका कति उदाहरण छन् कति।

त्यसैले कारागार यातनागृह हाेइनन्। न त हिटलरका जस्तै कन्सल्टेसन क्याम्प नै। सन् १९६२ मा चीन र भारतबीच भएकाे युद्धमा भारत हारेपछि चीनले थुनामा राखेका कैदीबन्दीलाई जेलमा राम्राे वातावरण दियाे। पछि चीनले मुक्त गरेपछि उनीहरुले भारत फर्केर आन्दाेलन नै चलाए 'भारतमा पनि कैदीबन्दीलाई गरिने व्यवहार राम्राे हुनुपर्छ' भनेर।

बाल्यावस्थामा शिवानीकाे मानसिकतामा शक्ति संरचनाले निर्माण गरेकाे धारणा उनले बीबीसीबाट प्रसारण हुने नाटक 'कथा मिठाे सारंगीकाे'मा जुम्लाकी 'जाेवनाकाे कथा' नजिकबाट नियाल्दै गर्दा पनि केही बदलिसकेकाे थियाे।'त्यसमा जुम्ली लवजले सबैभन्दा बढी छाेएकाे,' उनलेे भनिन 'याे लवज सबभन्दा मिठाे छ। समय आयाे भने यसबारे लेख्न मन छ।याे 'हटारुकाे देश' हाेइन।' 

उनी भन्छिन् 'अब जुम्लाकाे मिलेकाे भूगाेल फिल्मका सुन्दर दृश्य बनाउँन काम लाग्छन्। याे भूगाेललाई एक उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिन्छ।'

त्यसमा म एउटा थपिदिन्छु- यहाँकाे उत्पादन श्रमकाे आधारमा शिक्षा दिने र त्यससँग सम्बन्धित उद्याेग खाेलिनुपर्छ। पर्यटन व्यवसायबाट जाे प्रत्यक्ष संलग्न छन् तिनले मात्र फाइदा पाउँछन्। ठुला हाेटलमा बिक्री हुने महंगाे रक्सी स्वदेशी भएन भने पर्यटकले दिएकाे पैसा घुमाइफिराई विदेश जान्छ। यसबाट बिचाैलिया बाहेक राज्यले नाफा लिन सक्दैन। राज्यले नाफा लिनकाे लागि उत्पादन आफ्नाे हुनुपर्छ।

उनले पनि यो कुरालाई हैन भन्न सकिनन्।

(चैत २२ गते जुम्ला पुगेकी शिवानीसिंह थारुसँगकाे कुराकानीमा आधारित लेख।)

प्रकाशित मिति: : 2019-04-11 07:00:48

प्रतिकृया दिनुहोस्