अपडेट : इथियोपियन विमान दुर्घटनामा एक नेपालीसहित ३५ देशका १५७ नागरिकको मृत्यु

एजेन्सी

इथियोपियाको आदिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटना हुँदा विमानमा सवार १५७ जनाको ज्यान गएको छ।

१४९ जना यात्रु र चालक दलका आठजना सदस्यसहितको जहाज उडेको केही समयभित्र स्थानीय समय अनुसार आइतबार बिहान ८ बजेर ४४ मिनेटमा दुर्घटनामा परेको इथोपियन एयरलाइन्सका प्रवक्ताले जानकारी दिएका छन्।

एयरलाइन्सका अनुसार घटना इथियोपियाको राजधानी आदिसअबाबाबाट करिब ६० किमी दक्षिण पूर्व बिशोफ्तु शहर नजिक भएको हो।

दुर्घटनाग्रस्त विमानमा ३५ देशका नागरिक तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि यात्रामा रहेका ‘इथियोपियन एअरलाइन’ ले जानकारी दिएको छ ।

विमानमा एक जना नेपाली नागरिकसमेत परेका छन्।

विमानमा सबैभन्दा धेरै केन्याका नागरिक छन्। इथियोपियाली विमान कम्पनीले दिएको सूचना अनुसार आइतबारको विमान दुर्घटनामा ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको अदिस अबाबाबाट जारी विमान कम्पनीका प्रमुख कार्यकारी अधिकृत तेवोल्दे जेब्रेमालियमको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै विमानमा सवार मध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना थिए।

यस्तै इजिप्टका ६, जर्मनीका ५, भारत र स्लोभाकियाका चार-चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ।

यस्तै अष्ट्रिया, रसिया र स्वीडेनका ३-३ जना तथा स्पेन, इजरायल, मोरक्को र पोल्याण्डका २-२ जना यात्रु परेका छन्।

यस्तै नेपालसहित बेल्जियम, दिजिबुटी, इन्डोनेसिया, आयरल्याण्ड, मोजान्विक, नर्वे, रूवान्डा, साउदी अरेबिया, सुडान, सोमालिया, सर्बिया, टोगो, युगान्डा, यमन, नाइजेरिया र एक जना राष्ट्रसंघको पासपोर्ट भएको पनि विमान कम्पनीले बताएको छ।

 

इथोपियाका प्रधानमन्त्री अबी अहमदले दुर्घटनामा ज्यान गुमाउने मानिसहरूको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै ट्वीट गरेका छन्।

 

अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा सबैभन्दा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो।

सुरक्षाको दृष्टिकोणले यो एयरलाइन्सलाई राम्रो मानिन्छ। यद्यपि सन् २०१० मा बेरूतबाट उडेको सो एयरलाइन्सको एउटा विमान भूमध्यसागरमा खसेको थियो। उक्त दुर्घटनामा ९० जनाले ज्यान गुमाएका थिए।

यसअघि सन् १९९६ को नोभेम्बरमा राजधानी आदिस अबाबादेखि नैरोबीकै लागि उडेको विमानको एउटा इन्जिनमा इन्धन सकेपछि पाइलटहरूले पानीमा आपत‌्‌कालीन अवतरण गराउँदा हिन्द महासागरमा मुगाको टापुमा ठोक्किएको थियो। त्यसबेला विमानमा भएका १७५ जनामध्ये १२३ जनाको ज्यान गएको थियो।

 

प्रकाशित मिति: : 2019-03-10 15:01:37

प्रतिकृया दिनुहोस्