एन्फा कास्कीका अध्यक्षले गरे उजुरी, मनाङ्गे भन्छन्– खेलाडीहरुसँग जोक गर्ने ?

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङ्गेले मंगलबार गुरुङलाई झपड हानेका थिए। 

खेलाडीहरुको खाने बस्ने व्यवस्था आफूले मात्र नभइ कमिटीले नै गर्ने विषय भएको तर सांसद मनाङ्गेले वार्ता गर्नुको साटो खेल मैदानमा नै कुटपिट गरी अभद्र व्यवहार गरेको भन्दै जाहेरीमा मुलुकी फैजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा कारबाही माग गरिएको छ। 

'उहाँले मलाई मुक्का हान्दा म सयंम भएर बसेँ। किनकी सम्पूर्ण सभासद्को इज्जत जान्छ भनेर सहेर बसेँ', उनले भने ‘सार्वजनिक स्थानमा ममाथि किकबक्सिङ हानियो। मेरो ज्यानको सुरक्षा भएन।’ 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी दानबहादुर कार्कीले जाहेरी आइसकेको तर दर्ता हुन बाँकी रहेको बताए। ‘कानूनी प्रक्रिया सुरु भइसक्यो। अब कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भनेका छन्।

प्रदेशसभा सदस्य मनाङ्गेले पनि झपड हानेको कुरा स्वीकार गरेका छन्। तर व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्। सहभागी टिमलाई खबर नै नगरी अन्तिम समयमा प्रतियोगिताको मिति सारेको, मनाङबाट आएको टिमलाई बस्ने व्यवस्था समेत नमिलाएको उनले आरोप लगाएका छन्। ‘८/९ घन्टा हिँडेर आएको खेलाडीहरुसँग जोक गर्ने ?’मनाङेले भने, ‘व्यवस्थापकलाई सम्झाउँदा समेत केही नलागेछि झापड हानेको हुँ।’

घटना के हो?

पोखरा महानगरपालिका २९ भण्डारढिकमा मङ्गलबारदेखि सञ्चालन भएको मुख्यमन्त्री कप खेलको उद्घाटनअघि सांसद गुरुङले एन्फा कास्कीका अध्यक्ष  गुरुङमाथि मुक्का र लात्ती प्रहार गरेका थिए। 

मिलन गुरुङ मुख्यमन्त्री कपको कोषाध्यक्ष समेत हुन्। मनाङबाट सहभागी डाँफे युवा क्लबको व्यवस्थापनका विषयमा पाँच मिनेटजति वादविवाद भएपछि प्रदेश सभा सदस्य गुरुङले लात्ती तथा मुक्का प्रहार गर्दै हातपात गरेको आरोप छ। 

दुई जनाबीच नियमअनुसार सहभागी टोलीलाई खेलको एक दिनअघि र एक दिनपछि मात्र आयोजकले व्यवस्था गर्ने र अरु बेला सहभागी टोलीले गर्नुपर्ने नियम अनुसार नै गरिए पनि प्रदेश सभा सदस्य गुरुङले आफूलाई हातपात गरेको अध्यक्ष गुरुङले बताए। सांसद जस्तो व्यक्तिले नबुझिकन हातपात गरेकोमा अध्यक्षको आपत्ति छ। 
 

प्रकाशित मिति: : 2020-01-23 07:03:35

प्रतिकृया दिनुहोस्