बर्मामा जन्मिएका नेपालीभाषी भन्छन्– एकपल्ट नेपाल डुल्ने रहर छ

म्यान्मा (बर्मा) मा बसोबास गर्ने नेपालीभाषीले आफ्नो कला र  संस्कृतिलाई निष्ठाका साथ अंगालेका छन्। म्यान्मामा नेपालीभाषीको संख्या दुई लाखको हाराहारीमा छ

जीवन डाँगी

माण्डले

म्यान्मा (बर्मा) मा बसोबास गर्ने नेपालीभाषीले आफ्नो कला र संस्कृतिलाई निष्ठाका साथ अंगालेका छन्। म्यान्मामा नेपालीभाषीको संख्या दुई लाखको हाराहारीमा छ। अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघले सबैलाई नेपाली भाषा पढाउन गाउँ–गाउँमा गुरूहरू पठाउने र तीन महिना नेपाली भाषाको पढाइ हुने म्यान्माका वरिष्ठ नेपालीभाषी साहित्यकार लक्ष्मण न्यौपानेले बताए।

म्यान्माका नेपालीभाषीमा नेपालका धेरै ठाउँ पुग्ने, पुर्खाको भूमि टेक्ने र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने इच्छा छ।  हिजाेआज सामाजिक सञ्जालबाट जहाँ र जोसँग पनि जोडिन मिल्ने हुँदा युवा–युवतीलाई नेपाल र नेपालीको बारेमा राम्रो जानकारी छ। यहाँका अधिकांश युवामा नेपाली भाषा, कला, संस्कृति र साहित्यप्रति खुब रुचि देखिन्छ।

साहित्यकार राज पौडेल, ३०

थाइल्याडमा बसोबास गर्ने राज पौडेलको जन्म म्यान्माको श्यानप्रान्तस्थित याकसक वाँप्या ग्राममा भएको हो। यो ठाउँमा नेपालीभाषीको राम्रो उपस्थिति छ। राज थाइल्याडमा बस्न थालेको १४ वर्ष भइसकेको छ। बैंककमा उनको आफ्नै व्यापार छ। श्रीमती सरस्वती र ३ वर्षकी छोरी मुस्कानसँगै उनी बैकक बस्छन्। थाइल्याड बसे पनि उनकाे ८ वर्षकी छोरी खुसी भने म्यान्माकै टाउँजीमा बसेर पढिरहेकी छिन्। उनी नेपाल गएका छैनन्।

राजको पोखरा फेवाताल किनारमा पुगेर कविता वाचन गर्ने ठूलो रहर छ। उनी नेपाली बजारमा आउने पुस्तक पढ्न छुटाउँदैनन्। हाल उनी नेपालका हाँस्य कलाकार हरिवंश आचार्यको जीवनीमा आधारित ‘चिना हराएको मान्छे’ पुस्तक पढिरहेका छन्। राजलाई निकै मन परेको पुस्तक ‘सगरमाथाको गहिराइ’ हो। यो पुस्तक युवा कवि नवराज पराजुलीले लेखेका हुन्।

राजले कवि नवराजसँग सामाजिक सञ्जालमा कुराकानी गरेको सुनाए। मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चाय थाइल्याण्ड कार्यक्रममा आउँदा राजले एक पल्ट भेटेका थिए। उनी पूर्खाको भूमि नेपाल पुगेपछि पशुपतिनाथ, मनकामना मन्दिरको दर्शन, पोखराको फेवाताल, झापा र अन्य ठाउँमा तिर्थयात्रा गर्न चाहन्छन्। 

रितु थापा,२२ 

पुर्ख्यौली भूमी गल्मी भएकी रितु थापाले नेपाल घुम्ने योजना बनाइरहेकी छन्। उनलाई गुल्मीसहित, पोखरा, दोलखा, लुम्बिनीलगायतका ठाउँ पुग्ने रहर छ। गुल्मीको भार्से गाउँमा रितुको पूर्ख्यौली घर छ। उनका पूर्खा भार्सेबाट बर्मा पुगेका थिए। 

आफू बर्मामा जन्मिए पनि उनी आफूलाई नेपाली नै भन्न रूचाउँछिन्। ‘मेरो रगतमै नेपाली कला र संस्कृति बगेको छ’, उनी भन्छिन्। सामाजिक सञ्जालमा उनले पोस्ट गर्ने शब्द र तस्वीरले पनि नेपालप्रति उनको प्रेम झल्किन्छ। 

