निर्वाचन विशेष

एजेण्डाविनै जनतासँग भोट माग्दै उम्मेदवार

BreaknLinks
BreaknLinks

प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि आउने मंसिर ४ गते निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाताता भेटघाटमा व्यस्त हुन थालेका छन्। आफ्ना एजेण्डा भनेर गाउँ-गाउँ पुगेका उम्मेदवारहरुले मतदातातालाई आफ्नो पक्षमा आकर्षित गर्न जोडबल गरिरहेका छन्।

तर जनतामाझ पुगेका दाङका उम्मेदवारहरुले खास एजेण्डा नै लगेका छैनन्। अहिले एजेण्डाविना नै उम्मेदवारहरु भोट मागिरहेका छन्। खास विकास निर्माणका एजेण्डाभन्दा पनि कसरी जनताको सेन्टिमेन्ट आफूतिर पार्न सकिन्छ भन्ने कसरतमा उम्मेदवारहरु छन्।

दाङबाट प्रतिनिधिसभाका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा छन्। प्रतिनिधिसभाका लागि तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा ४३ जना उम्मेदवार भए पनि विशेष गरेर पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ।

तीव्र प्रतिस्पर्धा हुने गठबन्धन र एमालेका उम्मेदवार नै अहिलेसम्म खास एजेण्डा लगेर जनतामाझमा पुग्न सकेको देखिँदैन। उनीहरु जनताको सेन्टिमेन्ट कसरी क्याच गर्न (पकड्न) सकिन्छ र आफूतिर जनताको मत पार्न सकिन्छ भन्नेमा बढी कोशिस गरेको देखिन्छ।

आफ्नो विकास निर्माणको एजेण्डाभन्दा पनि गठबन्धनका उम्मेदवारहरुले प्रतिगामी शक्ति र एमालेका उम्मेदवारहरुले अपवित्र गठबन्धन शक्ति भन्नेमा नै समय खर्चेको पाइन्छ। गठबन्धनबाट उम्मेदवार भएकाहरुले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसद विघटन गरेको प्रति प्रहार गर्दै प्रतिगमन परास्त पार्ने मुल एजेण्डा नै बनाएका छन्।

उनीहरुले सामाजिक सञ्जालमा प्रचारका रुपमा राखेको एजेण्डामा प्रतिगमन परास्त गर्ने मुख्य एजेण्डा रहेको देखिन्छ। खासमा उम्मेदवाहरु निर्वाचनका समय आफ्नो कार्यकालमा यो चाहिँ गर्ने छु भनेर चुनावी घोषणा पत्र लगेर जनतामाझ जानुपर्ने हो। तर उम्मेदवाहरु घोषणा पत्रभन्दा पनि जनता भेटघाट र एकले अर्कोलाई आरोप लगाएर मत मागिरहेका छन्। जुन सामाजिक सञ्जालमा छरपस्ट भएको छ।

दाङ चुनावी गठबन्धन भन्ने फेसबुकबाट माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादीका उम्मेदवारको प्रचारप्रसार गरिएको छ। उक्त फेसबुकमा उम्मेदवारको चुनावी घोषणा पत्र कतै पनि देखिँदैन। भिडियो बनाएर जनताको सेन्टिमेन्ट क्याच गर्न खोजिए पनि भिडियोमा मात्र ‘प्रतिगमन विरुद्ध’ भन्ने एजेण्डा रहेको छ।

प्रतिगमनलाई नै परास्न गर्न उम्मेदवारहरु भोट मागिरहेका छन्। एउटा भिडियोमा भनिएको छ, ‘यसपालिको चुनाव, चुनाव मात्र होइन र गठबन्धन चुनाव जित्नका लागि मात्र पनि होइन। आउँदै गरेको मंसिर ४ फेरि भोट हाल्न मात्र त हुँदै होइन। यो चुनाव व्यवस्था नै सिध्याउन खोज्ने शक्तिलाई परास्त गर्ने अवसर हो। यो चुनाव संविधान नै समाप्त पार्न खोज्ने शक्तिलाई समाप्त पार्ने चुनाव हो। यो चुनाव विगतको चुनावहरुभन्दा भिन्न छ। यो चुनाव भोट हालेर एउटा युद्ध जित्ने अवसर हो। तपाईंको यो भोट निर्णायक छ, प्रतिगमनका विरुद्ध। त्यसैले आउँदै गरेको मंसिर ४ गतेको चुनावमा बाम लोकतान्त्रिकका साझा उम्मेदवारलाई विजयी गराउँ।’

