क्विन्टन डी कक दक्षिण अफ्रिकाको कप्तान नियुक्त भएका छन्। डी ककले इङ्ग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा कप्तानी गर्ने छन्।
उनकै कप्तानीमा इङ्ग्ल्याण्डविरुद्धको सिरिजका लागि टिम पनि घोषणा गरिएको छ। फाफ डु प्लेसीलाई इङ्ग्ल्याण्डविरुद्धको सिरिज बाहिर राखेसँगै उनी कप्तानमा नियुक्त भएका हुन्।
दक्षिण अफ्रिका क्रिकेटका निर्देशक ग्रेम स्मिथले भने ‘डी ककको विशेषता सबैलाई थाहा छ, यसले दक्षिण अफ्रिका टिमलाई पनि राम्रो गर्ने छ।’
दक्षिण अफ्रिकाले सिरिजका लागि टिममा नयाँ पाँच जना खेलाडीलाई स्थान दिएको छ। लुथो सिम्पाला, कायल वेरिएन, सिसान्डा मगला, जानमेन मलनार र बिजोर्न फर्चुइनलाई स्थान दिएको हो। यस्तै कागिसो रबाडालाई भने आराम दिइएको छ।
क्रिस मरिस र डुवेनले कमब्याक गर्न असफल भएका छन्। यस्तै तबरेज शम्सी, लुङ्गी एन्गिडी, जोन जोन स्मट्सले भने टिममा स्थान पक्का गरेका छन्।
डी ककले एक सय १५ एकदिवसीय क्रिकेटमा १४ शतक तथा २४ अर्धशतकको मद्दतले चार हजार ९ सय सात रन बनाएका छन्। अस्ट्रेलियाविरुद्ध बनाएको एक सय ७८ रनको स्कोर उनको उच्च प्रदर्शन हो।
इङ्ग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजका लागि यस्तो दक्षिण अफ्रिकी टिम–
क्विन्टन डी कक (कप्तान/विकेटकीपर), रेजा हेन्ड्रिक्स, तेम्बा बभुमा, रेसी भान डर डुसेन, डेविड मिलर, जो जोन स्मट्स, एन्डिल फेहलुकवायो, लुङ्गी एन्गिडी, लुथो सिम्पाला, तबरेज शम्सी, सिसान्डा मगला, बिजोर्न फर्चुइन, ब्युरन हेन्ड्रिक्स, जानेमन मलन र कायल वेरियन।