युरोपियन युनियनबाट बेलायत बाहिरिनु हुन्न भन्दै लण्डनमा विशाल प्रदर्शन

फोटो: न्युयोर्क टाइम्स

ब्रेक्जिटबारे अन्यौल जारिरहेकै बेला युरोपियन युनियनबाट बेलायत बाहिरिनु हुन्न भन्दै बेलायतमा बिरोध प्रदर्शन आयोजना गरिएका छन्। उनीहरूले ब्रेक्जिटका बिषयमा अर्को जनमत सङ्ग्रहको माग गर्दै 'बेलायतलाई  युरोपियन युनियनबाट ननिकाल्न लेखिएका पोष्टर बोकेर ब्रेक्जिटको बिरोध' गरेका छन्।

इयुबाट बेलायतको बहिर्गमन हुनुहुन्न भन्ने पक्षधरहरू लण्डनको हाइडपार्कमा जम्मा भई मध्यलण्डन हुँदै सहरका विभिन्न स्थानमा बिरोध प्रदर्शन गरेका थिए। उनीहरूले ब्रेक्जिटका कारण बढ्दो राजनीतिक अन्यौलताको प्रभाव सम्पूर्ण क्षेत्रमा देखिन थालेको दावीसहित यस बिषयमा पुनः जनमत सङ्ग्रहको माग पनि गरेका छन्।

प्रदर्शनपछि बेलायती संसदको बाहिरी क्षेत्रमा जम्मा भएका प्रदर्शनकारीलाई स्कटल्याण्डका प्रथममन्त्री निकोला स्टर्जियन, लण्डनका नगरप्रमुख सादिक खान र प्रतिपक्षी लेबर पार्टीका उपनेता टम वाटसनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

ब्रेक्जिटको विपक्षमा भएको बृहद् जनप्रदर्शनको पूर्वसन्ध्यामा पछिल्लो राजनीतिक अन्यौलबारे बोल्दै लण्डनका नगरप्रमुख  खानले भने- ब्रेक्जिट अत्यन्त भद्रगोलको अवस्थामा पुगेको छ। त्यसैले यसबारे नयाँ निर्णय लिन जनदवाव सिर्जना गर्नुपर्ने भएको छ।

राजधानी लण्डनमा आयोजित केही दशकयताकै ठुलो भनिएको यो प्रदर्शनले बेलायतलाई इयुबाट छुट्याउने बिषयमा पुनर्विचारका लागि जनमत संग्रहमा जान दबाब सिर्जना गर्ने बताइएको छ। 

प्रकाशित मिति: : 2019-03-23 22:51:47

प्रतिकृया दिनुहोस्