फोक्सुण्डो यात्रामा लेखकहरु

तस्बिरः बिएल

साहित्यिक पर्यटन र संस्कृतिकर्मीको सम्मान

डोल्पा–मुलुकका चर्चित लेखकहरुले कर्णाली प्रदेशको डोल्पामा अबस्थित फोक्सुण्डो ताल क्षेत्रको पदयात्रा गरेका छन् । पर्यटन प्रवद्र्धन गर्न उनीहरुलाई पर्यटनकर्मी युवाहरुको संस्था कन्सेप्ट नेपालले पदयात्रा गराएको हो ।

‘फोक्सुण्डो काव्य–यात्रा २०७६’ नाम दिइएको पदयात्रा अभियान असार ७ गते सुरु भएको थियो । उनीहरु असार १२ गते फोक्सुण्डो पुगेका थिए । डोल्पाको सुलिगाडसम्म गाडीमा पुगेका लेखकहरु त्यहाँबाट तीन दिन पदयात्रा गरेर फोक्सुण्डो पुगेका हुन् । पदयात्रा सकेर काठमाडौं फर्कने क्रममा उनीहरु डोल्पाको जुफाल आइपुगेका छन् ।


काव्य यात्रीहरुले फोक्सुण्डो झरना, बोन गुम्बाहरु, रिंग्मो र पुग्मो गाउँ र तालको भ्रमण गरेका छन् । फोक्सुण्डोमा पहिलोपटक भएको काव्य यात्राका सहभागीले ताल किनारमा कविता तथा गीत वाचन गरेका थिए । उनीहरुलाई पदमार्गमा तापिरिचा माविले स्वागत गरेको थियो । उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीले नाचगान गरेका थिए भने काव्य यात्रीले आफ्ना रचना सुनाएका थिए ।

काव्य यात्रामा लेखकहरु अभय श्रेष्ठ, भूपिन, सागर उदास, गनेस पौडेल, हेमन यात्री, दिपेन्द्रसिंह थापा, हेमन्त विवश, देवेन्द्र बस्न्यात, चन्द्र काफ्ले, सुरेन्द्र राना, कृष्णबहादुर नेपाली, कमल खत्री, बिष्णुप्रसाद देवकोटा, सेम्दुक लामा र अमृत भादगाउँले सहभागी छन् ।


यात्राको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ भने सहयोगीहरूमा शे–फोक्सुण्डो गाउँपालिका, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, एक्सप्लोर डोल्पो टेक्स एण्ड एक्सपिडिसन, डेष्टिनेशन डोल्पो ट्राभल एण्ड टेकिङ कम्पनी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र थासुङ छोलिङ गुम्बा लगायत छन् ।

काव्य यात्राका संयोजक अमृत भादगाउँलेका अनुसार चाँडै फोक्सुण्डोको वृतचित्र, बुकलेट र पुस्तक प्रकाशन गरिने छ ।

संस्कृतिकर्मी सम्मानित

पदयात्रा आयोजक कन्सेप्ट नेपालले गाउँमा बसेर स्थानीय लोकसंस्कृतिको उन्नयनमा योगदान दिँदै आएका चार जना कलाकारलाई नगद दश हजार रुपैयाँ सहित फोक्सुण्डो काव्य सम्मान प्रदान गरेको छ । उनीहरुलाई ताल किनारमा आयोजित कार्यक्रममा सम्मानित गरिएको हो ।


यसरी सम्मानित हुनेहरुमा टुङ्नाबादक एवं गायक निमा लातार बैजी, लोकगायिकाहरु नाम्दाक लामा, होइसेर डोल्मा बैजी र काष्ठकलाका गुरु एवं समाजसेवी सेम्दुक आङक्याल रोकाया छन् ।

सम्मानित हुनेहरुको छनोट शिक्षासेवी सेम्दुक लामाले गरेका हुन् । सम्मानित भएपछिको खुसीमा गायिकाहरु लामा र बैजीले लोकगीत गाएका थिए भने उनीहरुलाई बैजीले टुङ्ना बजाएर साथ दिए । जीवनमै पहिलोपटक सम्मान पाएपछि उनीहरुले हर्षका आँसु चुहाए ।


कार्यक्रममा थासुङ छोलिङ गुम्बाका प्रमुख लामा खेन्पो सेम्दुक निमा, शे–फोक्सुण्डो गाउँपालिका वडा नं ८ का अध्यक्ष निमा लामा, धार्मिक गुरु लोटेइ लामा, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष फूर्वा तेन्जिङ बुढाले सम्मानपत्र र नगद हस्तान्तरण गरेका थिए । साथै आयोजक संस्थाका सदस्य देवेन्द्र बस्न्यातले खादा लगाएर सम्मान गरेका थिए ।

कृष्णबहादुरका चित्र

काव्य यात्रामा सहभागी नुवाकोटका कलाकार कृष्णबहादुर नेपालीले फोक्सुण्डो तालमा पुगेर केही चित्र बनाएका छन् । सम्मान कार्यक्रममा उनले एउटा चित्र प्रदर्शन गरेका थिए । केही समय पछि कृष्णबहादुरले बनाएका चित्रहरु काठमाडौंमा प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: : 2019-06-30 19:13:27

प्रतिकृया दिनुहोस्