किन बढिरहन्छ घरेलु हिंसा ?

ईश्वरी राई (इशु)

काठमाडाै‌ं

महिला र पुरूष बराबर भनेर जति नै समानताको नारा लगाए पनि व्यवहारमा त्यो देखिएको छैन। पितृ सत्तात्मक समाजमा अहिले पनि महिलाहरू विभिन्न अवसरबाट बन्चित हुँदै आएका छन्। दाइजो नल्याएको र छोरा नजन्माएको आरोपमा निर्घात कुटपिट गरेको, मट्टीतेल छर्केकोलगायतका मानवताहिन गतिविधि हुँदै आएका घटनाहरू हामीले विभिन्न माध्यमबाट सुन्दै र हेर्दै आइरहेका छौं।

अझ भनौं विकट नेपालका गाउँठाउँमा यी घटनाले स्थान पाउँदै आएका छन्। केही शिक्षीत परिवारमा यो क्रम कम भएपनि अधिकांश परिवारमा छोरा र छोरीमा भेदभाव हुनेगर्छ। छोरालाई बोर्डिङ पढाउँछन् भने छोरीलाई सरकारी स्कुल पढाउने गरेका छन्। 

महिलाहरु आफू महिला भएकै कारणले होच्चाईको शिकार हुनु परेको छ। घरको आर्थिक विषय होस् या महिलाहरु घरबाट कतै जाने विषयमा नै किन नहोस् त्यसमा घरका अभिभावकले जति छोरामा विश्वास गर्छन् त्यतिनै छोरीलाई विश्वास गरेको पाइदैन।

कहीँ कसैको परिवारमा छोरीलाई पढ्नलगायत बाहिर जानुमा कुनै रोकावट नगरेपनि अधिकांशको परिवारमा अभिभावकको नजर छोरीमै गडेको हुन्छ। छोरा रातिको बाह्र बजे घरमा आउँदा पनि केहि फरक नपर्ने। तर, छोरीहरु पाँच मिनेट मात्र घरमा ढिलो पुग्दा परिवारमा स्पष्टिकरण दिनुपर्ने हुन्छ। अहिलेको यो पुरुष सत्तात्मक समाजमा महिलाले अकालमै मृत्युको सामना गर्नुपर्ने र छोरा न जन्माउँदा दिनरात कुटाइ सहिरहनुपर्ने जस्ता घटनाहरु पनि सुन्दै र देख्दै आएका छौं। 

काठमाडौंमै बस्दै आएका एक ठेकेदारले छोरा पाउने आशामा लगातार तीन छोरीहरु जन्माए। जेठी छोरी अहिले २२ वर्षकी, माइली छोरि १५ वर्षकी र कान्छी छोरी ९ वर्षकी छिन्। उनी दिनरात श्रीमतीलाई छोरा नपाएको भन्दै कुटपिट गरिरहन्छन्। ‍विपना (नाम परिवर्तन)ले विगत २२ वर्षदेखि आफूले श्रीमानको अत्याचार सहँदै आइरहेको बताइन्।

श्रीमानकाे अत्याचार सहने विपना त केवल एउटा प्रतिनिधि पात्र मात्रै हुन्। उनी जस्तै पीडित महिला धरै छन्। जो आफ्नै श्रीमानको अन्यायको शिकार बन्दै आएका छन्। 

यस्तै कैलाली गोदावरी अत्तरियामा डेरा गरी बस्दै आएकी २५ वर्षकी रूक्सरा कुरैसी दाइजो नल्याएको भन्दै बारम्बार शारीरिक र मानसिक यातना पाउनुका साथै २०७६ वैशाख १९ गते हत्या भयो।

३ लाख रुपैयाँ र एउटा पल्सर मोटरसाइकल नदिएको आरोपमा रूक्सराको हत्या भयो। यसरी नै महिलाहरु विभिन्न अवस्थामा हत्याको शिकार बन्दै आएका छन्। नेपाली समाजमा छोरीहरू आफैं प्रतिकार गर्न नसक्नु, आत्मरक्षा गर्न नसक्नू र आत्मबलमा कमजोर देखिनु नै यी सबै समस्याका कारक हुन्।

पुरूष प्रधान देशमा महिलाबाट छोराको आस गर्नु, अशिक्षाको कमि हुनु यी सबै समस्याका तत्वहरु हुन्। नेपालको संविधान २०७२ को भाग ३ र धारा ३८ मा उल्लेख गरे अनुसार महिला सम्बन्धि विभिन्न मौलिक हकहरु रहेको पाइन्छ, जस्तै (१) महिलालाई लैगिक भेदभाव बिना समान वंशीय हक हुनेछ। (२) प्रत्येक महिलालाई सुरक्षित मातृत्व प्रजनन स्वास्थ्य सम्बन्धि हक हुनेछ (३) महिला विरूद हुने धार्मिक सामाजिक सास्कृतिक परम्परा प्रचलन अन्य कुनै आधारमा शारीरिक मानसिक यौनजन्य मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंशा जन्य कार्य गर्न पाइने छैन्।

 तर, संविधानमा उल्लेख गरे जस्तो व्यवहारमा भने महिलाले पाएका छैनन्। नेपालमा जतिनै महिलाहरुको लागि कानुन बनेता पनि सोहि अनुसारको कार्य भने महिलामाथि गरेको पाइएको छैन्। जसले गर्दा महिलाहरू पछाडिपरेका छन्। र घरेलु हिंशा बढिरहेको छ।

प्रकाशित मिति: : 2020-01-24 00:07:12

प्रतिकृया दिनुहोस्