यो पनि हेर्नुहोस्

मेरो नेपाल टेक्ने रहरले सीमा नाघेको छ

उनले नेपाली चलचित्र ‘नाई नभन्नु ल’ हेरेपछि आफ्नो नाम नै रितु राखेकी थिइन्। टाउँजीमा जन्मिएकी उनी भाषा, साहित्य, संगीत र घुमफिर गर्न मन पराउँछिन्। रितु नेपाली चलचित्रमा निकै जानकारी राख्छिन्। 

आर्यन सिग्देल र जीवन लुइँटेल उनलाई मनपर्ने नेपाली नायक हुन्। नेपाल पुगेपछि युवा पुस्ताका नायक प्रदीप खड्कासँग भेट्ने र सेल्फी खिच्ने उनको इच्चा छ। प्रदीप अभिनीत चलचित्रहरू उनले सायदै हेर्न छुटाएकी छिन्। अहिलेसम्म उनले सयभन्दा बढी नेपाली चलचित्र हेरिसकेकी छन्।

निर्मल खराल, २१ 

अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघको केन्द्रीय कार्यालयमा कार्यरत छन् निर्मल खराल। म्यान्माको सानो नेपाल भनेर चिनिने मोगोक गाउँमा उनको जन्म भएको हो। माण्डले शहरमा उनी बस्न थालेको एक वर्ष भयो। नेपाली साहित्यमा स्नातक गरेका उनी नेपाली बोल्न मात्र होइन, शुद्ध लेख्न पनि जान्दछन्।

दिनानुदिन हुने संघका गतिबिधि बारे नेपालीमा रिपोर्ट बनाउँदा बनाउँदै उनमा नेपालीभाषाप्रति झन् बढी दख्खल बढेको हो। निर्मललाई नेपाली साहित्य र पत्रकारितामा रुचि छ। नेपाली समाचार लेखनमा थप तालिम लिने उनको इच्छा छ।

नेपाल पुगेपछि राष्ट्रकवि माधवप्रसाद  घिमिरे र उनलाई नेपालबारे धेरै जानकारी दिलाउने दाइ प्रवीण खड्कालाई भेट्ने रहर भएको बताए।

निर्मल अहिले प्रिय सुफी र कोरियाना कफी पढिरहेका छन्। युवा भए पनि अन्य नेपालीभाषी भन्दा निर्मल नेपालका बारेमा राम्रो जानकारी राख्छन्। उनी दैनिकजसो कार्यालय पुगेपछि नेपाली अनलाइन खोल्छन् र पढ्न थाल्छन्। नेपालका बारेमा यति थाहा भएपछि उनीमा पशुपतिनाथ, बुद्ध जन्मेको ठाउँ, पोखरा पुग्ने रहर नहुने कुरै भएन। 

बुनु पौडेल, ३३

थाइल्याडमा ९ वर्षदेखि बसोबास गर्दै आइरहेकी बुनु पौडेल म्यान्माको टमुनगरमा जन्मिएकी हुन्। उनी थाइल्याडमै कस्मेटिकको पसल चलाएर बसेकी छन्। हिजोआज उनी आफू जन्मिएको देश म्यान्मामा नेपालीको महान चाड दशैं र तिहार मनाउन मात्र पुग्छिन्। 

बुनुलाई आफ्नो पूर्खाको देश नेपाल जाने खुब इच्छा छ। नेपालमा उनका आफ्न्त पनि छन्। नेपालमा बस्ने फुपु हजुरआमा (हजुरबाकी बहिनी) सँग उनको प्रायः फोनमा कुराकानी भइरहन्छ।

नेपाल पुगेपछि पशुपतिनाथ, आफ्नो पुर्खा आएको स्थान खोटाङ, लुम्बिनी लगायत स्थानहरू डुल्ने रहर छ। ‘नेपालका बारेमा यूट्यूब र फेसबुकबाट धेरै कुरा थाहा पाउछु’, उनले भनिन्। नेपाली गायिका मेलिना राईका गीत बुनुलाई खुब मनपर्छ।

प्रकाशित मिति: : 2020-01-17 00:44:00

प्रतिकृया दिनुहोस्