गठबन्धनबाट निर्वाचन क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणि चौधरी, २ बाट माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेखा शर्मा र क्षेत्र नम्बर ३ बाट कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरी उम्मेदवार रहेका छन्। यी तीनै जना उम्मेदवारहरुको अहिलेसम्म चुनाव केन्द्रीत कार्यक्रम थुप्रै भए पनि चुनावी घोषणा पत्र भने देखिएको छैन।

मेटमणि चौधरीलाई त झन निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरणसमेत सोधेको छ। शनिबार मतदातातालाई चामल बाँडेको भन्दै उनीलाई आयोगले स्पष्टीकरण सोधेको हो।

यस्तै एमालेका उम्मेदवारहरुले पनि चुनावी गतिविधि गरेको भए पनि उनीहरुको चुनावी घोषणा पत्र देखिएको छैन। क्षेत्र नम्बर १ बाट एमालेकी केन्द्रीय सदस्य शान्ता चौधरी, २ बाट महासचिव शंकर पोखर र ३ बाट केन्द्रीय सदस्य कोमल वली चुनावी मैदानमा छन्।

महासचिव पोखरेलको चुनावी कार्यक्रम खासै देखिएको छैन। उनी उम्मेदवारी दर्तापछि काठमाडौंमा नै रहेका छन्। तर चौधरी र वलीको चुनावी कार्यक्रमअन्तर्गत मतदाताता भेटघाट सुरु भइसकेको छ। भेटघाट कार्यक्रम सुरु भइसके पनि उनीहरु घोषणा पत्र विना नै मतदातातासँग भोट मागिरहेका छन्।

मतदातातालाई आकर्षण गर्न फोटोदेखि भिडियो सामाजिक सञ्जालमा देखाएका उनीहरुले घोषणा पत्र के हो भन्ने अहिलेसम्म सार्वजनिक गरेका छैनन्। तर पनि मतदातासँग भेटघाट गर्न दौडधुपमा छन्।

उम्मेदवारहरु सहि कुराभन्दा पनि चुनावमा जनतालाई आकर्षित गर्न के गर्ने भन्नेमा नै केन्द्रित रहेको नागरिक समाज दाङका संयोजक केवी मशाल बताउँछन्। उम्मेदवारहरुले बाचा पुरा नगर्दा जनता पूर्ण रुपमा आक्रोशित रहेको र उम्मेदवार जनताको आक्रोशलाई कसरी मत्थर गर्न सकिन्न भन्नेमा विभिन्न बहानाहरु बनाएर चुनाव केन्द्रित गतिविधि गरिरहेको संयोजक मशालको बुझाइ छ।

चुनाव जितेका नेताहरुले विकासका मुद्धाहरु तहसनहस बनाएको बताउँदै मशालले अहिले फेरि त्यही पुरानै एजेण्डा जनतामा लगेर जान डराइरहेको बताए। कतिपय उम्मेदवारलाई घोषणा पत्र बनाएर चुनाव प्रचारमा जाँदा त्यसको जवाफ दिनसमेत कठिन हुने जनाए।

संयोजक मशालले नेताहरु सुध्रने प्रतिबद्धता जनतामा गर्नुपर्ने र उनीहरु सुध्रनु पर्ने भनाइ राखे। उनले विगतको जस्तो राजनीतिक दलका नेता देखेपछि जनता उत्साहित हुनुपर्ने अवस्था नरहेको बताए।

प्रकाशित मिति: : 2022-10-16 22:10:00

प्रतिकृया दिनुहोस्