विक्रम पवन परियार
फूलमती !
चिनी कम
रङ कडा
थाेरै कागतीकाे रस मिसाएर
एक कप चिया राखिदेऊ टेबुलमा।
आकाशकाे मैदानबाट
एक झुप्पा कपासकाे सेताे फूल टिपेर
सिउरीदिनु छ फूलमतीकाे चुल्ठाेमा।
मैले हेर्ने
त्याे आकाश हाे या नदीकाे छाती
म भ्रममा छु
जसै याे आँखा पनि भ्रममा छ।
केराउकाे दानाजस्ताे गाेलाे- घाम हाे ?
या मेराे आमाले बुनिदिएकाे परालकाे चकटी हाे
विहानकाे कलिलाे घाम ताप्दै
तानमा हतासाे तान्दै गरेकाे हात
चिया पसलमा चिया दिने मेरै फूलमतीकाे हातजस्ताे देख्छु
म भ्रममा छु
जसै भ्रममा छ मैले देखेकाे आफ्नै जिन्दगी।
शिशिरमा उदाएकाे घामकाे जवानी
र उनकाे ओठमा पाेतिएकाे गुराँसकाे राताे रङ
सम्झिँदा पनि -
याे सुख्खा खेतकाे आली भत्काएर
बाहिरीन खाेज्छ उत्तेजनाकाे कामुक मुहान।
झ्यालकाे सिसामा चिप्लेटी खेल्दै गरेकाे शीतकाे थाेपा
र फूलमतीकाे आँखाकाे ढिस्काेबाट चुहिने आँसुफूल
एउटै हत्केलामा थापिदिने हाे भने
फरक छुट्याउनै सकिन्न जीवनकाे गहिराइ।
फूलमती,
जाे आगाेसँग खेल्छे
र पगाल्छे ताप्केमा राखेर याैवनकाे चास्नी।
फूलमती,
जसलाई याैवन बेचेर सिंगार्नु छैन चिया पसल।
फूलमती,
जाे मलाई प्रेम गर्छे
चिया दिने बहानामा केही त भनाेस् भन्ने लाग्छ
तर भन्न लजाउँछे/सर्माउँछे
जसरी सर्माउँदै निदाउँछ साँझ।
याे सहर,
हिजाेभन्दा अझ बढी उज्यालाे भएकाे छ
कारण फूलमतीकाे चिया पसल
यही सहरकाे याैटा चाेकमा छ
जहाँ म,
हरेक दिन जाने गर्छु चिया पिउने बहानामा
फूलमतीकाे अर्गानिक अनुहार हेर्न।
हुलाकी दाई,
एकछिन् पर्खनुस् !
जूनकाे उज्यालाेमा बसेर
लेख्दैछु हृदयकाे पानाभरि याैटा प्रेमपत्र
जसकाे ठेगाना खामकाे दायाँपटी लेखिदिएकाे छु,
यत्ति कष्ट गरिदिनुस् मेरालागि
फूलमतीकाे चिया पसलमा गएर
राखिदिनु चिया गिलासकाे छेउमा मेराे अनुहार
जहाँ मेरी फूलमती,
चियादानीले चियापत्ती छान्दै बसेकी छे।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया