माफ गर्नुहोला, म यस्तो 'फोहोर-गीत' को समर्थन गर्न सक्दिन !

र्‍यापर भिटेन: माफ गर म तिम्रो फोहोर गाउँने स्वतनत्रताको पक्षमा उभिन सकिन । फाइल तस्बिर

-थाइल्यान्डको माल…
-हग्न आउछु काठमान्डु
-डण्ठेहरूलाई फक साइन
-काे हाे याे मु*जि…
-त्याे चि*नेले
-हल्लाउँदै चाक तिम्रो बाेसाेले बनेको…चाहियाे राम्रीराम्री नानी
-माँ चि*ने नेता…
-ठन्काउँदै बस्छ गु*लाे…

यी गीतका शव्दहरू हुन्- र्‍यापर भिटेन उर्फ समिर लामा घिसिङका । 

यस्ता गीत गाएर समाजमा अश्लिलता र सांस्कृतिक प्रदुषण बढाउन दुरूत्साहन गरेको आरोपमा उनी पक्राउ परे । त्यसपछि सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको 'स्यालहुइँया' मच्चाएर प्रहरीमाथि उनलाई छोड्न दबाब बढाइयो । दबाब बढाउनेमा घरदेशदेखि परदेशसम्मकै नेपाली थिए । 

दबाब बढेपछि अनेक कारणले रक्षात्मक बनिरहेको प्रहरीले पनि लत्तो छोड्यो । अनि, बाबुको जमानीमा भिटेनलाई छोडिदियो । तिहार सकिएको अर्को दिन छोरालाई हाजिर गराउन ल्याउँछु भन्दै छोरो लिएर बाबु घर फर्के । सामाजिक सञ्जाल फेरि हिट भयो । सबै स्वतन्त्रताप्रेमीको विजयोत्सव जारी छ, सकिएको छैन ।

म भने एउटा श्रृंखलावद्ध प्रश्नहरूको घेराबन्दीमा छु । पहिलो प्रश्न, यस्तो फोहोरी शव्द रियाज गरेर गीत गाउँने आफ्नो छोरालाई ती बाबुले कसरी फर्काएर ल्याए होला ? दोस्रो, के उनले आफ्नो छोराप्रति गौरववोध गरे होलान् ? मलाई लाग्छ, यदि उनी सामान्य मानिस हुन् भने यी आप्पा पक्कै पनि खुशी हुन सकिरहेका छैनन् ।
................

म घरदेशबाट टाढा परदेशमा छु । मातृभूमिको माया नलागेर त्यसो गरेको हैन । तर, एउटा सत्य हो बाँच्ने कलाको अभावमा अरू दबाब, प्रभाव र अभाव मलाई स्वीकार्य भएन । त्यसैले जीवनका सारा उर्वर दिन मातृभूमिमा खर्चेर ५० वर्षको बूढो उमेरमा तीनजनाको परिवारसँगै अन्यौल भविष्य बोकेर पाताल प्रवासमा लागेको हुँ । अपवादलाई छोडेर मुलुकमा जसले जति सकेको छ लुटेकै छ, त्यही गर्न नपरोस् भनेर मातृभूमि छोडेको हुँ । छोड्नु परेकोमा दु:ख छ तर मातृभूमिलाई नलुटी बाँच्न सकिएकोमा गर्व छ ।

मैले मातृभूमि मात्र छोडेको हुँ । हरियो पासपोर्ट मन र मस्तिष्कमा राखेर बाँचेको छु । त्योसँग अरू केही साटेको छैन । यसको अर्थ मुलुकलाई माया गर्नै नपाइने कबुलियतानामा गरेर हिडेको हैन । न राष्ट्रियता छिन्ती पास गरेरै पलायन भएको हुँ । तर, एउटा कुरा सत्य हो नेपालमा बसेर नेपालका लागि प्राथमिक धारणा राख्ने हैसियत मैले गुमाएको छु । मलाई विदेशमा बसेर सामाजिक सञ्जालमा राष्ट्रियताको स्यालहुइँया गर्ने र मातृभूमिलाई ठग्ने दोहोरो कागजी नागरिकता माग्नेप्रति घृणा छ । म यी दुबै गर्दिन । न म देशको पद्धतिमाथि नै प्रश्नचिन्ह लगाउँछु । 

म कागज र भावना दुबैले नेपाली हुँ । यो जोगाउन मैले अमेरिकी नागरिक हुँदा पाउँने धेरै कुरा गुमाएको छु । सबैभन्दा पीडा त ग्रीनकार्ड लिएर अमेरिका पस्ने बेलामा अध्यागमनमा अपराधीजस्तो केरकार भोग्नुपर्दा हुन्छ । यदाकदा, आफू अमेरिकी नागरिक भैसकेको भए यस्तो हुर्मत भोग्नुपर्ने थिएन भन्ने पनि लाग्छ । अर्को मनले भन्छ, तैले यति गर्दा जन्मभूमि र देश दुबै जोगाउन सकेको छस्, के फरक पर्छ र ? अनि म निर्णयमा पुग्छु, यो जुनिभर सबै कोणले नेपाली भैराख्न मलाई त्यो स्वीकार्य छ । 

म अरूभन्दा फरक किसिमले सोच्छु । यसका दुई कारण छन्, पहिलो म वामपन्थी स्कूलिङको मान्छे- मैले हरेक कुरालाई हेर्ने देब्रे सोच बनाएको छु । मुटु पनि त्यतै हुन्छ, म मनले चल्ने मानिस हुँ । आलोचनात्मक चेत गुमाएको छैन । राजनीतिको भाषामा भन्दा म अराजक मानिस हुँ । मैले आफूलाई पुग्ने शिक्षा लिएको छु र त्यसलाई परेर, पढेर विवेकमा परिणत गर्ने कोशिस गरेको छु । त्यसले मलाई हरेक विषय वा घटनालाई हेर्ने सेकेण्ड ओपनियन दिन्छ । म त्यही ओपनियन राख्छु, अरूको कोणबाट हेर्ने धेरैलाई त्यो रूचिकर नहुन सक्छ । तर, म त्यसको हिसाब गर्दिन । म इजमबाट माथि उठेर इस्युमा पुगेको छु ।

किन , ? मैले पनि जीवनमा धेरै वर्ष अभाव, प्रभाव र दबाबको पत्रकारिता गरेको छु । जानेर/नजानेर, चाहेर/नचाहेर धेरै गल्ती गरेको छु । तर, मैले ती सबैका लागि श्रृंखलावद्ध 'कन्फेस' पनि गरेको छु । र, जीवनमा पढाइले प्राप्त हुने बाहेक सबै सम्मान, पदक, पुरस्कार विनम्रतापूर्वक अस्वीकार गरेको छु, मलाई लाग्छ त्यो प्रोक्सिमिटीमा पत्रकारिता अब्जेक्टिव हुन सक्दैन । मैले पढेको र गरेको पत्रकारिताले अमेरिकी एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड साटेको छु । यसो भन्दा मलाई पटक्कै गौरववोध हुदैन । तर, यो पनि सत्य हो कि मसँग बाँच्ने कला नभएपछि यसको विकल्प थिएन । मातृभूमि र ९० वर्ष नाघेका वृद्ध बाबुआमालाई छोड्ने महंगो मूल्य तिरेर म अमेरिकामा नीलो पसिना चुहाँदै बाँचिरहेको छु । 

लाग्छ, यति महंगो मूल्य तिरेर पनि मैले किन अभाव, प्रभाव र दबाबको पत्रकारिता गर्ने ? किन हजार डलरका लागि स्वाभिभमान बेचेर कसैको प्रशस्ति लेखेर बाँच्ने ? किन पत्रकारको आफ्नो चिनारीलाई किताब नामका अन्टसन्ट अक्षर लेखेर बेच्दै हिड्ने ? किन सामाजिक सञ्जालमा हरेकका लागि हनुमानचालिसा लेख्दै  बाँच्ने ? आधाभन्दा बढी जीवन त यसै पनि बितिसक्यो । जाने बेलामा कात्रोमा गोजी हुने पनि हैन । अनि मैले किन गर्ने अपत्रकारिता ? 

हुन त नौ दिनमा नौलो र बीस दिनमा बिर्स्यो हुने समाज हो मेरो । म पनि मेरो समाजका लागि बिरानो भैसकेंको हुन सक्छु । तर, केहीलाई त याद होला, मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको लडाइँमा मैले पनि केही योगदान गरेको छु । यो प्रसंगलाई यही बिट मारें । 

भिटेन प्रवृति' लाई यो वा त्यो नाममा समर्थन गर्न सकिएन । मलाई लाग्छ, कोही पनि 'नर्मल' मानिसले यस्तो फोहोर गीतको समर्थन गर्न सक्दैन । केही थपेर वा घटाएर फेरि पनि अभिव्यक्ति स्वतन्त्रतासँग, पद्धतिसँग जोडेर समर्थन गर्न सकिएला । तर, ती दुबै कुरा सभ्य, जिम्मेवार नागरिक र उसका सचेत कर्मका लागि मात्र हुन्छ । 

......

फेरि भिटेन प्रकरणमै फर्कोैं । 

भिटेनको यस्तो विकृत गीतका पक्षमा मेरो जातिका मानिसहरू किन फालिम लागेका होलान् ? के उनीहरूले चाहेको यस्तै गीत/संगीत हो ? कुन नैतिक बलले उनीहरू आफ्ना आमाबाबु, चेलीबेटीलाई भन्न सक्कछन् मलाई भिटेनको 'जा ... मु ...' गीत मन पर्छ  ? त्योभन्दा पनि ताजुबको विषय कसरी यस्तो गीतलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको होला ? म छक्क परिरहेको छु । र, नेपालको अभिव्यक्ति स्वतनत्रताको लडाईको एक सिपाहीका हिसाबले दु:ख पनि लागिरहेको छ । अनि आफैलाई प्रश्न पनि गर्छु- के मजस्ता मानिसहरूले यस्तै गीत-संगीतका लागि लडाइँ लडेका थियौं  ? 

मलाई लाग्छ, पक्कै पनि थिएनौ । केही अजासुहरू भन्छन्- र्‍याप संगीतमा यस्तै हुन्छ । कसले भन्यो यस्तो हुन्छ भनेर ? त्यसमा त सचेत विद्रोह हुन्छ, विभेदविरूद्धको विद्रोह । यो भिटेनले कुन विभेदविरूद्धको बिद्रोह गर्न 'जा... मु...'  भनेका हुन् ?  उनको पृष्ठभूमि हेरौं कुनै सचेतना छ उनीसँग ? कुन परिवर्तनका लागि योगदान छ उनको ? अनि केहीले जनराको कुरा पनि गरेका छन्, जनराको कसले विरोध गरेको छ ? र्‍याप गीत-संगीतको एक लोकप्रिय जनरा हो,  यसको पनि नेपाली ग्लोकलाइजेसन गर्न सकिन्छ । तर, यही हो तरिका ?

हैन र कदापि हैन ? यो एक किसिमको सांस्कृतिक विचलन हो । यस्ता शव्दहरू रियाज गरेर दिमाखभरी यस्तो गन्धकी बोकेर को सामान्य मानिस हुन सक्छ ? 

यी र यस्तै धेरै प्रश्न गर्न सकिन्छ । तर, त्यसका लागि स्वस्थ सोच र बहस आवश्यक हुन्छ ।

............. 

हो, धेरैको आफ्नो पृष्ठभूमीका कारण यो सरकारसँग रिस छ, धरैको यो सरकारले सही काम गरिरहेको छैन भनेर असहमति छ । कसैलाई प्रचण्डको नाम सुनेर कन्पारो तात्ला , कसैलाई ओलीको । कसैलाई गणतन्त्रकै नाम सुन्दा दिक्क लाग्दो होला । कसैलाई कम्युनिष्ट भन्ने बित्तिकै सिटामल चाहिएला । कसैलाई नातावाद, कृपावाद, भ्रष्टाचारको विरोध पनि गर्नुहोला । गरौ सबैले सरकारका गलत रबैयाको विरोध गरौै । तर, विरोध गर्ने नाममा अर्काको खेताला भएर जेमा पनि विरोध नगरौै । भिटेन प्रकरणमा सरकारको विरोध गर्नु भनेको अभिव्यक्ति स्वतन्त्रताको इज्जत हैन, उपहास हो । किनकि, अभिव्यक्ति स्वतन्त्रता समाजलाई सुन्दर बनाउन हो, कुरूप बनाउन हैन । 

म लोकतन्त्रमा विश्वास गर्छु, विधिको शासनको सम्मान गर्छु । यसकारणले हैन कि लोकतन्त्रमा केही नै गल्ती हुदैन । त्यसो गर्नुको कारण यो हो कि, लोकतन्त्र खराबमध्येको उत्तम व्यवस्था हो किनकि यसले आवधिक निर्वाचनको सुविधा दिन्छ । नेपालमा पनि अब तीन वर्पछि त निर्वाचन भैहाल्छ त्यसमा अहिलेको सत्तारूढ पार्टीलाई दण्डित गरे भैहाल्यो नि । सबै नालायक र खराबलाई लोकतान्त्रिक विधि अनुसार नै तह लगाउन सकिन्छ ।

केही मानिसहरू भन्छन् - जनता तातिसके । के का लागि तात्ने ? कुने राजनीतिक परिपाटीका लागि तात्ने ? विद्रोह के का लागि ? विद्रोह त पद्धतिका लागि हुन्छ, व्यक्तिका लागि हैन । यो २१औं शताव्दी हो । केही मानिसलाई समय उल्टोगतिमा घुमाउन सकिने भ्रम बाँकि छ । निबासबाट वा जंगलबाट सत्तामा पुग्न सकिने । ती दुबै दीवासपना हुन्, अब फेरि त्यस्तो हुदैन ।

बिट मार्नुअघि, मलाई माफ गर्नुहोला यही पृष्ठभूमि र कारणले गर्दा 'भिटेन प्रवृति' लाई यो वा त्यो नाममा समर्थन गर्न सकिएन । मलाई लाग्छ, कोही पनि 'नर्मल' मानिसले यस्तो फोहोर गीतको समर्थन गर्न सक्दैन । केही थपेर वा घटाएर फेरि पनि अभिव्यक्ति स्वतन्त्रतासँग, पद्धतिसँग जोडेर समर्थन गर्न सकिएला । तर, ती दुबै कुरा सभ्य, जिम्मेवार नागरिक र उसका सचेत कर्मका लागि मात्र हुन्छ । 

तपाई अझै पनि जिद्दी गर्नुहुन्छ भने फेरि एकपटक यी शव्दहरू कोही नभएर मात्र एक सभ्य नेपाली भएर पढ्नुहोस् । 

-थाइल्यान्डको माल…
-हग्न आउछु काठमान्डु
-डण्ठेहरूलाई फक साइन
-काे हाे याे मु*जि…
-त्याे चि*नेले
-हल्लाउँदै चाक तिम्रो बाेसाेले बनेको…चाहियाे राम्रीराम्री नानी
-माँ चि*ने नेता…
-ठन्काउँदै बस्छ गु*लाे…

पढ्नुभयो ? अब पनि तपाई भिटेन प्रवृतिकै पक्षधर हो । त्यसो हो भने तपाई एब्नर्मल मानिस हो । म उसको सद्वुद्धिका लागि कामना मात्र गर्न सक्छु ।

अन्तमा, फेरि एकपटक नचाहेर पनि भिटेन गीतका शव्दहरू सार्वजनिक रूपमा लेख्नु परेकोमा मलाई लज्जावोध भएको छ । कतिपय शव्द लेख्नै नसकेर म्युट पनि गरेको छु । एकजना पत्रकार हुनुको नाता कतिसम्म लबस्तरो हुनुपर्ने रहेछ, त्यसको दशीप्रमाण हो यो । मेरा आफन्तजन, यस्ता छाडा शव्द लेख्नुपरेकोमा म लज्जित छु, मेरो विवशता बुझेर मलाई माफ गरिदिनु होला । 

(यो लेखकको ई-ब्लगिङको हो, बीएल विश्लेषण हैन । हामी सबैखाले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छौैं ।)

यो पनि पढ्नुहोला 

गायकसँग डराएको गणतन्त्र

 

प्रकाशित मिति: : 2019-10-27 08:40:00

प्रतिकृया दिनुहोस्