कुभिण्डेका ‘अग्नि सर’का दुई चुनौति: सभामुखको जिम्मेवारीसँगै हत्याको मुद्धामा पेशी

दीप सुवेदी

काठमाडाैं

सिन्धुपाल्चाकका कुभिण्डेका ‘अग्नि सर’का रुपमा चिन्ने र जान्ने अग्निप्रसाद सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले लामो प्रयासपछि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि विगत चार महिनादेखि रिक्त रहँदै आएको सभामुखमा लामो बहस र छलफलपछि नेकपाले उम्मेदवार टुङ्गो लगाएको हो।

धेरैले अग्नि सर भनेर नाम दिएका सापकोटालाई नेकपाले लामो बहस र छलफलपछि सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। स्पष्ट वक्ता र राजनीतिमा कहिल्यै विचलित नहुने स्वभावका सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाले निर्णय गरेको हो।

राजधानीमा भन्दा जनताको घर आँगनमा नै रमाउन चाहने सापकोटा पार्टीभित्र स्पष्ट विचार राख्ने नेतामध्ये एक हुन। पार्टी राजनीतिमा अधिकांश समय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ सहयोग दिँदै आएका सापकोटाले यसअघि तत्कालीन एकीकृत नेकपा(माओवादी)को पार्टी प्रवक्ताको भूमिकासमेत निर्वाह गरेका थिए।

प्रतिनिधिसभामा सत्तारुढ नेकपाको स्पष्ट बहुमत भएकाले सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुने पक्कापक्की नै रहेको छ। प्रतिनिधिसभाको बैठक सोमबारका लागि बोलाइएको छ। सोमबारदेखि नै सभामुख चयनको प्रक्रिया शुरु गर्ने तयारीमा सङ्घीय संसद् सचिवालय रहेको छ।

तर अग्नि सरको चरित्र भने असल होइन। उनलाई हत्या जस्तो गम्भिर प्रकृतिको मुद्धा परेको छ। नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाविरूद्ध सर्वोच्च अदालतमा परेको १ मुद्धा र २ वटा रिटमा यही माघ २२ गते सुनुवाइ हुने भएको छ।

आइतबारमात्र सभामुखको सिफारिसमा परेका उनीमाथि २०६२ सालमा तात्कालिन माओवादीले अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ।

संवैधानिक इजलासले सापकोटाविरूद्ध मुद्धा हेरिरहेको छ। लामाको हत्यामा सापकोटा र पूर्व राज्यमन्त्रीसमेत रहेका सूर्यमान दोङको संलग्नता रहेको भन्दै लामाकी श्रीमती पूर्णिमाया लामाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएकी थिइन।

सो जाहेरी दरखास्तलाई त्यसपछि सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाउन दरपिठ भएको थियो।आयोग पठाउने दरपिठ भएपछि लामा सो मुद्दामा पुनरावेदन माग्न सर्वोच्चमा गएकी थिइन्। त्यसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले गत असार २५ गते उक्त मुद्दामा सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश दिएको थियो।

उनीमाथि एउटा मुद्धा र दुई वटा रिटमाथि सुनुवाइका लागि अदालतले माघ २२ लाई पेसी तोकिएको पूर्णिमायाका वकिल ओमप्रकाश अर्यालले बताए।

यस्ताे छ जाहेरीपछिको अवस्था

काभ्रेका लामालाई २०६२ वैशाख १६ मा तत्कालीन विद्रोही माओवादीले अपहरण गरी हत्या गरेका थिए। स्थानीय श्रीकृष्ण मावि दाप्चा, छत्रेबाँझ विद्यालय व्यवस्थापन समितिको चुनावबाट अध्यक्षमा निर्वाचित भएको दिनमै लामा विद्यालय परिसरबाटै अपहरणमा परेका थिए। उनलाई ‘केही कुराकानी गरी फर्काउने’ भन्दै तत्कालीन माओवादी कार्यकर्ताले अपहरण गरी लगेका थिए।

‘एकैछिन काम छ भनेर मेरा पतिलाई लगिएको थियो। फर्केर आएनन्’, अर्जुनकी पत्नी पूर्णिमाया लामाले भनिन्। दुई वर्षपछि पतिलाई मारेको गाउँलेले देखेको पूर्णिमायालाई बताएका थिए। 

पूर्णिमायाले २०६४ सालमा काभ्रे जिल्ला प्रहरी कार्यालयमा तत्कालीन माओवादी नेता सापकोटा, सूर्यमान दोङसहित ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता गर्न गएकी थिइन्। 

पूर्णिमायाको जाहेरी दरखास्त दर्ता भएपछि आरोपित सापकोटाले मानवअधिकार उल्लंघन गरेको भन्दै काभ्रे प्रहरीद्वारा पक्राउ पुर्जीसमेत जारी गरेको थियो। तर २०६९ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारले काभ्रे प्रहरीमा दर्ता सापकोटाविरुद्धको जाहेरी दरखास्त ‘तामेली’ मा राख्ने निर्णय गरेको थियो। 

पूर्णिमायाले मन्त्रिपरिषद्ले गरेको ‘तामेली’ मा राख्ने निर्णयविरुद्ध सर्वोच्चमा २०६९ मंसिर ७ मा रिट निवेदन दर्ता गरिन्। निवेदन दर्ता भएको चार दिनपछि तत्कालीन न्यायाधीश वैद्यनाथ उपाध्यायको एकल इजलासले सरकारसँग जाहेरी तामेलीमा राख्नुको कारण माग्दै अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले सरकारको तामेलीमा राख्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो। २०७० साल असार १९ मा तत्कालीन न्यायाधीश सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले मिसिल झिकाउने आदेश गरेको थियो। 

२०६८ असार ६ मा सापकोटाले अदालतको अवहेलना भएको भन्दै कनकमणि दीक्षितविरुद्ध रिट निवेदन दर्ता गरेका थिए। सापकोटाको निवेदनमाथि सुनुवाई गर्दै २०७० असार १९ मा तत्कालीन न्यायाधीशद्वय कार्की र भट्टको संयुक्त इजलासले मिसिल झिकाउने आदेश गरेको थियो। सापकोटाले दर्ता गरेको रिट निवेदन पनि संवैधानिक इजलासमा विचाराधीन छ।

२०६८ वैशाख २१ मा झलनाथ खनाल नेतृत्वको सरकारमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भए। सापकोटाविरुद्ध मुद्दा चलिरहेकाले अनुसन्धानमा असर गर्ने र मन्त्री पदमा नियुक्ति रोक्नु भन्दै मानवअधिकारकर्मी सुशील प्याकुरेलले २०७२ चैत २६ मा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।

प्याकुरेलको रिट निवेदनमाथि सुनुवाई गर्दै २०६८ असार ७ मा तत्कालीन न्यायाधीशहरु रामकुमारप्रसाद शाह र प्रकाश वस्तीको संयुक्त इजलासबाट सापकोटालाई मन्त्री बन्न नरोक्न आदेश भएको थियो। तत्कालीन समयमा मन्त्री रहेका सापकोटामाथि प्रमाण संकलन गरी अभियोगपत्र दर्ता हुने नहुने बाँकी रहेकाले मन्त्रीको कामकाज गर्नबाट रोक नलगाउने गरी अनुसन्धान जारी राख्न आदेश भएको थियो।

को हुन सापकोटा?

विसं २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुबिण्डेमा तिलमाया सापकोटा र धनपति सापकोटाको सुपुत्रका रुपमा जन्मिभएका सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरेका छन्। लामो समय शिक्षकका रुपमा सेवा गरेका कारण पनि उनलाई धेरैले अग्नि सरकारको नाम दिएका हुन्।

नेता सापकोटा २०३५ सालमा नेकपा (चौथो महाधिवेशन)बाट पार्टी राजनीतिमा लागेका हुन्। हाल नेकपा स्थायी कमिटी सदस्य रहेका सापकोटा २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।

विसं २०६८ मा सूचना तथा सञ्चारमन्त्री भएका सापकोटा २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सिन्धुपाल्चोक–२ बाट दोस्रोपटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। तत्कालीन नेकपा (माओवादी)ले विजयी हासिल गरेकामध्ये वाग्मती अञ्चलबाट निर्वाचित हुने एकमात्रै नेता हुन्, उनी। सापकोटाले २०७३ मा नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए।

विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा २०४८ सालदेखि सक्रियरुपमा राजनीतिमा क्रियाशील छन्। विसं २०५१ मा तत्कालीन नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य हुँदै २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य भएका उनी २०५२ माघदेखि भूमिगत राजनीतिसमेत गरेका थिए।

विसं २०५८ मा तत्कालीन नेकपा (मोआवादी)का तर्फबाट गठन गरिएको तीन सदस्यीय वार्ता टोलीमा रही शान्ति प्रक्रियालाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिएका थिए। तत्कालीन एकीकृत नेकपा (माओवादी) को हेटौँडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य बनेका उनले २०६९ साउनदेखि एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका निर्वाह गरे। सानैदेखि विद्रोही स्वभावका सापकोटा कुभिण्डेका सापकोटा परिवारकै पहिलो प्रधानाध्याक हुने पहिलो व्यक्तिका रुपमा समेत परिचित छन्।

प्रकाशित मिति: : 2020-01-20 21:31:57

प्रतिकृया दिनुहोस्