संस्कृतिको संरक्षणमा भूमेको निरन्तरता

तस्बिरः बिएल

खावाङ बगर, भूमे-२, रुकुम (पूर्व)

अठार मगरात क्षेत्रको महान पर्व भूमेको अवसरमा आयोजित परम्परागत सांस्कृतिक प्रतियोगिता अन्तर्गत दोस्रो संस्करण भव्य रूपमा सम्पन्न भएको छ।

‘स्थानीय भाषा संस्कृतिको संरक्षण गरौं’ भन्ने मुल नाराको साथ असार २ देखि ५ गतेसम्म भूमे गाउँपालिका रुकुम (पूर्व) को केन्द्र खावाङबगरमा चलेको थियो।

स्थानीय मौलिक कला तथा संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्न भन्दै खुला अन्तर गाउँ सांस्कृतिक प्रतियोगिता आयोजना गरिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए।

मौलिक कला तथा संस्कृति संरक्षण तथा सम्वर्धन गर्ने र नयाँ पुस्तालाई हस्तान्तरण हुनाले यस्ता कार्यक्रममा गाउँपालिकाले सहयोग गर्दै आएको अध्यक्ष बुढाले बताए।

 मगर खाम भाषी बाहुल्यता रहेको रुकुम (पूर्व) को भूमे गाउँपालिकाका प्रायः सबै गाउँ, पुथा उत्तर गंगा गाउँपालिका, पूर्वोत्तर रोल्पा जिल्लाको थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिकालगायतका क्षेत्रहरुमा भूमे पर्व असार पहिलो साता धुमधामले मनाईन्छ।

यसमा आफन्तहरू भेटघाट हुने, टाढा टाढा बसोबास गरेका गाउँ फर्किएर साथी भाइसँग भेटघाट गर्ने गर्छन्।

भूमे पर्व अठार मगरात क्षेत्रका मगर समुदायको  सबैभन्दा ठूलो चाड पनि हो। प्रकृतिपूजक यस क्षेत्रका बासिन्दाले  धुमधामले असार १ गतेदेखि हप्तादिन सम्म पर्व मनाउने गर्छन्।

पर्व सुरू हुने अघिल्लो दिन नजिकका लेकमा युवा युवतिहरू फूल टिप्न गएर, लेकमा धुप हालेर पूजा गरेर आर्को दिन नाच्दै गाउँदै गाँउ फर्किन्छन् र विधिवत रुपमा पर्व सुरु हुन्छ।

भूमे पूजामा जमिनको पूजा गर्ने चलन छ, यसलाई स्थानीयले भूम्या पूजा या बल पूजा पनि भन्ने गर्छन्।

हिउँदे बाली भित्र्याएको खुसी र बर्खेबालीमा कुनै हानी  नहोस् भनेर भूम्या पूजा गरिन्छ। साथै बाढीपहिरो जस्ता दैवी प्रकोप  नआओस् भनेर भूमेथानमा भेडा या सुंगुरको बलि चढाउने चलन छ।

कार्यक्रमका आयोजक संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुमका अध्यक्ष पहलसिंह घर्ती मगरले यस्ता किसिमका कार्यक्रमले स्थानीय संस्कृतिको जगेर्ना गर्न सहयोग पुर्‍याउने र भूमे गाउँपालिकले सह्रानीय काम गरेको र अन्य स्थानीय सरकारले पनि अनुसरण गर्नुपर्ने बताए।

हराउन थालेको लोक लोक संस्कृतिको जगेर्ना गर्न भन्दै भूमे गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत चन्द्र सिंह श्रेष्ठले छरिएर रहेका सांस्कृतिक नाँच, सांस्कृतिक प्रतियोगिता मार्फत थप परिस्कृत गर्ने र आन्तरिक पर्यटन प्रवर्धन गर्ने बताए।

‘पुरानो पुस्तासँग भएको ज्ञान सिप, संस्कृतिलाई नयाँ पुस्ताले सिक्ने, अनुशरण गर्ने अवसर प्रदान गर्ने एउटा थलोको रूपमा विकास गर्ने ठाउँ भूमे हो,’ उनले भने।

३ दिन सम्म चलेको प्रतियोगतामा भूमे नाच प्रतिस्पर्धा तर्फ थबाङ गाउँपालिका प्रथम भयो। धर्मशाला, भूमे-७ द्वितिय र क्याङसी, भूमे-३ तृतिया भए। त्यस्तै सीमा, भूमे-३ सान्तावना हुन सफल भए।

भूमे नाचका अन्य सहभागिहरुमा लुकुम, भूमे -१, महत , भूमे -६, खाबाङ भूमे-२ र काँक्री, भूमे -२ थिए।
मयुर नाँच तर्फ चुन्वाङ, भूमे -९ प्रथम भए भने कोर्जा, भूमे -८ द्वितिय र खाबाङ, भूमे २ तृतिय र सान्तवना पुरस्कारमा लुकुम, भूमे -१ भए।

नचारू टोलि तर्फ क्याङसी, भूमे-३ प्रथम, सीमा, भूमे ३ द्वतिय, र  थबाङ तृतिय भए।

झोरेलनी तर्फ भूमे ६ , महत र भूमे ३, सीमा क्रमश प्रथम र दोस्रो भए।

पैशरु तर्फ रुन्ची, भूमे ६ प्रथम, रिसाल, धर्मशाला, भूमे ७ दोस्रो र स्याला. महत तेस्रो, र खाबाङले तेस्रो हासिल गरे।
फाँक नाच तर्फ लुकुम पहिलो, सीमा दोस्रो,क्यासङसि (क) तेस्रो र सान्तवना क्याङसी(ख) हुन सफल भए ।

कार्यक्रमका आयोजक सँस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुम( पश्चिम) र सह आयोजक मौलिक साँस्कृतिक कला केन्द्र र खाम मल्टी सोसल अर्गनाईजेशन रुकुम (पूर्व) थिए।

प्रतियोगिता कार्यक्रमलाई भूमे गाउँपालिकाले आर्थिक सहयोग गरेका थिए।

प्रकाशित मिति: : 2019-07-06 08:30:04

प्रतिकृया दिनुहोस्